September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

वृद्धाश्रममा कसरी मनाउँदैछन् दसैं?

यतिबेला दसैंको रौनक छाएको छ। आफन्तकोमा गएर खानपिनसँगै रमाइलो गर्नेहरु धेरै छन्। तर आफन्त हुँदाहुँदै पनि टाढिएर वृद्धाश्रममा बस्नेहरुका लागि चाडवाडले खुसीभन्दा धेरै नरमाइलो सम्झना लिएर आउँछ। काठमाडौंको पशुपति क्षेत्रमा रहेको वृद्धाश्रममा बसिरहेका ज्येष्ठ नागरिकको दसैं यस्तै छ।
    पोखराकी ७२ वर्षिया पवित्रा सुवेदीले वृद्धाश्रममा दसैं मान्न थालेको ५ वर्ष भयो। १२ छोरा १३ नाति बुढाको धोक्रो काँधै माथि भनेजस्तै ५ जना छोरा भए पनि उहाँको बास अहिले आश्रममा छ। 
    तर कुनै दुखेसो छैन। सधैंजसो बुहारीको गनगन सहनुभन्दा आश्रमको जीवन आनन्द अनि सरल छ। बिहान मन्दिर गयो खानपिन गर्‍यो, दिउँसो आफूले चाहेअनुसार घुमफिर गर्‍यो।
    चाडपर्वका बेलामा पनि छोरा बुहारीलाई सम्झेर घर जान मन लाग्दैन सुवेदीलाई। 'सुख पाए पो सम्झना आउँथ्यो, दुःख पाएपछि के पो सम्झिनु' उहाँले भन्नुभयो।
    चाडपर्वमा आफन्तको सम्झना कसलाई नआउला र? तर आफ्नै पराई बनेपछि आश गर्ने ठाउँ बाँकी नै रहेन। आश्रमममा दसैं कसरी मनाउँदै हुनुहुन्छ भनेर सोध्दा नुवाकोटकी ७६ वर्षीय बच्चु ढुङ्गानाको आँखा भरियो।
    एकछिन सम्हालिएर उहाँले भन्नुभयो 'शरीरमा रोग लागेपछि कसैको सहारा पाइएन, बास खोज्दै यता आइयो, अब कसैको याद आउदैन यतै सबैसँग रमाइलो गरेर दसंै मनाइन्छ।' दसैंमा आफन्तको सम्झना पनि आउँदैन भन्नुहुन्छ ढुंगाना। 'म कसैलाई सम्झी', म रोग लागेर जीविकोपार्जन गर्न नसकेर, माइतीमा बस्न नसकेर यहाँ आएको हो।' दसैंको चहलपहल र रौनक छाइरहेका बेला डाँडामाथिको जुनझैं भएका आश्रमका बुढाबुढीलाई बाल्यकालको दसैं झलझली सम्झना आउँछ। अरुको जीवन हेरेरै धरानका ६९ वर्षीया दुर्गा दाहाललाई बिहे गर्न मन लागेन।
    अहिले बुढेसकाल लाग्यो, मन डुलाएर हिंडदा हिंड्दै आश्रममा आइपुग्नुभयो। बाल्यकालको दसैं कोट्याउँदा उहाँलाई पिङ खेलेको सम्झना आयो 'रोटेपिङ खेल्न गयो, ठूल्ठूल्ला मान्छेले रोटे पिङ लिङ्गे पिङ काखामा राखेर खेलाउँथे।'
    धरानका दाहालको भन्दा ठ्याक्कै उल्टो छ बानेश्वरकी लक्ष्मीदेवी थापाको वाल्यकाल। बाल्यकालको दसैंको खासै सम्झना छैन उहाँलाई। सँगै जीवन बिताउने भनेर ७ फन्को घुमेर बिहे गरेका श्रीमानले रक्सी खाएर छोडे, बस्ने ठाउँ केही थिएन र गन्तव्य बन्यो वृद्धाश्रम।
    आज जीवन सरल छ, छोरा छोरी नभएर के भो त माया गर्ने धेरै आउँछन् आश्रममा। केटाकेटी उमेरमा नपाएको माया पनि अहिले पाइएको छ।
    त्यसैले आश्रमको बसाई उहाँलाई रमाइलो छ उहाँको। 'सानोबेलाको माया पनि अहिले पाएँ, युवा बेलाको माया पनि यहीं पाएँ, टुहुरी भएकाले बा–आमालाई दसैंमा घुक्र्याउन पाइएन' लक्ष्मीदेवीले भन्नुभयो – बा आमाले दिने माया पनि यहीं पाएँ।'
    वृद्धाश्रममा अहिले २ सय ३२ जना ज्येष्ठ नागरिक बस्दै आएका छन्। आफन्त र नातागोताको सम्बन्ध टुटाएर आश्रमको शरणमा आएका उनीहरुलाई दसैंमा पारिवारिक माया र सद्भाव दिन कुनै कसर बाँकी नराख्ने आश्रममा कार्यालय प्रमुख रामशरण थापा बताउनुहुन्छ। दसैंको टीका लगाइदिने अनि आफूले पनि टीका थापेर रमाइलो गरेर यो वर्षको दसैं मनाउने थापाको भनाइ छ।
    'परम्पराअनुसार एउटा परिवारमा जुन कर्मले दसैंको तयारी गर्छौ, त्यस्तै तयारी आश्रममा पनि गरेका छौ, बा–आमालाई मासु खुवाउँछौं' थापाले भन्नुभयो।'
स्रोत: उज्यालोबाट