September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

साम्राज्यवादलाई अर्को धक्का

– प्रकृति
 
    दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलामा  ५८ वर्षीय वामपन्थी नेता ह्युगो चाभेज ५४ प्रतिशत मत प्राप्त गरी लगातार चौथो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएपछि संसारमा साम्राज्यवादी अमेरिकाविरोधी, स्वतन्त्रताप्रेमी एवम् समाजवादीहरुमा फेरि एकपटक उत्साहको लहर छाएको छ। चुनावी प्रदर्शनको क्रममा अक्टोवर ४ को दिन ३० लाख जनताले चाभेजको समर्थन गरेपछि नै उहाँको विजय अत्यधिक बहुमतले हुने निश्चित भइसकेको थियो। चाभेजले के गर्नुभयो र उहाँले चौथो पटकसम्म निरन्तर विजय प्राप्त गर्नुभयो? तेल खानी राष्ट्रियकरण गरिसकेपछि देशको गरिबी ५० प्रतिशतले र अति गरिबी ७० प्रतिशतले घट्यो। कलेज पढ्नेको सङ्ख्या दोब्बरभन्दा बढी पुग्यो। लाखौं जनताले निःशुल्क स्वास्थ्य उपचारको सुविधा पाए। जनताको जीवनस्तर वृद्धि भयो। सार्वजनिक क्षेत्रमा गरिएको लगानी वृद्धिले चाभेजलाई चौथोपटक विजयी बनाउन सहयोग गर्‍यो भन्दा फरक पर्दैन।
    शनिबार भएको निर्वाचनको मतगणनाको नतिजा आइतबार प्रकाशित भएपछि विभिन्न सामाजिक सञ्जाल, वेभ साइट एवम् ब्लगहरुमा सकारात्मक प्रतिक्रियासमेत प्रशस्तै भेटिन्छन्। आगामी जनवरीदेखि ६ वर्षसम्म राष्ट्रपति पदमा रहनुहुने चाभेजले आफ्नो कार्यकालमा बोलिभारियाली क्रान्तिलाई ल्याटिन अमेरिकामा फैलाउने पुनः दृढता व्यक्त गर्नुभयो। विजयी भएपछि राजधानी काराकसमा जम्मा भएका हजारौं प्रदर्शनकारीलाई सम्बोधन गर्दै उहाँले समाजवाद स्थापना गर्ने दिशामा भेनेजुयला निरन्तर अघि बढ्ने बताउँदै विजयले भेनेजुयलालाई २१ औं शताब्दीको समाजवादी मुलुक बनाउने बाटो खुलेको उल्लेख गर्नुभयो। त्यतिमात्र होइन चाभेजले एसियाली देशलाई सस्तोमा तेल बेच्नेसमेत घोषणा गर्नुभयो। तेलमा विश्वको पाँचौं ठूलो मानिएको, २९६.५ अर्ब ब्यारेल तेलबाट सम्पन्न एवम् विश्वकै सबैभन्दा सस्तो पेट्रोल बेच्ने देश भेनेजुयलासँग एसियाली देशले तेल खरिद गर्न पाउने हो भने नेपालले समेत राहत पाउने निश्चित छ। चाभेजको योजना छ, आगामी ६ वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा संसारमै उत्कृष्ट हुने। त्यतिमात्रै होइन, आगामी १० वर्षमा भेनेजुयलामा कोही व्यक्ति घरबारबिहीन हुनेछैन। उहाँले सामाजिक सुधारको काम निरन्तरता दिने घोषणा गर्नुभएको छ। यसैबीच ब्राजिलका पूर्वराष्ट्रपति लुला दे सिल्भाले भन्नु भएझैं चाभेजको विजय भेनेजुयाली जनताको विजयमात्र होइन, सारा ल्याटिन अमेरिकीको विजय हो। त्यतिमात्र होइन चाभेजको विजय विश्वभरका स्वतन्त्रताप्रेमीको विजय हो भने साम्राज्यवादलाई अर्को धक्का हो ।