September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

आजको परिप्रेक्ष्यमा भदौ २४ को आन्दोलन र वामपन्थी एकताको समीक्षा – १

यहु प्रकाश
    भदौ २४ गतेको मजदुर दैनिक पत्रिकामा वामपन्थी एकता दिवसको सन्दर्भ पारेर प्रकाशित 'भदौ २४ गतेको आन्दोलन र वामपन्थी एकता' शीर्षकको ऐतिहासिक दस्तावेज ३३ वर्षपश्चात मैले पुनः पढें। यो दस्तावेज नयाँ पुस्ताको लागि अति महत्त्वपूर्ण छ। १९३० को दसकमा तत्कालीन नेमकिस सङ्गठनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरूबीच एकताको सम्बन्धमा व्यावहारिक र एकताका आधारहरू अघि सारेको थियो। त्यसैको आधारमा एकताको लागि एक एक पाइला गर्दै अघि बढेको भए आज तुलनात्मक रुपले नेपाल कम्युनिष्ट आन्दोलन निकै शक्तिशाली हुने थियो। 
     आजभन्दा ३३ वर्ष अगाडि २०३६ सालमा दरभङ्गा प्लेनमबाट नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरूबीच एकता गर्ने जग बसालेको थियो। आज भदौ २४ गतेको आन्दोलन र वामपन्थी एकताको सम्बन्धमा नयाँ ढङ्गले समीक्षा गर्नुपर्ने भएको छ। चालीसको मध्य दसकमा एमालेले बहुदलीय जनवादको सिद्धान्त अङ्गीकार गरेको दिनदेखि नै उक्त पार्टी कम्युनिष्ट पार्टी रहेन र पूँजीवादी पार्टीमा पतन भयो। ६० को दसकमा आएर माओवादीले वर्गसङ्घर्षलाई परित्याग गरेर जातिवादको नारा दिनु र अन्य विभिन्न गतिविधिबाट माओवादी पनि नाममात्रको कम्युनिष्ट पार्टी भई पूँजीवादी पार्टीमा पतन भएको प्रमाणित भयो। यस यथार्थलाई हेर्दा २९ साउन ०३६ सालको दिन दरभङ्गामा भेला भई वामपन्थी एकताको जग बसाल्ने कम्युनिष्ट पार्टीहरूमा नेमकिपा र केही पार्टीहरूबाहेक अधिकांश पार्टीहरू पूँजीवादी पार्टीमा फेरिसके। नेमकिपा र अन्य केही कम्युनिष्ट पार्टीहरूले नेपालको कम्युनिष्ट आन्दोलनको इज्जत जोगाइराखेका छन्।  एउटा चरण सकिएरपछि अर्र्काे चरण शून्यबाट सुरु हुने गर्छ। ठूलठूला कम्युनिष्ट पार्टीहरूको रुपमा उदय भएर एमाले र एनेकपा (माओवादी) साम्राज्यवाद र विस्तारवादको चाकडी र दलाली गर्ने पूँजीवादी पार्टीहरूमा पतन भएपछि अबको नेपालको वाम आन्दोलन र वाम एकता शून्यबाट सुरु हुन्छ। 'नेपालमा झण्डै झण्डै कम्युनिष्ट आन्दोलनको अवसान हुनै लागेको छ। भदौ २४ गतेको आन्दोलन र वामपन्थी एकता दिवसको औचित्यमा नै प्रश्न चिन्ह् लागेको, केही पुराना इमानदार नेताहरू जीवित रहेसम्म जिउँतिउँ ती कम्युनिष्ट पार्टीहरू चल्छन् र पछि त्यतिकै हराएर जान्छन्।...... अब नेपाल र नेपालीहरूको भविष्य छैन, हाम्रा भावी पुस्ताले हामीले  भन्दा बढी दुःख पाउने भयो......।' भनी चिन्ता गर्नेहरूको सङ्ख्या ठूलो छ भने सङ्ख्यामा सानो भए पनि न्युट्रल मास, स्वतन्त्र वाम, पूँजीवादी पार्टीहरूमा पतन भइसकेका नामधारी ठूला कम्युनिष्ट पार्टीहरूका असन्तुष्ट व्यक्तित्वहरूले नयाँ ढङ्गले नेपाल कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्छ र त्यसको लागि अझै पनि युवा–विद्यार्थी र जनता तयार रहेका छन् भन्ने गर्छन्। नेपालको कम्युनिष्ट आन्दोलनको विषयमा चिन्तामात्र गर्ने महानुभावहरूलाई मलाई के भन्न मनलाग्छ भने चिन्तामात्र गर्नु समस्याको समाधान होइन, चिन्तासँगै समाधानको तयारीमा लाग्नुपर्छ। नेपाल कम्युनिष्ट आन्दोलनको लागि आफ्नो सामर्थ्यअनुसार सक्दो नैतिक र भौतिक समर्थन गर्नु पनि समस्या समाधानका विभिन्न उपायहरूमध्ये एक हो। यहाँ विकासवादी सिद्धान्तका प्रतिपादक महान् वैज्ञानिक चार्ल्स डार्विनको एउटा भनाई उल्लेख गर्नु सान्दर्भिक हुनेछ –''यदि हामीले आफूलाई काममा व्यस्त राख्दैनौं भने, यदि हामी अल्छी मानेर त्यतिकै केही नगरी चुपचाप बसिरहन्छौ र चिन्ता गर्न थाल्दछौ भने हामीले 'विवर गिवर'लाई जन्म दिनसक्छौं।'' 'विवर गिवर' भनेको मानिसको शरीरलाई खोक्रो बनाउने, काम गर्ने शक्ति र इच्छाशक्तिलाई नष्ट गर्ने एक प्रकारको भयानक जीवाणु हो। यसै गरी, सन् १९८० को दसकमा का. फिडेल क्याष्ट्रो प्रजग कोरियाको भ्रमणमा जानु हुँदा का. किमइल सङ्गसँग ८ घण्टा लामो राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको विषयमा छलफल गर्नुभएको थियो। छलफलको क्रममा का.फिडेल क्याष्ट्रोले भन्नुभयो,–'संयुक्त राज्य अमेरिकाले (अमेरिकी साम्राज्यवादीहरू)ले क्युवामाथि दबाब दिंदा क्युवाली जनतामा प्रतिरोध गर्ने हार्माेन रस प्रचुर मात्रामा रहेको छ। यिनीहरूमा अमेरिकी साम्राज्यवादविरुद्ध लड्ने साहस र तागत सयौं गुण बढेको छ।' यसै कुरालाई मनन गरेर हामीले 'विवर गिवर'लाई जन्माउने निराशाको भावनालाई त्यागेर प्रतिरोध शक्ति बढाउने हार्माेन रस निकाल्ने आशा र विश्वासको भावनालाई जगाउनुपर्छ। 
    दस्तावेज पढ्दै जाँदा '..... चौ.म. षड्यन्त्रकारी र फुटपारुवा समूह पनि सावित भयो।...... कालो मन भएका उच्च समूहले नेमकिपाका साथीहरूलाई विभिन्न जालझेल गरेर आफ्नो केन्द्रीय समितिमा लाने लोभ देखाएर......त्यस्तै झापा गुटले अर्काे एउटा जिल्लामा भदौ २४ गतेको आन्दोलनपछि पहिले पहिले नेमकिपाका साहित्यहरू देखाएर हामी पनि नेमकिपाकै हौं भनेर भित्र घुसे र पछि विस्तारै नेमकिसंको विरोधमा कामहरू गरायो। तिनीहरूले नेमकिसंका साथीहरूलाई प्रहरीद्वारा पक्राए, कतिले घरखेत बेच्नुपर्‍यो .....' यी परिच्देछमा पुग्दा वि.सं. ५० को मध्य दसकको एउटा कुराको याद आयो। त्यसबेला भक्तपुर जिल्ला एमालेका एक सक्रिय कार्यकर्तासँग सामान्य भलाकुसारीसँगै राजनीतिक विषयमा वार्ता भयो। उनले, 'नेमकिपाका कार्यकर्ताहरू अलि बढी नै जातिवादी छन्, उनीहरू नेवारहरूको मात्र कुरा सुन्छन्, बाहुन क्षेत्रीहरूलाई जहिले पनि शङ्का–उपशङ्का गर्छ। यसमा सुधार आउनुपर्‍योभने।' मैले भनंे, 'हाम्रा साथीहरूले गल्ति नै गर्दैनन् भन्ने कुरा होइन। तिनीहरू पनि मान्छे नै हुन्, केही कमी कमजोरी होला, त्यसलाई सच्याउन सकिन्छ। जहाँसम्म बाहुन क्षेत्रीहरूलाई विश्वास गर्दैनन् भन्ने कुरा सही होइन। भक्तपुर जिल्लाका विभिन्न गाउँ विकास समितिमा दरबारमा जागिरेहरू, (तात्कालीन) शाही सेनाका जवानहरू, गुप्तचर विभागका काम गर्नेहरू र थुपै्र पञ्चेहरू छन्। यो कुरा मैले तपार्इंलाई भनिराख्नुपर्ने होइन। त्यस्ता व्यक्तिहरूलाई मात्र साथीहरूले शङ्का–उपशङ्का गरेका हुन्।........'' त्यसपछि उनले ....... भनेर ''नेवारहरूलाई मात्र हेर्ने, नगरलाई मात्र हेर्र्ने.....'' आदि भनेर नेवारवादी, सङ्किर्णवादी, क्षेत्रवादी, भक्तपुरको रणजित मल्ल, एमालेले त्यत्रो भोट दिंदा पनि वास्ता नगर्ने कृतघ्नजस्ता घुमाउरो पाराले सहनै नसक्ने शब्दहरूको वर्षा गरे। मलाई सही नसक्नु भयो। मैले सिधै भनें, –'गुणको कुरो त सबैले सबैलाई गरेका छन्। नेमकिसंका साथीहरू जुनजुन जिल्लामा सक्रियतापूर्वक राम्ररी– कम्युनिष्ट आन्दोलनलाई अघि बढाइरहेका थिए त्यहाँ त्यहाँ तपाईंहरू गएर विभिन्न जालझेल, गैरसैद्धान्तिक र गैरराजनीतिक कुरा र सफेट झुट आरोप लगाए। नेमकिसंका जिल्ला सङ्गठनहरू भताभुङ्ग पार्ने..... अनि नेमकिपा भक्तपुरमा मात्र सीमित, क्षेत्रवादी पार्टी भन्न तपार्इंहरूलाई लाज लाग्दैन !?........।' त्यहाँबाट हामी आ–आफ्नो बाटो लाग्यौं। पछि बोलचाल बन्द। 
    भदौ २४ गतेको आन्दोलन र वामपन्थी एकताको औचित्यमा प्रश्न चिन्ह लागेको भन्ने कुरो ठीक होइन। आजको सन्दर्भमा यसको औचित्य अझ बढी भएको छ। पूँजीवादको विकृत रुपको विरुद्ध समाजवादको सर्वश्रेष्ठताको प्रचार–प्रसार गर्न, विभिन्न कम्युनिष्ट पार्टीहरूबीच आपसी विश्वास, वफादारिता र कामरेडेेली भावनाको विकास गर्न सैद्धान्तिक छलफल, एकले अर्काको सही आन्दोलनलाई समर्थन गर्न, एकले अर्कालाई जहिले पनि सकारात्मक आलोचना गर्न, आफूलाई कम्युनिष्ट भन्दै पूँजीवादी राजनीति गर्ने पार्टीहरूको विरोध गर्न, राष्ट्रिय मामलामा अन्य राजनीतिक पार्टीहरूका प्रगतिशील तत्त्वहरूसँग मिलेर अघि बढ्न, मित्रमित्र भन्दै कालो मन भएका मित्रघातीहरूविरुद्ध सजग र सतर्क हुन, पूँजीवादी पार्टीमा पतन भइसकेका ठूला पार्टीहरूका असन्तुष्ट र इमानदार व्यक्तिहरूलाई विश्व कम्युनिष्ट आन्दोलन सहभागी हुने वातावरण निर्माण गर्न कम्युनिष्ट आन्दोलनका सम्बन्धमा सही जानकारी राखी सर्वहारा अन्तर्राष्ट्रवादलाई नयाँ ढङ्गले अघि बढाउन आदि कार्यहरूको लागि 'भदौ २४ गतेको आन्दोलन र वामपन्थी एकता' को भावनालाई कायमै राख्नुपर्छ। 
    ०४५ सालको भक्तपुर काण्डको बेला, कतिपयले 'तिमीहरूको पार्टी खतम, रोहितहरू जेलमै सड्ने भयो। .......' भनेर हिंडे। त्यस्तालाई हाम्रा साथीहरूले, 'हजारौं हजार रोहित जन्मिसकेका छन्। नेमकिपाको झण्डा कहिल्यै झुक्न छैन। नेमकिपाको झण्डा फहराउन हजारौं हजार हात उठिसकेका छन्। हाम्रो पार्टी अमर छ।.......' ती मित्रहरुको त्यस निर्भिक जवाफलाई म '........ इमानदार नेताहरु जीवित रहुञ्जेल जिउँजिउँ पार्टीहरु चल्छन् अन्ति.......' भन्ने निराश र चिन्ताले गरिएको प्रतिक्रियासँग तुलना गर्न चाहन्छु। पार्टीलाई यही ढङ्गले अघि बढाउन यही सिद्धान्तसँगै सक्षम नेताको अहम् भूमिका हुने कुरा विवाद छैन। पछिल्लो नेता र नेतृत्वको समस्या समाधानमा चिनामात्र गरेर हुँदैन। यसको लागि सबैले आ–आफ्नो तर्फबाट चिन्तन–मनन, अध्ययन विचार विमर्श र सम्भव भए जतिका उपायहरु लाग्नुपर्छ ।