September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

प्रजिअले सुँगुर समाउन थाले

मनोहर पोखरेल
    राजविराज। छाडा सुँगुरका कारण नगर फोहर भएको भन्दै सर्वत्र विरोध हुन थालेपछि मङ्गलबारदेखि सप्तरीका प्रमुख जिल्ला अधिकारीले आफ्नै नेतृत्वमा सुँगुर नियन्त्रण अभियान थाल्नुभएको छ।
    राजविराज नगरपालिकाले नियन्त्रणको प्रयास गरे पनि सफल हुन नसकेको भन्दै असमर्थता जनाएपछि प्रजिअ हरिराज पन्त आफैं तात्नुभएको हो।
    प्रजिअ पन्तको नेतृत्वमा प्रहरी उपरीक्षक गणेशबहादुर थापा, सशस्त्र प्रहरी उपरीक्षक बेचन यादव, राष्ट्रिय अनुसन्धान कार्यालयका निर्देशक ईश्वर श्रेष्ठ, सेनानी रामप्रसाद अधिकारी, प्रहरी नायब उपरीक्षक गोविन्द अधिकारी, वरिष्ठ पशु चिकित्सक डा. काशीनाथ यादव, नगरपालिकाका अधिकृत प्रफुल्ल श्रेष्ठ र कर्मचारी एवम् नगरका युवा सम्मिलित टोलीले आज सातवटा छाडा सुँगुरलाई नियन्त्रणमा लिएको छ।        नियन्त्रणमा लिइएका सुँगुरलाई कोसीटप्पु मध्यवर्ती क्षेत्रको जङ्गलमा छाडिने र अभियानलाई निरन्तरता दिइने प्रजिअ पन्तले जानकारी दिनुभयो। 
    राजविराजमा सुँगुरधनीले पालेका सुँगुर बिहान सबेरैदेखि राति अबेलासम्म छाडा छोड्ने गरिएपछि नगर दुर्गन्धित र फोहर भएको छ। दिनभर आहाराको खोजीमा बजारका चोक र गल्लीमा हिंड्ने भएकोले छाडा सुँगुर र पशुचौपायाबाट मानिस बढी सास्तीमा परेका छन्।
    वरिष्ठ पशु चिकित्सक डा. यादवले सुँगुर व्यवस्थापन नगरिए राजविराजमा महामारी फैलिनसक्ने चेतावनी दिनुभयो। उहाँले सुँगुरलगायतका छाडा पशुचौपायाबाट खतरनाक मस्तिष्कको रोग, स्वाइन इन्फ्लुएन्जा, बाँझोपन, क्षयरोग, नाम्लेकीरा, निमोनिया, रेबिज, जुका, धनुष्टङ्कारलगायत रोगको महामारी हुनसक्ने सम्भावना बढ्दै गएको बताउनुभयो।
    “सुँगुर, बङ्गुर, कुकुर, घोडा, गधा, खच्चड, गाईगोरुको व्यवस्थापन नहुने हो भने महामारी फैलिन सक्छ,” वरिष्ठ पशु चिकित्सक डा. यादवले भन्नुभयो। छाडा पशुबाट विभिन्न रोग मानिसमा र मानिसबाट पशुमा सर्ने गरेको जानकारी दिंदै उहाँले छाडा पशु मानिसको भीडमा हिंड्ने गरेकोले रोग सर्नसक्ने सम्भावना बढी रहेको विचार व्यक्त गर्नुभयो।
    राजविराज बजार र आसपासका क्षेत्र तथा राजमार्गमा चौपायाका कारण दिनहुँ दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका इन्चार्ज प्रहरी निरीक्षक मधु थापाले बताउनुभयो। चौपायासित ठोक्किएर धेरैजसो साइकल, मोटरसाइकल र स्कुटर दुर्घटनामा पर्ने गरेका छन्।
    छाडा चौपाया व्यवस्थापनका लागि अनेकौं कार्यक्रम ल्याइए पनि प्रभावकारी हुन नसकेको भन्दै नगरपालिकाका अधिकृत श्रेष्ठले प्रहरी, प्रशासनको नेतृत्व र युवाको सहयोगमा छाडा चौपाया व्यवस्थापन अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो।