September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

भ्रष्टाचारसम्बन्धी उजुरी कहाँ थन्क्यो?


    एमाओवादीको सातौं विस्तारित बैठकमा पार्टी नेता तथा कार्यकर्ताहरूले पार्टीभित्र भ्रष्टाचार भएको दाबी गरे। भ्रष्टाचारीमाथि कारबाहीको माग गर्दै बैठक बहिष्कार गरियो। 
    बैठक चर्केर स्थगितसमेत भयो। पार्टीको विस्तारित बैठक बिथोल्ने देखेर पार्टी नेता अमिक शेरचनको संयोजकत्वमा छानबिन समिति गठन गरियो। छानबिन समितिले भ्रष्टाचार गरिएको सन्दर्भमा उजुरी हाल्न अनुरोध गर्‍यो। समितिको अनुरोधअनुसार क–कसले, को को विरुद्ध उजुरी हाले, उजुरी हाल्नेहरूको छानबिन भइरहेको छ छैन या कसैले पनि कुनै विरुद्ध उजुरी हालेको छैन भन्नेबारे हालसम्म कुनै जानकारी  प्रकाशमा ल्याएको छैन। 
    छानबिन समितिले कसरी छानबिन गर्ने, छानबिन हुन्छ कि हुँदैन, छानबिनबाट दोषी ठहरिएकाहरू कारबाहीमा पर्छ पर्दैन? अहिले कुनै जानकारी सार्वजनिक गरिएको छैन। माओवादी लडाकू कमाण्डरहरूमाथि लागेको भष्टाचारको अभियोगको टुङ्गो नलाग्दै हालै एमाओवादीको मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घमा करोडौं रुपैयाँ आर्थिक घोटाला भएको भन्दै कार्यकर्ताले पार्टीमा उजुरी हालेको खबर छ। पार्टी शान्ति प्रक्रियामा आएयता युनियनले विभिन्न अवसर र शीर्षकमा उठाएको अरबौं रकमको हिसाब किताब सार्वजनिक नगरी नेतृत्वले आर्थिक घोटाला गरेको विवरण निवेदन भदौ १७ गते पेस गरेको थियो। 
    जानकारीमा आएअनुसार उक्त उजुरी अखिल नेपाल होटल तथा रेष्टुरेण्ट मजदुर सङ्घका मुक्ति दाहाल, होम सुवेदी, रामेश्वर अधिकारीलगायतले हालेका थिए। उनीहरूले भ्रष्टाचारीलाई कारबाही गरी पार्टीलाई आर्थिक रुपमा पारदर्शी बनाउन हस्ताक्षरसहित पार्टीमा उजुरी हालेका थिए। उजुरीमा पार्टी कार्यालय खरिद गर्न साधारण मजदुरदेखि उद्योगपति, कलकारखाना, अस्पताल, स्कूललगायत निकायहरूबाट शिलालेखमा नाम लेखिने, कृष्णसेन इच्छुक स्मृति प्रतिष्ठान र मजदुरसहित स्मृति सहकारी स्थापनाका लागि रक उठाउँदा शेयर प्रमाणपत्र दिने भनिएको उल्लेख छ। 
    तर अहिलेसम्म त्यस्तो कुनै काम भएको छैन। यसले नेकपा एमाओवादी झूटा आश्वासन बाँड्दै अघि बढेको थाहा हुन्छ। जनता आफूतर्फ तान्न आश्वासन बाँड्ने, झूटको खेती गर्नेमा खप्पिस पार्टी एमाओवादी रहेछ। भ्रष्टाचारीको छानबिन गर्न गठित समिति पनि लोकाचार या नेता कार्यकर्ताको जोश या विरोध सेलाउने उपायमात्र देखिएको छ। 
    मजदुर नेतामाथि गरिएको भ्रष्टाचारको आरोपको पनि छानबिन समिति गठन गरेर पार लगाउने हो कि !
वस्तुराज 'शीतल'