September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

राजनीतिक दलहरूलाई नामबाट होइन कामबाट चिन्नुपर्छ


(नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको दसौं राष्ट्रिय सम्मेलन उद्घाटन समारोह २०६९ असोज २६ धनगढीमा 
व्यक्त मन्तव्यको सार संक्षेप – सम्पादक)
नारायणमान बिजुक्छें, अध्यक्ष, नेमकिपा

    धेरै दिनपछि कैलालीको धनगढीमा आउने अवसर प्राप्त भयो। यसको निम्ति नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका साथीहरूलाई धन्यवाद !
    म नेक्राविसङ्घको १० सौं राष्ट्रिय सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु।
–    नेपाल मजदुर–किसान पार्टीको वर्गीय सङ्गठनहरूमा लाग्नु भनेको निःस्वार्थ रुपले आ–आफ्ना वर्गमा र पेसामा सेवा गर्नु 
हो। 
–    वर्गीय सङ्गठनमा बसेर जनताको सेवाको सिलसिलामा ती वर्ग र जनतामा आफूलाई समर्पित गर्नु हो।
–    यो एक प्रकारको व्यवहारिक रुपले शिक्षित हुनु हो।
–    वर्गीय सङ्गठनबाट शिक्षित भइसकेपछि समयअनुसार आफूलाई पार्टी कार्यकर्ताको रुपमा प्रस्तुत गर्ने हो।
–    पूँजीवादी पार्टीहरूमा वर्गीय सङ्गठनमा होस् वा राजनीतिक पार्टीमा होस् आ–आफ्नो व्यक्तिगत स्वार्थको निम्ति पद र पैसाको निम्ति विवाद गर्छन्।
–    समाजमा रहेका पूँजीवादी खराबीहरू हाम्रो वर्गीय सङ्गठन र पार्टीमा पनि देखापर्नेछन्। 
–    त्यस्ता खराबीहरूलाई आलोचना र आत्म–आलोचनाबाट सुधार्ने कोसिस गर्नुपर्दछ। 
–    त्यस्ता उपायहरूबाट आफूलाई सुधारिएन भने त्यस्ता व्यक्तिहरूलाई सङ्गठन छोड्न सल्लाह दिनुपर्दछ वा कारबाहीमा जानु उपयुक्त हुन्छ। 
–    राजनीतिक दलहरूको नामबाट तिनीहरूलाई 'कम्युनिष्ट' वा पूँजीवादी पार्टी भन्ने होइन बरु तिनीहरूको कामबाट तिनीहरू के हुन् भन्ने मनमा लिनुपर्दछ।
–    कम्युनिष्ट नामधारी राजनैतिक दलहरूले नै नेपाल मजदुर किसान पार्टीका सैद्धान्तिक र व्यवहारिक रुपले कमजोर व्यक्तिहरूलाई बिगार्ने र भड्काउने काम गरी आएका छन्।
–    नामका कम्युनिष्ट तर व्यवहारमा पूँजीवादी पार्टीबाट प्रभावित वर्गीय सङ्गठन र पार्टीका समितिमा लुकी बसेका व्यक्तिहरूलाई नेमकिपाले बेला–मौकामा कारबाही गर्दै आएको छ।
–    पूँजीवादी व्यवस्था भएसम्म समाजमा पूँजीवादी प्रवृत्ति कायम रहनेछ र त्यसको प्रभाव पार्टीभित्र पनि बरोबर देखापर्नेछ। शरीरका मैला फालेजस्तै त्यस्ता पूँजीवादी तत्त्वलाई पार्टीबाट फाल्दै पनि जानुपर्नेछ।
–    सैद्धान्तिक र व्यवहारिक रुपले शिक्षित र समर्पित नभएसम्म त्यस्ता व्यक्तिहरूलाई सङ्गठनका मुख्य–मुख्य पदमा राख्दा पदहअनुसार आ–आफ्ना जिम्मेवारी पूरा गर्न नसक्ने सम्भावना धेरै विद्यमान हुन्छ। 
–    आफू योग्य छु वा छैन भन्नेबारे आफूले अनुमान गर्नुभन्दा सङ्गठनमा सँगै काम गर्ने साथीहरूलाई बढी थाहा हुन्छ। आफूले आफैलाई मूल्याङ्कन गर्दा मनोगतवादी दृष्टिकोणबाट प्रभावित हुने सम्भावना हुन्छ।
–    आफ्ना योग्यता जाँच्ने केही मापदण्डबारे ध्यान राख्नुपर्ने हुन्छ:
(क)        सङ्गठन र पार्टीका प्रकाशनहरूबारे आफूलाई राम्रो जानकारी छ वा छैन।
(ख)        त्यसबारे आफूभन्दा तल्लो तहका समितिहरूमा कक्षा सञ्चालन के कति गरियो, त्यसबारे लेखाजोखा गरियो वा गरिएन
(ग)    आ–आफू बसेको समितिअनुसारको जिल्ला–जिल्ला र गाउँहरूमा के कति सङ्गठन गरियो र कति कार्यकर्ताहरूलाई सङ्गठन गरियो त्यसको लेखाजोखा छ/छैन।
(घ)    आफू बसेको समितिअनुसार घर छोडी काम गरेको के कति रेकर्ड छ छैन।
(ङ)    विरोधी पार्टीहरूसँग सैद्धान्तिक र व्यवहारिक सङ्घर्ष गरेको वा भित्र–भित्र उदार भएको रेकर्ड छ/छैन आदि।
–    अहिले देशको राजनैतिक परिवेेशमा जात–जाति, भाषा–भाषी र क्षेत्रको साम्प्रदायिकतालाई देशी र विदेशी प्रतिक्रियावादीहरूले उचालेका छन्। यसबाट हामी सबै सचेत हुनैपर्छ।
–    जुनसुकै जात–जाति, भाषा–भाषी र क्षेत्र वा लिङ्गका भए पनि 'योग्यताअनुसारको काम र कामअनुसारको ज्याला' पाउनैपर्छअर्थात् सङ्गठनमा पनि उसको योग्यता र कामअनुसारको पद उसले पाउनुपर्दछ।
–    २–४ दिन सम्मेलनमा काम देखाएरमात्र योग्य र कर्तव्यपरायण थाहा हुन्न, सङ्गठनमा लाग्दा अवधिकै उसको मूल्याङ्कन हुनु आवश्यक छ। 
–    सङ्गठन र पार्टीमा तीन प्रकारका कार्यकर्ताहरू देखिएका छन्–
(क)    आफ्नै व्यक्तिगत स्वार्थका कारण योग्य भएर पनि जिम्मेवारी सम्हाल्न नचाहने 
(ख)    ठूलो मानिस टोपलिन वा फाइदा पाउने उद्देश्यले योग्य नभए पनि जिम्मेवारी खोज्ने
(ग)    लाजले वा आफूमा साहस नभएर वा अध्ययनपछि कुनै एक पेशामा लाग्ने हुादा जिम्मेवारीमा बस्न नचाहनेहरू आफूलाई योग्य बनाउन समर्पित नहुने।
–    एउटा नेपाली उखान छ– बाघको मुख हेर्नु छ भने बिरालोको मुख सम्झनु र शत्रुलाई हेर्नु छ भने दाजु–भाइलाई सम्झनु। 
    त्यस्तै वर्गीय र सैद्धान्तिक रुपले शत्रुलाई चिन्नु छ भने 'कम्युनिष्ट' भन्ने पार्टीहरूलाई सम्झनु। 'कम्युनिष्ट' भन्ने दलहरूले नै हाम्रो पार्टीलाई भाँड्ने काम गरेका हुन्। 
    तर हामीले कहिल्यै'कम्युनिष्ट' नाममा पूँजीवादी पार्टीका कार्यकर्ताहरूलाई नेमकिपामा तानेका छैनौं।
–    मित्र पार्टीहरू हुन् भने मित्रघात गर्नहुन्न।
–    हामीले सदनमै घोषणा गरेका थियौं – जो आगोसित खेल्छ, आगोमै मर्छ, जो पानीसँग खेल्छ, पानीमै मर्छ। नेमकिपालाई फुटाउनेहरू आफै फूटलाई व्यहोर्नेछन्।
–    नेमकिपालाई फुटाउन चाहने र कार्यकर्ता भाँड्ने सबै पार्टीहरूले फूट व्यहोरे र व्यहोर्दै छन्।
–    घाँसमा सर्प घुसेजस्तै नेमकिपाका सङ्गठनभित्र वर्गीय र सैद्धान्तिक शत्रुहरू घुस्ने सम्भावना जहिले पनि हुन्छ, सचेत हुनैपर्दछ।
    विद्यार्थी कार्यकर्ता साथीहरूलाई म केही सल्लाह दिन चाहन्छु:–
(क)    प्रकाशमा आउने प्रवृत्ति पूँजीवादी प्रवृत्ति हो, त्यसबाट जोगिनैपर्छ।
(ख)     आफूभन्दा पछि परेका साथीहरूलाई स्तर उठाउन सहयोग गर्नुपर्छ।
(ग)    'कम्युनिष्ट' नाउँका विरोधी पार्टीका कार्यकर्ताको प्रशंसाबाट आफू जोगिनुपर्छ।
(घ)    माओ त्से तुङले भन्नु भएजस्तै शत्रुले विरोध गर्नु नराम्रो कुरा होइन, त्यसले   हामी र शत्रुको बीचमा भेद प्रस्ट हुन्छ।
    अन्त्यमा, पुनः म नेक्राविसङ्घको १०सौं पूर्ण सफलताको कामना गर्दछु र प्रकाशमा आउन नचाहने, निःस्वार्थ रुपले जनताको सेवा गर्न चाहने तथा शत्रुसँग सैद्धान्तिक र व्यवहारिक सङ्घर्ष गर्नसक्ने नयाँ नेतृत्वको चयन गर्ने आशा गर्छु। पूर्व र पश्चिम, उत्तर र दक्षिणको भेद चर्काई देशलाई टुक्राउने विदेशी चलखेलको विरोध गर्नसक्ने नेतृत्वको चयन गर्न सक्षम हुने कामना गर्न चाहन्छु। 
धन्यवाद !