|
जुत्तामा बुद्धको तस्वीर राख्नु सर्वथा गलत
विष्णुगोपाल कुसी संसार वर्गमा विभाजित छ। कहिले व्यक्तिको बद्नाम गरेर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्छन् त कहिले धर्मको नाउँमा शोषण गरेर फाइदा लुट्छन्। कहिले झूट या भ्रमको खेती गरेर जनतालाई अन्योलमा पार्छन् त कहिले व्यक्तिलाई गलत ढङ्गले प्रयोग गरी अकुत सम्पति कमाउँछन्। अहिले बुद्धको तस्वीर अङ्कित जुत्ता उत्पादन गर्नु पनि त्यसकै सिलसिला हो। कहिले महामानव बुद्धलाई भारतको नागरिक भएको बताए त कहिले बुद्धका ठूलठूला ऐतिहासिक र पुरातात्त्विक महत्त्वका मूर्तिहरू तोडफोड गरेर विवेकशून्य काम गरे। यथार्थमा यी सबै क्रियाकलापहरू भ्रष्ट मनसायले नै भएका हुन्। तर कसैको दर्शन, विचार र व्यक्तित्वको महानतालाई ढाक्ने प्रयास गर्नु र भ्रममा पार्नु, सूर्यको किरणलाई थुकेर निभाउने दुस्प्रयासमात्र हुनेछ। बुद्धको तस्वीर अङ्कित जुत्ता चाहे कुनै कम्पनीले उत्पादन गरेको होस् या कसैले सोखका निम्ति त्यस्तो जुत्ता तयार गरेर फेसबुकमा राखेको किन नहोस् त्यो काम पक्कै राम्रो होइन। यसबारे सरोकारवाला निकायले सरकारको ध्यानाकर्षण गरिसकेका छन्। यसबारे सरकारले सत्य तथ्य बाहिर ल्याउनुपर्छ। सरकारले यथार्थ के हो सार्वजनिक गर्नुपर्छ। प्रचारमा आएझैं एक अमेरिकी जुत्ता कम्पनीले तयार गरेको हो कि कसैले विश्वमा हङ्गामा मच्चाउन फेसबुकमा मात्र राखेको हो? यसबारे सरकार अहिलेसम्म किन मौन? सरकारले कूटनीतिक उपायबाट समस्या समाधान गर्ने प्रयास किन गरेन? जनतामा भइरहेको अन्योल स्पष्ट पार्न र आक्रोश सेलाउन के यथार्थ सार्वजनिक गर्नुपर्ने होइन? के प्रमको फोटो अङ्कित जुत्ता उत्पादन गरेपछि मात्र चासो राख्ने र चिन्ता लिने? बुद्धको तस्वीर अङ्कित जुत्ता सार्वजनिक भएको महिनौं भइसकेको छ। एकपछि अर्काे त्यसको विरोध भइरहेको छ। तर पनि सरकारले किन निकासका लागि पहल गर्दैन? सञ्चारमाध्यममा सार्वजनिक भएझैं संयुक्त राज्य अमेरिकाको जुत्ता उत्पादक कम्पनी आइकन शु डिजाइनले उत्पादन गरेको जुत्तामा बुद्धको तस्वीर राख्नु सर्वथा गलत हो। जुत्तामा बुद्धको तस्वीर राख्नु महामानव, राष्ट्रिय विभूति, शान्तिकामी बुद्धको मात्र होइन नेपाल र नेपाली जनताकै अपमान हो। यो जुत्ता कम्पनीको मात्र होइन संयुक्त राज्य अमेरिकी सरकारकै मनपरीतन्त्रको ज्वलन्त उदाहरण हो, अतिवादिताको उदाहरण हो। यो कुनै हालतमा असल नियत र विचारले भएको मान्न सकिंदैन। विश्वमा शान्तिको सन्देश छर्ने शान्तिकामी, मार्गनिर्देश गर्ने पथप्रर्दशक र विश्वका पूज्य बुद्धको वाणीलाई शिरमा राखेर सम्मान गर्नुपर्नेमा उल्टो पाउमा राखेर अपमान गर्नु कसैको निम्ति सह्य हुनेछैन। यो बुद्धको व्यक्तित्वमाथि लात मार्नु हो। जुत्तामा कुनै पनि लोकप्रिय, ख्यातिप्राप्त व्यक्तित्व, नेता र वैज्ञानिकहरूको तस्वीर अङ्कित गरेर सम्मान हुने होइन, मान प्रतिष्ठा बढ्ने होइन, मान प्रतिष्ठा र इज्जत बढ्ने हिसाबले राखेको हो भने जुत्तामा संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मून र अमेरिकी राष्ट्रपति ओबामको फोटो राख्दा हुन्छ नि! बुद्धलाई मानकै निम्ति राख्ने हो भने नेपाल र नेपाली जनताको अनुमतिमा अमेरिकी सरकारले आफ्नो नोट र टिकटमा राख्ने हो कि? बुद्धको तस्वीर अङ्कित जुत्ता उत्पादन गरे पनि हामी चुप लागेर बस्यौं भने त्यस्तै अर्को जुत्ता कम्पनीले उत्पादित जुत्तामा नेपालको झण्डा राख्न सकिनेछ, लुम्बिनीको स्तम्भ राख्न सकिनेछ। पछि नेपालकै कुनै प्रधानमन्त्री र राष्ट्रपतिको फोटो राख्न सकिनेछ। यसकारण गलत नियतले गरेको कुनै पनि काम र विचारको विरोध गर्नैपर्छ, समयमै खबरदारी गर्नुपर्छ। यसबारे नेपाल सरकार सचेत हुनुपर्छ। नेपाल सरकारले कूटनीतिक ढङ्गबाट अमेरिकी सरकार र जुत्ता कम्पनीसँग वार्ता या कुराकानीमार्फत् हल गर्ने प्रयास गर्नुपर्छ। बुद्धको तस्वीर अङ्कित जुत्ता नेपाललगायत कुनै देशमा बिक्री वितरण भइरहेको छभने तत् तत् देशका सरकारहरूले त्यो जुत्ता बिक्री वितरण गर्न रोक लगाउनुपर्छ, बजारमा ल्याइसकेको जुत्ता जफत गर्नुपर्छ। उत्पादित जुत्ता कम्पनीले पनि त्यो जुत्ता उत्पादन गर्न रोक्नुपर्छ। देश देशमा जुत्ता पुर्याइएको छ भने त्यो फिर्ता लिनुपर्छ। अपमानको निम्ति कसैले फेसबुकमा मात्र राखेको हो भने त्यसको खोजीनीति गर्नुपर्छ र सम्बन्धित सरकारको ध्यानाकर्षण गरेर रोक्न लगाइनुपर्छ। विश्वमा शक्ति प्रदर्शन गर्दै आएको संयुक्त राज्य अमेरिकाले अब शक्ति प्रर्दशनमात्र होइन एक शान्तिका अग्रदूतको व्यक्तित्वमाथि लात मार्ने काम गरेको छ। निः शस्त्रीकरण र शान्तिको भजन गाउने अमेरिकाले अरु देशमा मात्र होइन नेपाली जनताको भावनामा ठेस पुर्याउने काम गरेको छ। नेपाली जनता र विश्वका शान्तिप्रेमी जनतालई आक्रोशित बनाइएको छ। यसले अमेरिकी सरकार कति क्रूर र निर्दयी छ भन्ने देखाउँछ। यो अमेरिकी सरकार र जुत्ता कम्पनीको भ्रष्ट मनसाय नै हो। यदि होइन भने अमेरिकी सरकारले उक्त जुत्ता कम्पनीको जुत्ता उत्पादन रोक्नुपर्छ। नेपाली र शान्तिप्रेमी जनताको भावना र मर्म बुझेर त्यस कम्पनीलाई अमेरिकी सरकारले कालोसूचीमा राख्नुपर्छ, हर्जनास्वरुप क्षतिपूर्ति लिनुपर्छ, सजायस्वरुप केही वर्षको लागि जुत्ता उत्पादनमै प्रतिबन्ध गर्नुपर्छ। ढिलो चाँडो विश्वका जनसमुदायले अमेरिकी उक्त जुत्ता कम्पनी र अमेरिकी सरकारको विरोध गर्नेछन्, गरिरहनेछन्। यो क्रम बुद्धको तस्वीर अङ्कित जुत्ता उत्पादन बन्द नभएसम्म चलिरहनेछ। अहिले ज्ञापनपत्र, विरोध वक्तव्य, धर्ना र विरोध सभामा सीमित यो कार्यक्रम अभियानको रुपमा सुरु हुनेछ। एक कान दुई कान मैदान हुँदै जुत्ता कम्पनीको विरोधमा विश्वभर प्रदर्शन हुनेछ। विश्व शान्तिका अग्रदूत गौतम बुद्ध तथा विश्वका शान्तिकामी जनताको आस्थामा ठेस पुर्याउने गरी अमेरिकी जुत्ता कम्पनी आइकनले जुत्ता उत्पादन गरेको विरोधमा आयोजित यस विरोध सभामा ऐक्यबद्धता जनाउन चाहन्छ। (बौद्ध दर्शन समाज भक्तपुरद्वारा बिहीबार धर्म कीर्ति विहारमा आयोजित विरोधसभामा व्यक्त मन्तव्य – सम्पादक) |