|
घूस बुझाएपछि टेण्डर गायव
काठमाडौं। राष्ट्रिय सहकारी बोर्डमा पछिल्लो पटक टेण्डरकाण्ड चर्किएको छ। बोर्डअन्तर्गत लगनखेलमा सञ्चालित साझा किनमेल केन्द्रका पसल कवलहरु प्रचलित भाडादरभन्दा निकै बढी भाडामा लिन व्यापारीहरुले प्रस्ताव गरिसकेको अवस्थामा बोर्डका सहअध्यक्ष सरोज शर्मा र सदस्यसचिव नेत्रप्रसाद न्यौपानेले पुराना व्यापारीहरुबाट घूस खाएर पुनः टेण्डर गर्न चासो नदिएको समाचार छ। सूत्रका अनुसार अदालतले टेण्डर गरी पसल भाडामा लगाउन बाटो खुला गरिसकेको अवस्थामा पनि सुरुमा टेण्डर गर्ने बोर्डका अधिकारीहरु अहिले टेण्डर गर्ने कुरामा आलटाल गर्दै आएका छन्। यसले बोर्डलाई प्राप्त हुने वार्षिक करोडौं आम्दानी गुमिरहेको छ। अदालतले टेण्डरको सूचना निकाली पसल भाडामा लगाउने बाटो खुला गरिसकेको अवस्थामा पुनः टेण्डर गर्ने व्यवसायीको अनुरोधलाई बोर्डका अधिकारीहरुले सुनेको नसुन्यै गरिरहेको गुनासो प्रतिस्पर्धाको आधारमा पसल सञ्चालन गर्न चाहने व्यवसायीहरुको छ। व्यवसायीहरु टेण्डरको बारेमा जानकारी लिन जाँदा बोर्डका अधिकारीहरु भोलि पनि हुनसक्छ, एक महिनापछि हुनसक्छ, एक वर्ष पनि लाग्न सक्छ भन्दै गोलमटोल रुपमा जवाफ दिन थालेका छन्। ३१ दिनको म्याद राखेर गरिएको टेण्डरको म्याद सकिए पनि पुनः टेण्डर गर्नतिर बोर्डले चासो नदेखाएकोमा व्यापारीहरु खिन्न भएका छन्। साझा किनमेल केन्द्रका पसलहरु अति सस्तो भाडा तिरेर सञ्चालन गर्दै आएका व्यापारीहरुले बोर्डका सहअध्यक्ष सरोज शर्मालाई २१ लाख रुपैयाँभन्दा बढी घूस बुझाएपछि सुरुमा टेण्डर गर्न निकै चासो देखाएको बोर्ड अदालतले बढी दरमा भाडामा लगाउन बाटो खोल्दा पनि बोलपत्रको सूचना निकाल्न चासो नै देखाउन छाडेका छन्। मासिक १८ हजार रुपैयाँमा पसल सञ्चालन गर्दै आएका व्यापारीहरुले प्रतिपसल न्यूनतम ५१ हजार रुपैयाँ उठाएर बोर्डका सहअध्यक्ष शर्मालाई घूसको बुझो लगाएपछि टेण्डर गर्ने कुरामा बोर्डको चासो नरहेको बताइन्छ। हालै निर्माण भएको साझा किनमेल केन्द्र लगनखेलको सामुन्नेमा रहेको मानसिक अस्पतालको एउटा सटर मासिक १ लाख ११ हजार १ सय ११ रुपैयाँ भाडामा लागेको छ। तर साझा किनमेल केन्द्रमा एउटा सटर १८ हजार रुपैयाँमा व्यापारीहरुले लामो समयदेखि चलाउँदै आएका छन्। लगनखेलमा न्यूनतम ५१ हजार रुपैयाँभन्दा कममा कतै पनि पसलका लागि सटर पाइँदैन भन्दै एक व्यवसायीले भने– बोर्डले टेण्डर गरे ४१ वटा पसलको कम्तीमा २१ लाख रुपैयाँ मासिक आम्दानी हुन्छ। तर अहिले त मुस्किलले ११ लाख रुपैयाँ पनि बोर्डले भाडा साझा किनमेलका सटरबाट पाइरहेको छैन। सूत्रका अनुसार सस्तोमा सरकारी सटर पाएका व्यापारीहरुले घुस्याहा सहअध्यक्ष शर्मा र सदस्य सचिव नेत्रप्रसाद न्यौपानेलाई घूस खुवाएर ती सटरमा टेण्डर गर्नबाट रोकेका छन्। साझा किनमेल केन्द्र लगनखेलका ४१ वटा पसलहरु भाडामा लगाउन बोर्डले २०६९ असारमा टेण्डर आह्वान गरेको थियो। तर सस्तो भाडादरमा सञ्चालन गर्दै आएका पुराना व्यापारीहरुले सङ्घ बनाएर पुनरावेदन अदालत पाटनमा मुद्दा दिएपछि पुनरावेदन अदालत पाटनको २०६९ असार ४ गतेको आदेशअनुसार टेण्डर प्रक्रिया अवरुद्ध भएको थियो। टेण्डर फारम वितरण रोकियो। टेण्डर प्रक्रिया अदालतले रोक्न आदेश दिए पनि केही व्यापारीहरुले अदालतको फैसलाअनुसार हुने गरी टेण्डर प्रस्ताव दर्ता गरेका थिए। ५ जना व्यापारीहरुले २०६९ असार १५ गते अदालतको फैसलाअनुसार पछि हुने गरी साझा पसलका पसल सञ्चालनका लागि बोलपत्र पेश गरेका थिए। बोर्डले अदालतको फैसलाबमोजिम हुने गरी ५३० देखि ५३५ सम्मको दर्ता नम्बर राखी टेण्डर प्रस्ताव पनि लियो। तर अदालतले पछि ती पसल कवल भाडामा लगाउन बाटो खुला गरिदिएको थियो। ५ जना व्यापारीहरुले अदालतको आदेशबमोजिम हुनेगरी बोर्डमा पेस गरेको टेण्डरको सम्बन्धमा पनि बोर्डले स्पष्ट जवाफ नदिएकोमा व्यवसायीहरु रुष्ट भएका छन्। उनीहरुले बोर्डले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। वार्षिक करोडौं आम्दानी हुने लगनखेलको साझा किनमेल केन्द्रको पसल भाडामा लगाउन टेण्डर गर्न आलटाल गर्ने बोर्डले पुल्चोकमा रहेको बोर्डको कार्यालयसँगै रहेको १४ रोपनी जग्गा लिजमा दिने तयारीमा जुटेको छ। त्यो जग्गा लिजमा दिन २०६९ साउन २३ गते टेण्डर आह्वान गरिसकेको छ। पसल कवल जसले बढी भाडा कबोल गर्यो त्यसैलाई दिनुपर्ने हुन्छ, तर जग्गा लिजमा दिन जसको प्रस्ताव राम्रो छ, कमिसनमा कुरा मिल्छ उसैलाई दिन पाइने भएकोले लिजमा दिनेतर्फ बोर्डका सहअध्यक्ष शर्मा लागेका छन्। सरकारले सरकारी संस्थान वा बोर्डले भोगाधिकार दिएका सरकारी जग्गा लिजमा दिन नपाउने निर्णयलाई समेत अटेर गर्दै बोर्डका सहअध्यक्ष शर्माले उक्त जग्गा लिजमा दिन बोलपत्र आह्वान गरिसकेका छन्।
|