September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

ठूलाठालुहरुलाई फोकटमा मासु

योगेश्वर अमात्यले गीतै गाएका छन् 'दसैं नै हो कि यो मेरो दशा' त्यही गीतमा छोरो भन्छ बा, यसपालि घोर्ले खसी ल्याउनुपर्छ ल। बाउले जवाफ दिन्छ, खालास बजिया घोर्ले खसी, पैसा न सैसा टिकी ट्याँसट्याँस !
    औसत नेपालीको वास्तविकता हो यो। कतिले त रहर पुर्‍याउन ऋणै गर्दारहेछन्। सानातिना नागरिकहरुको यो गति भए पनि देशका उच्च ओहोदामा भएकाहरु, जो आर्थिक रुपमा सक्षम पनि हुन्छन्, उनीहरुले पनि मासुका लागि चिन्ता गर्नुपर्दैन। उनीहरुका लागि फोकटमा मासुको भाग आउँछ। यसको पैसा राज्यले नै बेहोर्छ। यसरी फोकटको मासु पाउनेमा उतिबेलाका राजा पनि हुन्थे। अहिले भने राजाको साटो राष्ट्रपतिले पाउँछन्। राष्ट्रप्रमुखबाहेक उपराष्ट्रपतिले पनि भाग पाउँछन्। त्यसैगरी सरकार प्रमुख प्रधानमन्त्रीको कार्यालयमा पनि भाग जान्छ। जिल्ला प्रमुख अर्थात् सीडीओ कार्यालय, जिल्ला विकास समिति कार्यालयलगायतका कार्यालयहरुका हाकिमहरु र उनीहरुका आसेपासेहरुले पनि फोकटको मासु खान पाउँछन्।
    यसरी फोकटमा ठूला ठालुहरुलाई बाँडिने मासुका लागि पैसा सरकारले व्यहोर्ने हो। दसैंमा अर्थ मन्त्रालयअन्तर्गत रहेको कौषी तोषाखाना कार्यालयले १७३ राँगा, १७८ बोका किन्छ। त्यसमध्ये भद्रकालीमा एउटा बोका, शोभा भगवतीमा एउटा बोका र एउटा राँगा, गुह्येश्वरीमा एउटा बोका, वनकालीमा एउटा बोका, छाउनी सङ्ग्रहालयमा एउटा बोका, हात्तीसार वन मन्त्रालयअन्तर्गतको कार्यालयमा १ बोका काटिन्छ। हनुमानढोका दरबारको नासल चोकमा अष्टमी, नवमी र चतुदर्शीमा हरेक दिन ५४ राँगा र ५४ बोका काटिन्छ। ती काटिएका राँगा र बोका त्यसै फाल्नका लागि हैन। त्यसको उपयोग पनि त गर्नुपर्‍यो। उपयोगकै लागि राष्ट्रपतिदेखि प्रधानमन्त्री र सरकारी कार्यालयका हाकिमसम्मलाई भाग बाँडिन्छ। कसलाई कति भाग बाँड्ने भन्ने सूचि चाहिं त्यही कौषी तोषाखाना कार्यालयले नै तयार गर्छ।
    गुठी संस्थानले पनि बलि दिनका लागि राँगा, बोका किन्छ। हनुमानढोकाको देगु तलेजु, तलेजु र विभिन्न मठ–मन्दिरका लागि काठमाडौं गुठी कार्यालयले पनि १४ राँगा, ४८ बोका, १६ हाँस, १ कुखुरा र १ थुमा किन्छ। पाटनका लागि त्यहाँको गुठी कार्यालयले १४ राँगा, ४२ बोका, १९ हाँस, २ थुमा किन्छ। भक्तपुरका लागि त्यहाँको गुठी कार्यालयले ३९ राँगा, ९१ बोका, ५ कुखुरा, ३९ हाँस बलि दिन्छ। बाहिर जिल्लातिर पनि आ–आफ्नै चलन होला। सबै सरकारी कार्यालयमा गाडी त हुन्छ नै। गाडीका लागि बलि दिनु परिहाल्यो। त्यो बलिको मासु चाहिं कार्यालयका हाकिमलगायतको भागमा पर्छ। गुठी संस्थानले देशभर गरी सवा करोड रुपियाँ बलि दिन खर्च गर्छ।