तीज डिस्कोमा नफेरियोस्
नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिव–पार्वतीको उपासना र पूजा गर्ने दिन हो – तीज। तीज एक उत्सव हो, मेला हो। तीज नारीहरूको जमघट या भेला हुने दिन हो। तीजमा तीता–मीठा गीत गाइन्छ। तीजमा गाइने गीत धार्मिक भएर पनि व्यङ्ग्यात्मक हुन्छ। कति गीतहरू सामाजिक परिवेशका छन्। तीजमा खुसी र मनोरञ्जनका गीत गाइन्छ। तीज परम्परागत पर्व भएकोले यसलाई निरन्तरता दिनुपर्छ।
धार्मिक, सामाजिक र ऐतिहासिक महत्त्वको यो तीज आजभोलि फेशन शोमा परिणत हुन थालेको छ। तीजमा पश्चिमेली फेशनले छुन थालेको छ। नयाँ नयाँ गाइने गीतहरू पनि आधुनिकताको नाउँमा उताउलो देखिएको छ। यसरी तीजको ऐतिहासिक महत्त्वलाई बिर्सेर उत्ताउलो पाराले नाच्नु, गाउनु र लाउन कतिको जायज हो?
गत वर्षको तीजमा त्यस्तै उत्ताउलो खालका नृत्यहरू देखाइएको थियो, अर्धनग्न पोशाक लगाएर तीज नाच देखाइएको थियो। यस्ता दृश्यहरू एकपटक सुरू भएपछि त्यसलाई नियन्त्रण गर्न या रोक्न नसके पछि यसले निरन्तरता पाउँछ।
यसले निरन्तरता पाइरहेमा ६/७ वर्षपछि तीजको परम्परागत नृत्य र गीत कम हुँदै जानेछ। आधुनिकताको नाउँमा तीजको नाचगानमा भड्किलो संस्कृतिले ढाक्नेछ। तीजमा पनि पश्चिमेली संस्कृति या डिस्को शैलीमा नाच्न थालेको छ। गायिका कोमल वली नै 'डिस्कोमाथि डिस' भन्दै अर्धनग्न केटीहरूसँग नाची मज्जा लुटेका छन्।
महिलालाई बोक्सीको आरोप लगाइन्छ, कुटपिट गरी शारीरिक र मानसिक यातना दिइन्छ। कहिले बेपत्ता पारिन्छ त कहिले दाइजो नल्याएको या थोरै ल्याएको निहुँमा घरबाट निकालिन्छ त कहिलेकाहीं हत्यासमेत गरिन्छ। यस्ता महिलाका पीडा र समस्याबारे गीतमा प्रस्तुत भए महिला हत्या–हिंसा घट्थ्यो र महिलाहरूको हित हुन्थ्यो। तीज फेशन शोमा परिणत नहोस्। तीजमा अर्धनग्न पोशाक नलगाइयोस्। समाज भड्किने ढङ्गका गीतहरू रचना नगरियोस्। गीतहरू चेतनाप्रधान होस्। गीत महिला समस्याबारे केन्द्रित होस्। नाचगानको शैली परम्परागत होस्। मेला भर्न जाने, राम्रो लगाउनै पर्ने नाउँमा महङ्गो खर्च नगरियोस्। अनिमात्रै तीजको महत्त्व, तीजमा गाइने नाचगान पछिसम्म रहिरहनेछ। अनि तीज मनाइनुको सार पाउनेछ।
– दीनबन्धु केसी
|