|
भृकुटी र सीता अनि तिनका परिवार
एल.के.सुन्दर एकाबिहानै, पस्किदिएको खानासमेत छोडी घरबाट हिंडेका भृकुटी र सीता। बन्द हड्ताल, चक्काजाम, कलेजमा परीक्षा देशकालको परिस्थिति नखाऊँ दिनभरिको सिकार खाऊँ कान्छाबाउको अनुहार। आज आउलान् छैन, भोलि आउलान् छैन, मन, त्यसै त्यसै अटालिन्छ मुटु चसक्क बिझ्छ। दुई पाइला हिंड्न पनि नभनी, नसोधी कहीं कतै नलाग्ने छोरीहरू। भरे भोलिभन्दा भन्दै दसकौं बितिसक्यो आँखामा आँसु रिटियो बिरहको बोलि सुक्यो। के प्रशासन के राजनैतिक दल, सन्यासीको कुटीमा जोगी पाहुना। छानबिन आयोग नियमन निकाय देखाउने दाँत मागीखाने भाँडो। कोही जाहेरी फिर्ता लिन कर गर्छ कोही अनसन बस्न दबाब दिन्छ कोही राजनीतिको मुद्दा बनाउनैपर्छ कोही पुनःस्थापनासम्म हेरौं भन्छ कोही भन्छ सडकदेखि सदनसम्म तताऔं सबैले आलोघाउमा नुनचुकमात्रै छर्छ तर, गुलेलीबाट छुटिएको मट्याँग्रोसरि भृकुटी र सीता फर्केर आएको सुन्नमा आएन। हरेक दिन बिहानीको झिसमिसे उज्यालोसँगै आज त आउलान् कि? मनमा असीम आसा एवं भरोसा साँच्चै डाँडावारीदेखि डाँडापारिसम्म आँखाको दृष्टि पुर्याइरहन्छ हत्केलाले घाम छेक्दै अर्काे हातले परेला मिच्दै उमेरले सत्तरीको नेटो काटेकी भृकुती र सीताका आमा। कतै, आमा भनी बोलाउँदै आउलान् कि? दायाँ, बाया, वर्कि, फर्कि हेरिरहन्छे सपनामा भृकुटी र सीता रोएको देख्छे विपनामा आफै रुन्छे बिचरी ती बुढी आमा। |