September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

दासताको पीडा पुस्तकमा

रामचन्द्र श्रेष्ठ
    झलक सुवेदी पत्रिकाहरूमा छाइरहने नाम हो। उनका राजनीतिक विश्लेषण र साहित्यिक रचनाहरू नियमित पाठकहरूले पढिरहेका हुन्छन्। पत्रिकाहरूमा उनका रचनाहरू पढिरहने भएको हुनाले मेरो मनमा उनको धमिलो आकृति बनेको थियो। एक पाठकले कुनै लेखकको आकृति उसका लेखनी र विचारहरूको आधारमै निर्माण गर्छ। मेरो मनमा बनेको उनको आकृति धमिलो नै थियो। बेलाबखत उनका गम्भीर विश्लेषणले त्यो आकृतिमा प्रकाश थपेको हुन्थ्यो भने कहिलेकाहीं उनका केही निजात्मक अनुभवका हल्का रचनाहरूले आकृतिको आभामा छायाँ पार्नेगर्थ्यो। सम्रगमा उनको आकृति मेरो मनमा धुमिल र अस्पष्ट नै रह्यो। तर उनको पछिल्लो पुस्तक 'ब्रिटिस साम्राज्यका नेपाली मोहरा, गोर्खा भर्तीको नालीबेली' अध्ययन गरेपछि त्यो आकृतिले केही ठोस आकार पाएको छ। 
    हामीले सानोमा गीत गाउँथ्यौं नेपाल कहिल्यै कसैसामु झुकेन भनेर। तर जब नेपाली समाजको अध्ययन गर्दै गइयो र गर्दैछु सानो बेलाको त्यो गीत झुटो लाग्न थाल्यो। नेपाल प्रत्यक्ष शासनबाट कहिल्यै पनि शासित भएन अर्थात् यो देखिने उपनिवेश बनेन। मलाई थाहा छैन यो कति गर्व गर्नलायक हो तर हामी प्रत्यक्ष उपनिवेशभन्दा धेरै हदसम्म शासित रहौं । प्रत्यक्ष उपनिवेशीकरण भएका जनता स्वाधीनताको नारालाई समयक्रममा घन्काउन सफल भए तर हाम्रो स्वाधीनताको नारा जहिल्यै अस्पष्ट र कमजोर बन्यो।
    नेपाल राज्य परिभाषाअनुसारको ठोस राज्य बन्न नपाउँदै यसले तत्कालीन विशाल साम्राज्य बेलायतसँग मुकाबिला गर्नुपर्‍यो र आजको हाम्रो वर्तमान समाज त्यही जम्काभेटकै परिणाम हो। आज हामी नेपाली समाजको जस्तो विश्लेषण गछार्ंै त्यसमा त्यतिबेलाको जम्काभेटको प्रभाव परेकै हुन्छ। त्यही क्षणबाट पराधीनता र स्वाधीनताको सोच सँगसँगै हुर्कन थालेको हो। पराधीनता र स्वाधीनताको यो घामछायाँ आज पर्यन्त जारी छ। 
    गोर्खा भर्ती अर्थात् लाहुर जाने संस्कृति साम्राज्यको त्यही जम्काभेटबाट सुरु भएको हो। नेपाल अङ्ग्रेज युद्धको समय अर्थात् १८१४–१६ को युद्ध मैदानबाटै गोर्खा भर्तीको इतिहास आरम्भ भयो। मलाउँको युद्धमा पराजित ३ हजार गोर्खाबन्दी नै नेपालका पहिला गोर्खाहरू हुन्। तिनै गोर्खाहरूलाई चार पल्टन बनाउँदै बेलायती सेनामा नेपाली जाने संस्कृति सुरु भयो। यो इतिहास आज पर्यन्त जारी छ। भारत स्वतन्त्र हुने बेलामा दश गोर्खा रेजिमेण्टमध्ये बेलायतले चार रेजिमेण्ट लग्यो र छ रेजिमेण्ट भारतमै छोड्यो। 
    यी गोर्खाहरू तत्कालीन अङ्ग्रेज साम्राज्यको रक्षाको लागि भारतको आन्तरिक विद्रोह दबाउनदेखि विश्वयुद्धहरूसम्म र मलाया, इण्डोनेशिया र फोकल्याण्डको टापुको लडाइँमा पनि सहभागी गराइए। त्यतिमात्र नभएर भारत–पाकिस्तान र भारत–चीनको युद्धमा पनि यिनै गोर्खाहरूको परिचालन गरियो। गोर्खाहरूको इतिहासले नै आजको नेपालको परिचय निर्माण गर्नमा धेरै भूमिका खेलेको छ। ल्याटिन अमेरिकीहरू गोर्खा भनेको 'टाउको कटुवा' हुन् भनेर बुझ्छन् भने वीरको थोत्रो परिचय दिएर अङ्ग्रेजले गोर्खाहरूमाथि शासन गरेको छ। 
    झलक सुवेदीको यो पुस्तकले समाजशास्त्रीय र इतिहास लेखनको नयाँ शैली सुरु गर्दै हामीले युगौंदेखि अनुभव गर्दै आएको अनुभूतिहरूको दस्तावेजीकरण गरेको छ। बेलायती साम्राज्यले नेपालीहरूलाई दुई जातमा विभाजित गरिदियो, लडाकू जाति र गैरलडाकू जाति। आज हामी पहिचानको मुद्दा उठाइरहेका छौं तर हाम्रो पहिचान त युगांैअगाडि अङ्ग्रेज साम्राज्यले ध्वस्त पारिदिएको छ। सुवेदीको पुस्तक पढ्ने जो कोही पनि पहिचानको यो विनिर्माण र इतिहासको यो बङ्ग्याई थाहा पाउँदा झसङ्ग हुन्छन्। लाहुर जाने संस्कृतिले गाउँको भीर पखेरामा बस्ने, मेहेनत गर्ने सोझा र सरल प्रकृतिप्रेमी जातिलाई कसरी बिटुल्याई दिएको छ भन्ने पुस्तकको पानापानामा अङ्कित छ। साम्राज्य र साम्राज्यका स्वदेशी दलालहरूले जनताको दुःख र आँसुलाई कसरी प्रयोग गर्छन् भन्ने प्रमाण यहाँ छ। केही रेमिन्ट्यान्सको लोभमा कसरी आफ्नै जनतालाई दासजस्तै बेच्नपछि पर्दैनन् शासकहरू भन्ने उदाहरणहरू यहाँ प्रशस्त छन्। नेपाली समाजले युगौंदेखि बेहोरिरहेको गम्भीर यथार्थलाई सुवेदीले जीवन्त चित्रण गरेका छन्। 
    विश्वयुद्धहरूमा ४५ हजार नेपालीहरूले ज्यान गुमाए। युद्धमा प्रत्यक्ष     संलग्न नभइ यत्रो मानवीय क्षति व्यहोरेको नेपालको यो इतिहासको किन कहिल्यै लेखाजोखा हुँदैन? पुस्तकले गम्भीर प्रश्न बोकेको छ। के नेपाल भाडाको सिपाही जन्माउने देश हो? विश्वयुद्धमा नेपाली जनताले जति दुःख र शोक व्यहोरेको थियो त्यसलाई कुनै कविले कवितामा पोख्न सक्दैन, कुनै गाइनेले गीतमा समेट्न सक्दैन। युद्धपछि अनावश्यक लाग्ने नेपाली लाहुरेहरू मिल्काइए विना कुनै पेन्सन र सुविधा वा क्षतिपूर्ति। हजारांैले आफ्ना हात र गोडा गुमाए। हजारौंले आफ्ना घर र परिवार गुमाए। सुवेदीले विनापूर्वाग्रह यी सबै इतिहास र यथार्थ खुलस्त पोखेका छन्। 
    लाहुर जाने संस्कृतिले सिर्जना गरेको सामाजिक प्रभावहरू पुस्तकमा मजाले अटाएको छ। कसरी आइमाईहरूको मन फेरिएर लाहुरेहरू नै मनपर्नथाले र लाहुर नजाने ढाक्रेहरूको मनमा लाहुरेहरूप्रति इर्ष्या पलायो? जापानको बन्दी बनेको श्रीमान्लाई पर्खने धैर्यता र कुनै समाचार नपाएपछि अर्को घरजम गरेको अनि फेरि लाहुरे फर्कंदाको मार्मिक वियोगान्त कथा शेक्सपियरको कुन कृतिमा छ र?  त्यो झलक सुवेदीको पुस्तकमा छ, जुन हामीले भोगेकै यथार्थ हो। बाबु, छोरा र नाति अनि सबै दाजुभाइ लडाइँमा मारिएपछि पेन्सन बुझ्ने पनि कोही नभएको मार्मिक पीडादेखि ब्रुनाई जाने दोस्रो करियरले बनाएका ठूला घरको प्रसङ्ग समेटिएको छ किताबमा। त्यतिमात्र होइन अभिभावकत्वको अभाव र शिक्षा ग्रहणमा कमीले केही जातिमा नै ल्याएको गम्भीर वैचारिक कमीको पुस्तकमा चित्रण छ। 
    सरल शैलीमा गेसोका अध्यक्ष पदमबहादुरको जीवनख चर्चाको वरिपरि घुम्दै लेखिएको यो पुस्तक आफ्नो उद्देश्य पूरा गर्न सफल छ। गेसोको पछिल्लो सङ्घर्षले कसरी बेलायतलाई पनि उसकै दास बनाइएका लाहुरेहरूले झुकाउन सक्छन् भन्ने यहाँ पुष्टि भएको छ। तर बेलायती समान अधिकार पाउने नेपालीहरूले लडाई जिते वा घुमौरो हिसाबले नेपाल बेलायती उपनिवेश बन्यो, गम्भीर छलफलको विषय हो। फेरि पनि गोर्खा भर्ती हाम्रो अभिशाप हो। नेपाली इतिहासको एक गम्भीर कलङ्क हो। हामीले यो कलङ्कको टीका मेट्नु छ। 
    पुस्तकमा कतै कतै लेखक अलि बढी देखापर्नु, लेखक फलानो ठाउँमा बसेको, यति लेखेको यो पिएको जस्ता प्रसङ्गले पुस्तक पढ्दा दाँतमा ढुङ्गा लाग्छ।
    समग्रमा पुस्तक साम्राज्यवादी हस्तक्षेप र त्यसले सिर्जना गरेको वातावरण, परिभाषा र क्यानभास हो। नेपाल यस्तो सानो मुलुक हो जहाँ साम्राज्यवादको प्राचीन तरिकादेखि नविनतम नवउदारवादी शैलीसम्मको उदाहरण भेट्टाइन्छ अर्थात् साम्राज्यवादको अध्ययनको लागि नेपाली समाजको अध्ययन जरुरी छ। साम्राज्यवादी हस्तक्षेपको एक बेग्लै पाटो गोर्खा भर्तीको साङ्गोपाङ्गो उतार्ने झलक सुवेदी धन्यवादका पात्र हुन्। यदि कसैमा यो पुस्तक पढेर पनि साम्राज्यवाद र त्यसका स्वदेशी दलालप्रति आक्रोश पलाउँदैन भने उसमा संवेदना र स्वाभीमान तिलको दाना जत्ति पनि छैन भन्दा हुन्छ। 
    पुस्तक पढिसक्दा मेरो मनमा झलक सुवेदीको आकृति साम्राज्यवादविरोधी र एक देशभक्तको रुपमा प्रस्ट हुँदै गयो। भाषा र 'भरपर्दो शक्ति' जस्तो शब्दावलीको अर्थ खोज्ने नेताहरूलाई सुवेदीले 'अचानक जागेको राष्ट्रवाद' भनेका थिए। आज समयले ती नेताहरूको तत्कालीन आशङ्कालाई पुष्टि गरेको छ। आज सुवेदी के सोच्लान्? मेरो मनमा यो प्रश्न झनै टड्कारो भएको छ। सायद यही प्रश्नको उत्तरसँगै मेरो मनमा सुवेदीको आकृतिले ठोेस रुप लिनेछ।