|
सुदूरपश्चिमको लोकप्रिय हुड्केली नृत्य लोप हुँदै
राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर। सुदूरपश्चिम क्षेत्रमा परम्पराकालदेखि प्रचलनमा रहेको हुड्केली नृत्य लोप हुँदै गएकामा कञ्चनपुर, सिसैयाका शङ्कर दमाईंलाई चिन्ता लागेको छ। हुड्केली नर्तकका रुपमा परिचित शङ्करलाई हुड्केली नाच्ने रहर अझै भए पनि एकदशक यतादेखि त्यसको माग नआएपछि उनले नाच्न पाएका छैनन्। आधुनिक बैन्डबाजा र अन्य मनोरञ्जनका साधनले यहाँको समाजमा गहिरो जरा गाडेपछि हुड्केली नृत्य ओझेलमा परेको हो। उमेरले ६० काटिसकेका उनी भन्छन्– हुड्केली नृत्यको माग नआएका कारण नृत्य देखाउने मौका पाइएको छैन, नृत्यका लागि सेतो गाउन, सेतो पगडी, चौंरीगाईको चमर, घण्टा, घुँघरु पहिरनका रुपमा लगाउने गरिन्छ। हुड्का ठूलो प्रकारको डमरुजस्तै बाजा हो। सो बाजासहित न्वारन, छैटी, अन्न्ाप्राशन, विवाह र अन्य शुभकार्यमा वीरवीरङ्गनाको गीतिकथा पृथक ढङ्गले गाउँदै नाच्ने कार्य हुड्केलीमा गरिन्छ–उनले थपे। एकजनाले नाच्दै हुड्केली नृत्यमा हुड्का बजाउँदै गीतिकथा भट्याउने, दुईजनाले परापूर्वकालको लडाइँको झल्को दिने गरी तरबार र ढालको करतब देखाउने, पाँचजनाले दमाहा बजाउने र गायनमा साथ दिने गर्छन्। हुड्केली नृत्य आफैंमा रोमाञ्चक मात्र नभएर डोटेली इतिहासका पात्रबारे जान्ने अवसर जुराउनेे नृत्य पनि हो। पहिले पहिले हुड्केली गाउँका समृद्ध व्यक्तिले लगाउने गरेको उल्लेख गर्दै शङ्कर भन्छन्– गाउँका सबैजना एकै ठाउँमा जम्म्ाा भएर हुड्केली नृत्य हेर्ने र सुन्ने प्रचलन रहेको र यसबाट गाउँवासीमा एकता र सद्भाव दर्सिन्थ्यो। हुड्केली लगाएबापत दलित समुदायका व्यक्तिलाई जग्गा दिएर एक वर्षका लागि अन्न्ा कमाएर खान दिने चलन थियो। हुड्केली नृत्य सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बाजुरा, बझाङ, अछाम, कैलाली र कञ्चनपुरमा मात्र नभइ भारतको उत्तराञ्चल प्रदेशको कुमाउा गढवाल क्षेत्रमा समेत शुभकार्यमा प्राथमिकताका साथ नचाइने गरेको डोटेली संस्कृतिका जानकार मानसिंह भण्डारीले बताउनुभयो। वीरवीरङ्गनाको गाथा गीतमार्फत व्यक्त गर्ने, लडाइाको कलाकौशल दर्साउने, वंशावली वर्णन गर्ने र नाचबाट भरपुर मनोरञ्जन लिने हुड्के नाचको प्रमुख विशेषता भएको उहाँ बताउनुहुन्छ। कुमाउँ गढवाल क्षेत्रबाट सुदूरपश्चिम क्षेत्रमा भित्रिएको अनुमान गरिएको हुड्केली नृत्य विसं १८०१ भन्दा अगाडिदेखि नै अस्तित्वमा रहेको स्थानीय बूढापाका बताउँछन्। बाइस पाट कुमाउा अम्ारगढीका राजा त्रिपाल चन्दको जीवनीमा आधारित भई हुड्केली नृत्यको प्रारम्भ गरिने भएकाले यो नृत्य परापूर्वकालदेखि नै भारतको कुमाउँ क्षेत्रबाट भित्रिएको प्रमाण भएको हुड्केली नृत्यका जानकार बहादुर नेपालीले बताउनुभयो। परापूर्वकालका डोटेली राज्यका वीरवीराङ्गनाका रुपमा परिचित सोभी रावत, बिगा पनेरु, काला भण्डारी, हिया कठायत, रती रावल, सुजुबुजू रौतेला, पिरी बोहरा, सङ्ग्राम कार्की, दीपा ऐर, लाली साउनलगायतले गीतिकथा हुड्केलीमा लय हालेर तरवार बाजीसँगै हातमा थाली नचाएर गाउने गरेको डोटेली संस्कृतिका जानकार भण्डारीले बताउनुभयो। नयाँ पुस्ताका युवा सहजै उपलब्ध हुने मनोरञ्जनका साधनप्रति बढी आकर्षित हुन थालेपछि हुड्केली नृत्य सङ्कटमा परेको शिक्षक शेरसिंह भण्डारीले बताउनुभयो। उहाँका अनुसार हुड्केली नृत्य लोप हुनाका प्रमुख कारणमा धार्मिक रीतिरिवाज एवम सांस्कृतिक धरोहरको जगेर्ना गर्ने व्यक्तिको कमी हुनु र पुरातात्त्विक सम्पदाहरूको संरक्षण र संवर्द्धन नहुनु हो। बूढापाकाले युवापुस्तालाई सो नृत्यका बारेमा जानकारी नदिंदा र सिकाउनेबारे चासो नदिंदा हुड्केली नृत्यको अस्तित्व लोप हुँदै गएको पनि उहाँले बताउनुभयो। हुड्केली नृत्य लोप भएपछि डोटेली समाजको नैतिक बल गुमेको तथा मौलिक संस्कृतिप्रति चासो जगाउने र परम्परालाई चिनाउने अवसर गुमेको स्थानीय बुद्धिजीवी धर्मानन्द जोशी बताउनुहुन्छ। उहाँले सुदूरपश्चिमका पहाडी क्षेत्रमा बढी प्रचलनमा रहेको यो नाच लोप हुनामा समृद्ध व्यक्ति बसाइ सरेर अन्यत्र जानु, सो नृत्यले मात्र परिवारको खर्च टार्न दलित समुदायका व्यक्तिहरूलाई गाह्रो भएपछि उनीहरू कामको खोजीमा अन्यत्र लाग्नु हो भन्नुभयो। संस्कृति बचाउनका लागि यहाँ थुप्रै सङ्घसंस्थाले कार्य गर्दै आए पनि हुड्केलीजस्तो पौराणिक नृत्य बचाउनका लागि कुनै निकाय अगाडि नबढ्नु दुःखद भएको जोशी बताउनुहुन्छ तर बहादुर नेपालीको भनाइ भने फरक छ– हुड्केली नृत्य लोप हुनाको प्रमुख कारण आधुनिक समाजमा बैण्डबाजा बजाउनेलाई पारिश्रमिकस्वरुप रु. १० हजारभन्दा बढी दिइन्छ भने हुड्केली लगाउने व्यक्तिलाई रु. ५०० देखि रु. एक हजारमात्र दिएर बिदा गरिन्छ, यस्तो अवस्थामा हुड्केली नृत्यमै दलित समुदायका व्यक्ति कसरी बाँच्न सक्छन्? रैका राजाको शासनकालमा जातजातिका आधारमा कामको वर्गीकरण गर्ने चलनअनुसार हुड्केली नृत्य दलित समुदायले देखाउने चलन चलाएको डोटेली संस्कृतिका जानकार शेरबहादुर सावदले बताउनुभयो। हुड्केली नृत्यमात्र नभएर परम्परागत पहिरन र बाजागाजाको संरक्षणतर्फसमेत यहाँको समाज चनाखो हुन नसक्दा कैयौं परम्परागत बाजागाजा लोप भइसकेको प्रति उहाँले चिन्ता प्रकट गर्नुभयो। लोप हँुदै गएको हुडकेली नृत्य बचाउका लागि यहाँका बुद्धिजीवी एवम् संस्कृतिविद्ले युवापुस्तालाई जनचेतना फैलाउनु जरुरी भइसकेको छ भने यसको संरक्षणका लागि स्थानीय निकायबाट पनि सहयोग गरिनुपर्नेमा जोड दिइएको छ। |