|
एमाओवादी खेलवाडको राजनीतिमा
एमाओवादीको नेतृत्वमा रहेको भट्टराई सरकारले मंसिर ७ गते संविधानसभाको निर्वाचन गर्ने घोषणा गर्यो। निर्वाचनका लागि सरकारले बजेटसमेत छुट्यायो। सरकारले अहिलेसम्म निर्वाचन सम्भव छैन भनेको छैन या घोषित निर्वाचनको मिति फिर्ता लिएको छैन। घोषित निर्वाचनको मिति फिर्ता नलिएसम्म त्यस कार्यक्रम लागू गर्न सरकार जहिले पनि तयार हुनुपर्छ। सरकार एमाओवादीको नेतृत्वमा छ, एमाओवादी सरकारले निर्वाचनको घोषणा गरेको हो। त्यसबेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले घोषित मितिमा संविधानसभाको निर्वाचन हुन्छ भनी ठोकुवा गरे। उनीहरूले भङ्ग भएको संविधानसभा कुनै पनि बेला पुनः स्थापना हुनेछैन भनी घाँटी सुकाइ सुकाइ बोलेका थिए। अध्यक्ष दाहालले त संविधानसभा सभासद्हरूलाई देशको ढुकुटी रित्याउन र भत्ता खुवाउन फेरि पुनर्स्थापना गर्ने? भनी प्रश्न गरेका थिए। संविधानसभा भङ्ग गर्न नहुने भनिरहँदा अध्यक्ष दाहालले भङ्ग बाध्यता हो, आवश्यक थियो भनी बोलेका थिए। आज उही दाहालले संविधानसभाको निर्वाचन सम्भव नभएको भनी संविधानसभाको पुनर्स्थापना गर्नुपर्ने माग अघि सारेका छन्। एमाओवादीले छिनछिनमा विचार फेरको छ, कार्यनीति फेरेको छ। एक समय गरेको निर्णय अर्को पटक फेरिन्छ। एमाओवादीको सरकारले भङ्ग गरेको संविधानसभा सोही पार्टी अध्यक्ष दाहालले संविधानसभा पुनर्स्थापना हुन्छ भन्ने विचार व्यक्त गर्नु अदूर्दशिताको सङ्केत हो, यो पार्टीको धूलमूले नीति हो। माओवादी अध्यक्ष दाहालले संविधानसभाको पुनर्स्थापनाको विकल्प नभएको विचार व्यक्त गरे, अरू दलहरू पनि संविधानसभा पुनर्स्थापनाको पक्षमा लागेकाले संविधानसभा पुनर्स्थापना अहिलेको उपयुक्त विकल्प भएको उनको तर्क हो। उनले ठोकुवा गरे – भदौ महिनाभित्र संविधानसभाको पुनर्स्थापना हुन्छ। अध्यक्ष दाहालले निर्वाचनबाट कसैको बहुमत नआउने र निर्वाचनबाट निर्वाचित हुने नेताहरू पनि उनै हुने भएकाले संविधान बनाउन नयाँ नेतृत्वको जरूरत नभएको दाबी गरे। देशको ठूलो दल, दुई दुईपटक सरकारको नेतृत्व गर्ने 'क्रान्तिकारी', 'गौरवशाली' पार्टी दुई–तीन महिनाको पनि विचार पुर्याउन नसक्ने कस्तो 'महान' पार्टी? त्यसबेला एमाओवादी सरकारले किन विचार नै नपुर्याई संविधानसभा भङ्ग गरेको? अहिले सोही पार्टी अध्यक्ष दाहालले किन भङ्ग गरेको संविधानसभा पुनर्स्थापना गर्नसकिन्छ भनी सन्केको? यस्तै द्वैधचरित्र, अदूरदर्शी नेताहरूको हातमा सरकार भएकैले देशले निकास नपाएको हो। एमाओवादीले देश र जनतालाई खेलबाडको राजनीति गरिरहेको छ। जनताले यसको छिनोफानो गर्नुपर्छ। –गौरव प्रधान |