|
प्रम भट्टराईमा नैतिकता खोइ?
– दीनबन्धु केसी राजनीतिक दलहरूले असोजभित्र राजनीतिक निकास निकाल्ने प्रतिबद्धता जनाएका थिए। तर त्यस समयभित्र राजनीतिक निकास निकाल्न दलबीच सहमति भएको छैन। यसअघि दलबीच सहमति जुटाएर संविधानसभाको निर्वाचन या पुनर्स्थापना गर्ने निर्णय ठूला दलले गरेका थिए। असोजको महिना हप्तादिनमात्र बाँकी छ। दलहरूबीच सहमतिभन्दा असहमतिको दूरी घटेको छैन। संविधानसभाको निर्वाचन या पुनर्स्थापना कुन प्रक्रियाबाट अघि बढाउने त्यो पनि टुङ्गो लागेको छैन। पहिले संसदमा प्रतिनिधित्व गरेका दलहरूको सहमतिमा या निर्वाचन आयोगमा दर्ता भएका दलहरूको बैठकले राजनीतिक निर्णय गरेर समाधान खोज्ने हो या दलहरूकै सहमतिमा राष्ट्रपतिमार्फत् बाटो खोल्ने हो त्यो पनि निष्कर्षमा पुगेको छैन। संविधानसभाको निर्वाचन घोषणा गरेको सरकारले फेरि पुनर्स्थापनाको निर्णय कसरी गर्ने? पुनर्स्थापना नै गर्ने हो भने निर्वाचनको घोषणा गर्ने सरकार सत्तामा बसिरहनु कति ठीक या बेठीक ! संविधानसभाको दोहोरो निर्वाचन हुनै नसक्ने र गर्न संविधानतः नमिल्ने हुँदा निर्वाचनभन्दा पुनर्स्थापना एक वैकल्पिक उपाय हुनसक्छ। उक्त उपाय लागू गर्ने विधि के हो? त्यसको पनि छलफल हुनुपर्ने हो। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको पुनर्स्थापनाको प्रस्ताव अघि सारे। एमाओवादीले नै पुनर्स्थापनामा सहमति जनाएपछि या प्रस्ताव राखेपछि निर्वाचन गराउने भट्टराई सरकार सरकारमा बसिरहनु उचित होइन। एमाओवादीको कहिले निर्वाचनको पक्षमा बोल्ने र कहिले पुनर्स्थापना गर्ने कुरा द्वैधचरित्र हो। एमाओवादीले सरकारमार्फत् निर्वाचनको घोषणा गराउनु हुँदैनथ्यो। राति संविधानसभा भङ्ग गरेर निर्वाचन घोषणा गर्नु एमाओवादी सरकारको गम्भीर गल्ती हो। तर त्यो गल्ती न त सरकारले स्वीकारेको छ न त एमाओवादीले। त्यसो त गल्ती नस्वीकारे पनि एमाओवादीले संविधानसभा पुनर्स्थापनाको कुरो उठाउनु सरकारको निर्णय गल्ती भन्नेपुष्टि हुन्छ। सरकारको निर्णयविपरीत जानु एमाओवादीको विरोध गर्नु हो। भट्टराइ सरकारले संविधान बनाउन नसक्नु, संविधानविपरीत संविधानसभा विघटन गर्नु र निर्वाचनको घोषणा गरेर निर्वाचन पनि गराउन नसक्ने स्थितिमा पुग्नु असफलताको सङ्केत हो। असफल सरकार सरकारमा बसिरहनु ठीक होइन। एमाओवादी पार्टीकै अध्यक्ष दाहालले पुनर्स्थापनाको कुरा अघि सारेपछि नै भट्टराईले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने हो। डाक्टर उपाधी पाएका व्यक्तिले नैतिकताको पाठ सिक्नुपर्ने हो। नैतिकताको ख्याल नगर्ने भट्टराईले आफ्नो भएको इज्जत र प्रतिष्ठा पनि गुमिरहेको या नैतिकताको धोती खुस्केको यादै गरेनन्। नैतिकताको पाठ नसिक्ने प्रम भट्टराईले अरुलाई कसरी नैतिकताको पाठ सिकाउने होला ? |