|
सम्मेलन कोसेढुङ्गा प्रमाणित होस्
सरोजराज गोसाई सर्वप्रथम नेपाल प्राध्यापक समाजको तर्फबाट नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको दसौं राष्ट्रिय सम्मेलन भव्यरुपमा सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछु। नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको पूर्वअध्यक्षको नाताले पनि सम्मेलनले देशको राजनीतिक एवम् शैक्षिक परिवर्तनमा कोसेढुङ्गा सावित होस् भन्ने कामना गर्दछु। साथै देशको राजनीतिक परिवर्तनमा योगदान पुर्याउने सुदूरपश्चिमलगायतका क्रान्तिकारी जनतामा अभिवादन गर्दछु। नेपालको राजनीतिक एवम् शैक्षिक आन्दोलनको इतिहासमा नेक्राविसङ्घको अत्यन्त महत्त्वपूर्ण योगदान छ। इतिहास साक्षी छ, निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य गर्न नेक्राविसङ्घको महत्त्वपूर्ण भूमिका रह्यो। नेक्राविसङ्घका होनहार कार्यकर्ता राजकुमार सुवालले २०४६ फागुन ८ गते प्राप्त गरेको सहादतले जनआन्दोलनलाई नयाँ उचाइ प्रदान गरेको इतिहास पनि कसैले भुल्न सक्दैन। त्यतिमात्रै होइन, २०६२–०६३ को जनआन्दोलनमा नेक्राविसङ्घले समाजवादी गणतन्त्र जिन्दावादको नारा लगाएर नेपाली विद्यार्थी आन्दोलनलाई नै नयाँ मोड दिएको थियो। नेक्राविसङ्घले भनेको थियो – गणतन्त्र जिन्दावाद भनेर पुग्दैन किनभने पूँजीवादी गणतन्त्रले काम गरी खाने जनताको हक अधिकार सुनिश्चित गरेको विश्व इतिहासमै छैन। श्रमिक वर्गको मुक्तिको निम्ति समाजवादी गणतन्त्र स्थापना गर्नुपर्ने विचार आज पनि उत्तिकै सान्दर्भिक छ। समाजवादी शिक्षा व्यवस्थाको निम्ति आन्दोलन गर्ने क्रान्तिकारी विद्यार्थी साथीहरूलाई हामी बधाई ज्ञापन गर्दछौं। शिक्षालाई उत्पादन श्रमसँग मिलाउने, निःशुल्क, अनिवार्य र वैज्ञानिक शिक्षा लागू गर्ने, व्यक्तित्व विकासमा समान अवसर दिने, योग्यताअनुसार काम र कामअनुसार ज्यालाको बन्दोबस्त गर्ने नेक्राविसङ्घको उद्देश्यप्रति नेपाल प्राध्यापक समाजको पूर्ण समर्थन छ। हामीलाई अत्यन्तै खुशी लागेको छ, नेक्राविसङ्घले समाजवादी शिक्षाको प्रचार चालू राखेको छ। यसले भनेझैं श्रम र श्रमिकको उच्च सम्मान गर्ने शिक्षा व्यवस्था आजको आवश्यकता हो। हरेक नेपाली नागरिकलाई देशभक्त, प्रगतिशील र क्रान्तिकारी बनाउनैपर्छ। नेपाल मजदुर किसान पार्टीले भनेझैं हरेक नागरिकलाई अनिवार्य सैन्य तालिम दिनैपर्छ नत्र देशको सार्वभौमिकताको रक्षा सम्भव छैन। हाम्रो प्रत्येक विद्यार्थीलाई शोषित र पीडित जनताको पक्षमा सङ्घर्ष गर्न उत्प्रेरित गर्नैपर्दछ। निःस्वार्थ भावनाले देश र जनताको सेवा गर्ने सचेत जनता र राजनीतिक कार्यकर्ताले मात्र देशको मुहार परिवर्तन गर्नसक्दछ। इमानदारीपूर्वक जनताको राजनीतिको आन्दोलन अगाडि बढाउने नेक्राविसङ्घका कर्मठ कार्यकर्तालाई हार्दिक शुभकामना ! पूँजीवादी शिक्षाले मानिसलाई व्यक्तिवादी एवम् स्वार्थी बनाउँदै छ। प्रतिस्पर्धाको नाममा कमजोरलाई कहिल्यै माथि उठ्न नदिने प्रपञ्च भइरहेको छ। वर्तमान समाज एवम् सामाजिक उत्पादन सम्बन्धलाई दृष्टिगत गर्दा सामूहिक स्वार्थको निम्ति काम गर्ने समाजवादी चरित्रको विकासको निम्ति समाजवादी शिक्षा नै चाहिन्छ भन्ने कुरा अझ प्रस्ट हुँदैछ। त्यसैले समाजवादी क्युवाको शिक्षा पद्धतिलाई विश्वले प्रशंसा गर्दैछ। समाजवादी देशले नै कामलाई पढाइसँग जोड्ने सफलता प्राप्त गरेको छ। समाजवादी शिक्षाले नै क्युवा र कोरियाजस्ता साना देशलाई साम्राज्यवादी आक्रमणविरुद्ध लड्ने साहस र शक्ति दिएको छ। नेपालका शिक्षालयहरू बेरोजगार उत्पादन गर्ने कारखाना भनी किन आरोपित छन्? किनभने नेपालको पूँजीवादी शिक्षाले युगको आवश्यकता पूरा गर्नसकेको छैन। पञ्चायती व्यवस्थाले बनाएको पाठ्यक्रम चालू छ। पढाइ र कामसँगै लाने पाठ्यक्रम लागू गरिएको छैन। शिक्षाले काम गर्ने सीप दिएन। श्रमलाई हेला गर्ने शिक्षा दिइएको छ। शारीरिक काम गर्नेलाई सम्मान दिइएन। आजको शिक्षाले कर्मचारीतन्त्र र व्यक्तिवादलाई विकास गर्यो। शिक्षाले उत्पादनशील श्रमिक दिएन। उच्च प्रविधिका शिक्षामा काम गरी खाने वर्गको पहुँचमा छैन। किसानकी छोरीले चाहेर पनि नर्सिङ पढ्न पाउँदैन, किनभने शिक्षालाई व्यापार बनाइयो। ज्यामीको छोराले इन्जिनियर बन्न पाउँदैन, किनभने शिक्षालाई बजार अर्थतन्त्रसँग जोडियो। हलियाको बच्चाले डाक्टर बन्ने सपना पूरा गर्नसक्दैन, किनभने पूँजीवादी सरकारले गरिबको बारे केही सोच्दैन। पाइलट बन्ने कमैयाको सन्तानको इच्छा कहिल्यै साकार हुँदैन, किनभने खुला बजारको पक्षपाति पूँजीवादी शासकहरूलाई झुपडीमा बस्ने हाम्रा दाजुभाइ र दिदीबहिनीको पीडासँग कुनै सरोकार छैन। गिट्टी फोड्ने आमाका सन्तानले प्रावि तहको शिक्षा पनि पाउँदैन, किनभने उदारवादको नाममा पूँजीवादी साँढे गरिब जनताको खेतबारीमा पस्दैछ। विश्व इतिहास भन्छ, पूँजीवादी व्यवस्थालाई ध्वस्त पार्ने तागत मजदुर वर्गमा छ। मजदुर वर्गको प्रतिनिधित्व गर्ने नेक्राविसङ्घलाई शुभकामना छ। नेपाली शिक्षाविद्हरूले शिक्षा क्षेत्रमा राम्रो काम पनि भएको तर्क गरेको सुन्छौं। उनीहरू भन्छन् – 'नेपालमा अब अन्तर्राष्ट्रिय स्तरका राम्रा स्कूलहरू खुले, बालबालिकाले राम्रो शिक्षा पाउन विदेश धाउनु नपर्ने भयो।' उनीहरूको तर्क छ, ९० प्रतिशत बालबालिका स्कूल जान थालेका छन्, एसएलस्ाीमा पाँच लाख विद्यार्थी सहभागी हुने गरेका छन्, विश्वविद्यालयको शिक्षा रोजगारमुखी तथा व्यावसायिक क्षेत्रतिर कोल्टे फेरेको छ। व्यवस्थापन, शिक्षाशास्त्र एवम् प्राविधिक विषयमा कलेजहरूको विस्तार भइरहेको छ। तर यसो भन्ने विद्वानहरू शिक्षाले वर्ग भेदलाई अझ फराकिलो बनाएको लुकाउँदै छन्। तिनीहरू सहरिया पूँजीपति वर्ग र गाउँका सामन्त वर्गले मात्र यस्तो शिक्षाको अवसर पाइरहेको तथ्यलाई लुकाउँदै छन्। लगभग ८४ प्रतिशत बालबालिका सामुदायिक माध्यमिक विद्यालयमै पढ्ने गर्छन्। त्यसको अर्थ हो – १६ प्रतिशत बालबालिकामात्र संस्थागत वा निजी विद्यालयमा पढ्छन्। गरिब र शोषित वर्गका निम्ति सहर बजारमा खुलेका विदेशी वा निजी बोर्डिङ स्कूल कागलाई बेल पाक्यो, हर्ष न विस्मात्जस्तै भइरहेको छ। सामुदायिक विद्यालयहरू शैक्षिक अराजकताका केन्द्र भइरहेका छन्। २०५९ सालमा १३ लाख बालबालिका कक्षा १ मा भर्ना भएका थिए तर २०६८ सालमा कक्षा ११ मा ४ लाखमात्र भर्ना भए। ७० प्रतिशत बालबालिका कता गए? कक्षा ९ देखि १२ सम्मको शिक्षा माध्यमिक हुने भनिए पनि कार्यान्वयन गर्ने ठोस नीति किन ल्याउन सकेन? नेपालको शैक्षिक क्षेत्रमा कालाबजारियाहरू उच्च मावि तहका विद्यालयमा किन लगानी गरिरहेका छन्? नेपालका विश्वविद्यालयहरूको कुरा गरौं। नेपालमा यस्तो विश्वविद्यालय पनि स्थापना भएका छन्, जहाँँ उच्च वर्गका सन्तानहरूको मात्र पहुँच छ। ती विश्वविद्यालयको उत्पादन विदेशी कम्पनी वा आइएनजीओका कच्चा माल बनेका छन्। तिनीहरू अमेरिका र युरोपका सस्ता बौद्धिक ज्यामी बनेका छन्। पुरानो र बुढो त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा लगभग ८६ प्रतिशत विद्यार्थी बोकिरहेको छ। कुलपतिका हैसियतमा प्रधानमन्त्री बाबुराम भट्टराईले यस विश्वविद्यालयलाई नै बेरोजगार उत्पादन गर्ने उद्योग भएको स्वीकार गरेका छन्। दलीय भागबण्डाको चरम प्रहारबाट विश्वविद्यालय सङ्कटग्रस्त छ। त्रिभुवन विश्वविद्यालयमा डेढ महिनादेखि तालाबन्दीपछि अस्ति भरखर ताला खोलिएको छ। तालाबन्दीका कारण उपकुलपति, रेक्टर, रजिस्ट्रार र डीनहरू कार्यकक्षमै जान पाएनन्। योभन्दा लज्जास्पद कुरा अरु के होला? संरा अमेरिकामा सुरु भएको वालस्ट्रीट कब्जा आन्दोलन विश्वभर फैलिएको उदाहरण ताजा छ। सार्वजनिक क्षेत्रमा बजेट कटौतीको विरुद्ध स्पेनलगायत युरोपेली देशमा उठेका आन्दोलन सेलाएको छैन। चिलीलगायतका अमेरिकी देशमा शिक्षण शुल्क वृद्धिको विरुद्ध चलेको विद्यार्थी आन्दोलन चालू छ। न्याय र स्वतन्त्रताको निम्ति भएका विश्वभरका आन्दोलनलाई समर्थन गर्नु हाम्रो अन्तर्राष्ट्रिय कर्तव्य हो। जसरी अमेरिकी साम्राज्यवादले समाजवादी क्युवामाथि आधा शताब्दीदेखि लगाउँदै आएको नाकाबन्दीको निन्दा गर्यौं, त्यसैगरी कोरियामाथि साम्राज्यवादी अमेरिकाको युद्धको धम्कीविरुद्ध नारा लगायौं। जसरी लिवियाका देशभक्त नेता गद्दाफीमाथि आक्रमण भइरहँदा सडकबाटै भर्त्सना गयार्ंै, त्यसरी नै स्वतन्त्र र सार्वभौम देश सिरियामाथि अमेरिकी नेतृत्वमा हुँदै आएको बर्बर आक्रमणको विरोध गर्यौं। हामी विश्वका कुनै पनि देशका जनताको स्वतन्त्रता र न्यायको सङ्घर्षमा साथ दिन्छौं। त्यसैले हामी कम्युनिष्ट अन्तर्राष्ट्रवादी हौं। देशको शैक्षिक क्षेत्रमा मात्रै होइन देशको भविष्यसँग जोडिएको नेपालको राजनीति अत्यन्तै सङ्कटग्रस्त छ। देशको अस्तित्वमै खतरा छ। नयाँ संविधान बन्न सकेको छैन। जातजाति र भाषभाषीको आधारमा राज्य टुक्रा गर्ने षड्यन्त्र जारी छ। शैक्षिक अराजकताले ताण्डव नृत्य गर्दै छ। यस्तो महत्त्वपूर्ण समयमा सुरु नेक्राविसङ्घको दसौं राष्ट्रिय सम्मेलनले योग्य एवम् सक्षम नेतृत्व चयन गर्नेछ भन्ने शुभकामना व्यक्त गर्दछु। कामदार वर्गका छोराछोरीलाई राजनीतिक एवम् वर्गीय रुपमा सचेत र सङ्गठित गर्ने उद्देश्य सफल गर्न सम्मेलन कोसेढुङ्गा प्रमाणित हुनेछ। धन्यवाद। (नेक्राविसङ्घको दसौं राष्ट्रिय सम्मेलन धनगढीमा शुक्रबार सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल प्राध्यापक समाजका संयोजक एवम् नेक्राविसङ्घका पूर्वअध्यक्ष सरोजराज गोसाईले व्यक्त गर्नुभएको मन्तव्य – सम्पादक) |