|
त्रिविको स्खलनमा राजनीतिक नेतृत्व दोषी
देशको सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका करिब आधा दर्जन केन्द्रीय विभागमा विद्यार्थीको खडेरी नै परेको खबर छ। त्यहाँ विद्यार्थीभन्दा प्राध्यापकहरूको सङ्ख्या चार गुणा बढिरहेको बताइएको छ। त्रिविको शिक्षाशास्त्र सङ्कायको इतिहास, राजनीतिशास्त्र, भूगोल विषय र मानविकी सङ्कायको संस्कृत, हिन्दी, भाषाविज्ञान, बौद्ध–विज्ञान, मनोविज्ञान, इतिहासलगायतका केन्द्रीय विभागमा विद्यार्थी सङ्ख्या अत्यन्तै न्यून रहेको बताइएको छ। त्रिविका यी विभिन्न सङ्काय र विषयमा विद्यार्थी नहुनुले र विभिन्न विषयमा अत्यन्त न्यून विद्यार्थीमात्र उत्तीर्ण हुने गर्नुले त्रिविको स्खलनलाई सङ्केत गर्दछ। त्रिवि केन्द्रीय क्याम्पस तथा विभिन्न आङ्गिक क्याम्पसहरूमा अपेक्षाअनुसार प्राध्यापन कार्य भएका छैनन्। क्याम्पसहरूमा पाठ्यक्रमअनुसारको कुनै व्यवहारिक शिक्षण क्रियाकलाप भएका छैनन्। विभिन्न कारणले कक्षा सञ्चालनसमेत नियमित हुनसकेका छैनन्। परिणाम थोरैमात्र विद्यार्थी दोस्रो र तेस्रो श्रेणीमा उत्तीर्ण हुन्छन्। हेलचेक्राइँले राम्ररी पढ्ने विद्यार्थीको परिणामसमेत राम्रो आउने गर्दैन। यसले गर्दा राम्ररी पढ्न चाहने र आर्थिक हैसियत भएका विद्यार्थीहरू विदेशी विश्वविद्यालय र कलेजतर्फ आकर्षित भइरहेका छन्। त्रिविको स्खलन भवितव्य होइन नियोजित रुपमा गराइएको हो। पूँजीवादी व्यवस्थामा हरेक वस्तु र सेवा व्यापारको माल बन्छ। शिक्षालाई पनि मालसामान बनाइएको छ। त्यसैले यहाँ पैसा तिरेर किन्न सक्नेलाई मात्र शिक्षा मिल्छ, पैसा तिर्न नसक्नेलाई निरक्षर र अज्ञानी नै बन्नुपर्ने हुन्छ। शिक्षाको व्यापारलाई बढावा दिन कम शुल्क तिरेर सर्वसाधारण जनताका छोराछोरी पढ्ने विश्वविद्यालय, क्याम्पस र विद्यालयहरूलाई असफल पार्न र बन्द गराउन अनेक प्रपञ्च रचिन्छ। त्रिवि पनि त्यस्तै प्रपञ्चमा परेको हो। कर्मचारी र प्राध्यापक नियुक्तिमा नातावाद, कृपावादलाई बढावा दिंदा खराब स्थितिमा पुगेको त्रिविमा लोकतन्त्रको स्थापनापछिको सत्तामा पुगेका दलहरूले दलीय भागबण्डाका आधारमा पदाधिकारी नियुक्त गर्दा र भागबण्डा नमिलेसम्म महिनौं र वर्षाैंसम्म पदाधिकारी नियुक्त नगर्दा त्रिविको व्यवस्थापन भद्रगोल हुन पुगेको हो। राजनीतिक नेतृत्वमा रहेको दिशाहिनता तथा दूरदर्शिताको अभावका कारण दिनानुदिन त्रिविको अवस्था खस्कँदै छ। तसर्थ त्रिविको स्खलनमा राजनीतिक नेतृत्व नै प्रमुख रुपमा दोषी छ। – प्रकाश
|