September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

बुद्धको तस्वीर जुत्तामा राखेकोमा आपत्ति

किरण बुढाथोकी
    भक्तपुर। अमेरिकी एक जुत्ता कम्पनीले गौतम बुद्धको तस्वीर जुत्तामा राखेकोमा बौद्ध धर्मावलम्बी तथा बुद्धिजीवीले विरोध प्रदर्शन गरेका छन्। केही समय अगाडि अमेरिकाको आइकन जुत्ता कम्पनीले गौतम बुद्ध, दलाई लामा र स्वतन्त्र तिब्बतको झण्डा अङ्कित जुत्ता उत्पादन गरेको थियो।
    नेपालको पहिचान गौतम बुद्ध भएको बताउँदै बौध धर्मावलम्बी तथा बुद्धिजीवीहरू नेपालको अस्तित्वमाथि प्रहार गर्ने अधिकार कसैले राख्छ भने त्यसको प्रतिकारमा उतानुपर्ने बताउँछन्। उनीहरू अमेरिकी साम्राज्यवादको दादागिरी र हेपाहा प्रवृत्तिविरुद्ध कडा सङ्घर्षमा उत्रनसमेत आह्वान गर्छन्। नेपालमा जन्मेका गौतम बुद्धलाई भारतमा  जन्मेको भने र प्रचार गर्ने, लुम्बिनी भारतले नक्कल गरेर बनाउने र अमेरिकाले जुत्तामा बुद्धको तस्वीर राख्ने कार्य नियोजित र साम्राज्यवादीहरूले योजनाबद्ध ढङ्गले गरेको बौद्ध धर्मावलम्बीको भनाइ छ। बौद्ध धर्म अमेरिकामा प्रचारप्रसार भएको देख्न नसक्ने साम्राज्यवादी र युद्धपिपासुहरू बुद्धको अपमान गर्न खोजको बताउँछन्। बौद्ध पुस्तक लेखक रत्नसुन्दर शाक्य भारतले गौतम बुद्ध भारतमा जन्मेको भनेर दाबी गरे पनि सही, सत्यतथ्य कुरालाई कसैले बङ्ग्याउन नसक्ने बताउँदै नेपालमा २०१३ सालमा ४२ राष्ट्र सम्मिलित चौधांै विश्व बौद्ध सम्मेलन भएपछि मात्र विश्व समुदायले बुद्ध नेपालमा जन्मेको बारे विश्वले थाहा पाएको जानकारी गराउनुहुन्छ।
    नेपालको पहिचान भन्नु नै गौतम बुद्ध र सगरमाथा (बुद्ध र हिमाल) भएकोले बौद्ध धर्मावलम्बीले मात्र नभई सबैले बुद्धको तस्विर जुत्तामा राखेको गलत कार्यको विरोधमा उत्रनुपर्नेमा उहाँ जोड दिनुहुन्छ। उहाँ भन्नुहुन्छ – नेपालीमा बौद्ध दर्शन अध्ययनको अभावका कारण खराब कार्य भइरहेका छन् तर मानव कल्याणको लागि बौद्ध शिक्षा आवश्यक छ। उहाँ गौतम बुद्धको प्रचारप्रसारको निम्ति नभई बेइज्जत गर्नको निम्ति जुत्तामा तस्वीर राखेकेाले नेपालको पहिचानलाई जोगाउन नलागे देशको अस्तित्व नै मेटिने खतरा बढ्दै गएको बताउनुहुन्छ। बौद्ध दर्शन अध्ययन समाज भक्तपुरका सचिव चन्द्रबहादुर उलक पूँजीपति वर्गले आफ्नो फाइदाको निम्ति आमा पनि बेच्छन् भन्ने कुरा आइकन कम्पनीले जुत्तामा गौतम बुद्धको तस्वीर राखेबाट पुष्टि हुने बताउनुहुन्छ। मुनिविहार भक्तपुरका अध्यक्ष रामकृष्ण वैद्य सम्मान, आधार र पूजा गर्नुपर्ने व्यक्तिलाई कसैले अपमान गर्छ भने सबैले आपत्ति जनाउनु स्वाभाविक भएको बताउनुहुन्छ।अमेरिकी आइकन कम्पनीले नियोजित रुपले जानी जानी गलत प्रचार गरेकोले बुद्धको अपमानको फल अरु कसैले नभई अमेरिका आफैले भोग्नुपर्ने उहाँ चेतावनी दिनुहुन्छ। बुद्धको अस्तित्वमाथि आक्रमण गर्दा पनि नेपाल सरकार चुप लागेर बस्नुले मर्माहित र स्तब्ध तुल्याएको उहाँ बताउनुहुन्छ। युवा बौद्ध पुचः भक्तपुरका अध्यक्ष धर्मरत्न शाक्य अफगानिस्तानको अभियानस्थित बौद्धमुनिमा १ सय ५० फिट अग्लो बुद्धको मूर्ति तालिवानले बमबारी गरेर ध्वस्त गरेको दृष्टान्त दिंदै अमेरिकाले पनि तालिवानको जस्तै पनको परिणाम भोग्नपर्ने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, 'अमेरिकाको दादागिरी र हेपाहा प्रवृत्तिको विरोधमा नेपाली जनता आफ्नो पहिचान जोगाउन विरोधमा आउन आवश्यक छ। आइकन कम्पनीलाई तत्काल शोक लगाई जुत्ता उत्पादन रोक्नु र बुद्धको तस्वीर अङ्कित जुत्तालाई लीज गर्न थप सङ्घर्षका कार्यक्रम ल्याउने जानकारी गराउनुहुन्छ। नेपालस्थित अमेरिकी दूतावासमा जुत्तामा बुद्धको तस्वीर राखेको विरोधमा लुम्बिनीबाट बौद्ध भिक्षुहरू र काठमाडौंबाट केही भिक्षुहरूले ज्ञापनपत्र बुझाए पनि बौद्ध धर्मावलम्बीहरूले आवाज उठाउन नसकेकोमा उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ। स्वतन्त्र तिब्बतको आन्दोलनमा सहभागी हुने हजारौं भिक्षु र बौद्ध धर्मावलम्बीहरू आज आफ्नो गुरुको अपमान हुँदा पनि मौन बस्नुले शङ्का थपिएको बौद्ध धर्मावलम्बीहरू बताउँछन्। मैत्रीय युवा सङ्घ भक्तपुरका अध्यक्ष तीर्थराज बज्राचार्य बौद्ध भिक्षुहरू तथा बुद्धको पूजा पाठ गर्नेलाई टाउकोमा  जुत्ताको माला लगाउँदा पनि यसको विरोध हुन नसकेको बताउनुहुन्छ।
    युवा बौद्ध पुचः भक्तपुरका सचिव तुल्सीकाजी मानन्धर अमेरिकाले धार्मिक युद्ध निम्त्याएर आफ्ना हातहतियार बेच्ने र शक्तिशाली भइरहने उद्देश्यका साथ योजनाबद्ध ढङ्गले बुद्धको अपमान गरेको बताउनुहुन्छ। बुद्धलाई धार्मिक रुपले भन्दा पनि पहिचान र नेपालको अस्तित्वसँग जोडेर हेर्न उहाँ सुझाव दिनुहुन्छ। अमेरिकाको आइकन कम्पनीले जुत्तामा गौत्म बुद्धको तस्वीर राख्दा पनि नेपाल सरकारले भने कुनै प्रतिक्रिया नदिई मौन बसेको छ। 
    यसैबेला वर्तमान सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईको पार्टी एनेकपा माओवादीलाई आतङ्कवादी सूचीबाट हटाउनुको पछाडि बुद्धको तस्वीर जुत्तामा राख्दा पनि विरेाध नगरेको फल भएको बौद्ध भिक्षुहरूको भनाइ छ। लुम्बिनी बृहत्तर विकास समितिका अध्यक्ष रहेका एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले समेत जुत्तामा बुद्धको तस्वीर राख्ने जस्तो अपमान गर्दा पनि बोलि नफुट्नुले बुद्धलाई मागी खाने भाँडोको रुपमा प्रयोग गरिएको पुष्टि हुने उनीहरू बताउछन्।