|
अन्तर्राष्ट्रिय ओजोन दिवस र नेपाल
अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस विभिन्न कार्यक्रमका साथ आइतबार विश्वभरी मनाइँदै छ। पृथ्वीको रक्षाकवचको रुपमा रहेको वायुमण्डलको ओजोन तह संरक्षणका लागि वर्षेनी सेप्टेम्वर १६ को दिन मनाइँदै आएको हो। ओजोन तह विनाश गर्ने विभिन्न रसायनको उत्पादन र उत्सर्जन रोक्ने सम्बन्धी मोन्ट्रियल अभिसन्धीमा हस्ताक्षर भएको दिनको सम्झनामा सन् १९९५ देखि यो दिवस मनाउने गरिएको हो। पृथ्वीको ५० किलोमिटर माथि वायुमण्डलमा रहने ओजोन तहले सूर्यबाट आउने परावैजनी किरणलाई रोकेर पृथ्वीमा भएका जीव र वनस्पतीको रक्षा गर्दछ। विभिन्न उद्योग कलकारखाना तथा रेफ्रिजेरेटर लगायतका विद्युतीय सामानबाट निस्कने क्लोरोफ्लोरो कार्वन लगायतका रसायनले ओजन तह विनाश गर्ने गर्छन्। मोन्ट्रियल अभिसन्धीले ओजन तह विनाश गर्ने यस्ता रसायनको उत्पादन र प्रयोगमा रोक लगाएसँगै अहिलेसम्म झण्डै १ सय वटा रसायनको प्रयोग बन्द भएपनि अझै केही हानिकारक रसायनको प्रयोग रोकिन सकेको छैन। वैज्ञानिकहरूले अन्टार्कटिका माथिको ओजन तहमा प्वाल परेको र अरु क्षेत्रमा पनि तह पातलिँदै जाँदा परावैजनी किरण पृथ्वीमा आउने खतरा बढेको बताउँदै आएका छन्। परावैजनी किरणले बोटविरुवामा क्षति पुर्याउनुका साथै मानिसमा क्यान्सर, रतन्धो तथा छालाका रोगको समस्या उत्पन्न गर्छ। साथै ओजन तहको विनाशले तापक्रम वृद्धिमा पनि सघाउ पुर्याएको विज्ञहरूको ठहर छ। ओजन तह विनाशमा नेपालको दोष छैन नै भन्दा फरक पर्दैन। वातावरणीय समस्याको कारक विश्वका विकसित र विकासोन्मूख भनिएका देश नै हुन्। तर नखाएको विष लागे झैं नेपाल अप्रभावित हुने कुरै भएन। छिमेकी देश भारतले विश्वभरको ४० प्रतिशत सीएफसी रसायन माग भएको देश हो। भारतले अवैध भनिएको ४० हजार टन सीएफसी रसायन प्रयोग गर्दछ। सन् २००१ मा ७४ टन सीएफसी अवैध रुपमा नेपाली नाका भएर भारत आयात गर्न खोजिंदा पक्राउ भएको यहाँ सान्दर्भिक छ। यस्ता घटनाको आधारमा नेपाललाईसमेत राष्ट्र संघले दण्डित गर्न खोजेको पनि उल्लेखनीय छ। चीसो ठाउँको वायुमण्डलको ओजन तह विनाश बढी हुने गरेको वैज्ञानिक तथ्यलेसमेत नेपालको हिमाली क्षेत्र बढी खतरामा छ। त्यसैले वातावरण जोगाउने अभियानमा नेपालीको चासो अरुकोमात्र होइन। मन्ट्रियल अभीसन्धिमा हस्ताक्षर गर्ने विश्वका १८८ देश र बाँकी देशलाई खतराको घण्टीमा ध्यानाकर्षित गर्न जिम्मेवार एवम् सचेत नेपालीको कर्म हो। – प्रकृति
|