September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

अन्योलमा राष्ट्रिय खेल

फणीन्द्र फुयाल
    काठमाडौं। नेपाली खेलकुदको सर्वाङ्गीण विकास र खेलकुदको नीति निर्माण गर्ने एकमात्र सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्थापना भएको ५० वर्ष पुगिसक्दा पनि सरकारले राष्ट्रिय खेल अझै घोषणा गर्नसकेको छैन।
    हाल राखेपमा दर्ता भएका १२४ वटामध्ये केही खेल सङ्घले आफ्नो खेल राष्ट्रिय खेल हुनुपर्छ भन्दै दाबी गरिरहेका छन्। यसैक्रममा नेपाल कबड्डी सङ्घले कबड््डी खेललाई सरकारले राष्ट्रिय खेलको मान्यता दिनुपर्ने अडान राख्दैआएको छ। सङ्घका अध्यक्ष लालकुमार लामाका अनुसार नेपाल सरकारले आधिकारिक रूपमा कुनै पनि खेललाई राष्ट्रिय खेलको मान्यता नदिए तापनि सामान्य ज्ञान र विद्यालयका पाठ्यसामग्रीमा भने कबड्डीलाई नै राष्ट्रिय खेलको रूपमा उल्लेख गरिएको छ।
    कबड्डी खेल नेपालका सबै जिल्ला र गाविसका नागरिकले जानेबुझेको र नेपाली भूगोल सुहाँउदो भएकाले पनि यसलाई सरकारले राष्ट्रिय खेलको मान्यता दिनुपर्ने लामा बताउनुहुन्छ। कबड्डी खेल्न देशका सबै स्थानका युवा, युवती र वृद्धाले समेत जानेका छन्। युगौंदेखि नेपालको ग्रामीण भेगका जनताले गोठालो जाँदा चौरमा भेला भएर रमाइलो गर्नका लागि खेल्ने गरेको र अहिले पनि यो खेल गोठालो जाँदामात्र खेल्नेमात्र नभई व्यावसायिक रूपमै विकसित हुँदै गएकाले पनि कबड्डीलाई राष्ट्रिय खेलको रूपमा मान्याता दिनुपर्ने अध्यक्ष लामाको तर्क छ। लामाका अनुसार पञ्चायतकालका परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायले तत्कालीन समयमा कबड्डीलाई राष्ट्रिय खेल घोषणा गर्ने प्रस्ताव लिएर मन्त्रिपरिषद्को बैठकमा लानुभएको थियो तर त्यति नै बेला मन्त्रिपरिषद् भङ्ग भएकाले उपाध्यायले उक्त प्रस्ताव नै राख्न पाउनुभएन। त्यसबेला मन्त्रिपरिषद् भङ्ग नभएको भए कबड्डी खेलले सायद यतिबेला नेपालको राष्ट्रिय खेलको रूपमा मान्यता पाइसकेको हुने थियो लामाको भनाइ छ।
    नेपाल डन्डीबियो सङ्घले पनि आड्डनो खेललाई राष्ट्रिय खेल घोषणा गर्नुपर्ने माग निकै अघिदेखि राख्दैआएको छ। सङ्घका उपाध्यक्ष एसपी त्रिपाठीको दाबी छ,― “यो खेल नेपालको गाउँ, कुना, कप्चादेखि सहरबजारका सबै नेपालीले खेल्ने गरेको पुरानो खेल हो। गोठालो जाँदा होस् वा कुनै मेला पर्वमा, डण्डीबियो खेल रुचिका साथ खेल्ने गरिन्थ्यो। 
    उहाँ भन्नुहुन्छ,― “यो खेलको नियम एकदम सजिलो भएकोले जोसुकैले पनि छिटै सिक्न सक्छन्” उपाध्यक्ष त्रिपाठी थप्नुहुन्छ,― “डन्डीबियो खेल सामग्री किन्न पैसा पनि पर्दैन, करिब दुई हात लामो लठ्ठी (डण्डी) र एक बित्ता लामो बियो रूखको हाँगाबाट भाँच्यो अनि तयार भइहाल्यो खेल सामग्री।”
    राष्ट्रिय खेल घोषणा गर्नुपर्ने भन्दै आ–आफ्नो तर्क पेस गर्ने अन्य खेलमा बाघचाल, धनुवाण, बेम्बो आर्चरी आदि पनि रहेका छन्। परापूर्वकालदेखि नै धार्मिक तथा सांस्कृतिकरूपमा नेपालीले धनुवाण र बेम्बो आर्चरीले खेल्दै आएकाले यस खेलले राष्ट्रिय खेलको मान्यता पाउनुपर्ने तर्क सम्बन्धित सङ्घले पेस गरेको छ भने बाघचाल सङ्घले पुस्तौंदेखि नेपालका समग्र ग्रामीण भेगका मानिसले गोठालो जाँदा यो खेल खेल्ने गरेको हुनाले सरकारले यसलाई नै राष्ट्रिय खेल घोषणा गर्नुपर्ने तर्क अगाडि सारेको छ। 
    नेपालको राष्ट्रिय खेल के राख्ने भन्ने विषयमा राष्ट्रिय खेलकुद परिषद्ले पूर्वसदस्य–सचिव जीवनराम श्रेष्ठको कार्यकालमा धेरै कार्यशाला गोष्ठीहरूको आयोजना गरेको थियो। तर ती कार्यशालाले कुनै ठोस काम गर्न नसक्दा राष्ट्रिय खेल अन्योलमा परेको राखेप खेलकुद प्रतियोगिता तथा योजना विभाग प्रमुख कमल खनालको भनाइ छ।
    उहाँ भन्नुहुन्छ,― अहिलेसम्म राष्ट्रिय खेलको बारेमा अन्योलता भएकै हो। श्रेष्ठ सदस्य– सचिव भएको बेलामा गरिएका कार्यशाला गोष्ठीका केही निष्कर्षलाई समेत लिएर आगामी दिनमा अरू कार्यशाला गोष्ठी गरेर, खेल विज्ञहरूसँगको अन्तरर्त्रि्कया र खेलसङ्घहरूको छलफलका निचोडलाई आधार मान्दै त्यसले निकालेको निचोडको आधारमा देशले कुनै एक खेललाई चाँडै राष्ट्रिय खेलको मान्यता दिनेछ।
    खनालले देशले चाँडै राष्ट्रिय खेल पाउँछ भन्ने अभिव्यक्ति दिए तापनि अबको कति अवधिभित्र राष्ट्रिय खेलको घोषणा होला भन्नेचाहिं निश्चित नभएको बताउनुभयो।