|
कार्तिके महायोद्धाहरू
सुरेश बखुन्छें कार्तिके जवानीका सुरा–सुन्दरीका पछि लाग्ने 'विश्वामित्रहरू' आफ्नो त्याग र तपस्यालाई तिलाञ्जली दिंदै तराईका फाँट लुट्छन्, हिमालको हिउँ थुत्छन्, पहाडको पाखा काट्छन्। अझ भनौं घाम र छायाँ, वर्षा र इन्द्रेणी चोर्न तल्लीन हुन्छन् 'छेपारारङ्गी सर्पहरू'। कुनै दन्त्यकथामा सुनेका पाँचटाउके सर्पहरूभन्दा पनि कैयौं गुणा बढी विषालु 'चतुर्मुखी सर्पहरू' आलोपालो गर्दै चोरपुलिसको खेल खेल्दै गाउँ, सहर अनि मानवबस्ती पस्छन्। 'दरबारको हड्डी' अघाउँजी चुस्छन्, अनि फेरि रुन्छन् केटाकेटीजस्तै 'ललीपप' को निम्ति। दूलोबाट निस्केका मरनच्याँसे सर्पहरू 'अघोरासुर' बनिसकेका छन्, र त, आफ्नो तन, मन र वचनले कंशको सेवा गर्न 'श्रीचार महाराज' जङ्गबहादुर बन्छन्। पाँचमध्ये एउटालाई फ्याँकेर चारवटा 'श्री' गुथेका महासामन्तहरू 'बुद्धको सुकुटी' रित्याउन, सीता र भृकुटीलाई भोगाउन 'टेण्डर आह्वान' गर्छन्। नदीनालाहरूले पुगेन क्यार ! फेरि पनि सगरमाथालाई च्याँखे थाप्छन्। रगतको आहालमा पौडन्छन्, आफै बोक्सी, आफै धामी बन्छन् चारटाउके सर्पहरू। छि ..... ! यही एउटा देशको अस्मिता लुट्न उही देशको चिरहरण गर्न मर्छन्–मार्छन्, रुन्छन् – कराउँछन्, बाझ्छन् – मिल्छन् श्री चार महाराजहरू। किन्तु कार्तिक पटकपटक आउँदैन भनी बिर्सेर वा थाहा पाएर नै बाबुको घुँडासमेत चुस्छन् 'कार्तिकका महायोद्धाहरू' 'कार्तिके महानायकहरू।' |