September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

सिस्नु रोपेर तुलसी उमि्रन्न

संविधान निर्माण गर्नुपर्ने अन्तिम घडीमा आएर संविधानसभाका ठूला दलहरू सत्ता भागबण्डा र पार्टीको आन्तरिक विवादमा नराम्ररी रुमलिएका छन्। केका आधारमा सङ्घीय राज्य निर्माण गर्ने भन्ने सम्बन्धमा ती पार्टीभित्र विवाद चुलिएको छ। जातीय राज्य हुनुपर्ने मत र जातीय राज्य हुनुहुन्न भन्ने विचारका नेताहरूबीच ध्रुवीकरण हुन थालेको छ। ती राजनीतिक दलका नेतृत्व पङ्क्ति एकातिर र सभासद्हरू अर्कैतिर लाग्न थालेका छन्। नेका र एमालेका केही जनजाति सभासद्हरूले पार्टी नीतिविपरीत माओवादी र मधेसी मोर्चासित मोर्चाबन्दी गर्नपुगे। संविधानसभामा पार्टीको ह्वीप लाग्दैन भन्दै आफ्नो पार्टीको निर्णय लत्याएर आफूखुसी भोट हाल्ने मनस्थितिमा पुगेका छन्। 

पार्टीको ह्वीप मान्नुपर्ने र नपर्ने भन्दै एमालेको शुक्रबारको बैठकमा अध्यक्ष झलनाथ खनाल र केन्द्रीय सदस्य एवं सभासद् पृथ्वी सुब्बा गुरुङबीच चलेको जुहारीको टेपरेकर्ड उतार नयाँ पत्रिका दैनिकले शनिबार प्रकाशित गर्‍यो। एमालेभित्र रहेको बाहुनवाद र त्यहाँ जनजाति या अन्य जाति र भाषाका नेता कार्यकर्ताहरूमाथि गरिने बेवास्ता र भेदभावको त्यसले उदाङ्गो पारिदिएको छ। नेपालमा शासक बाहुन क्षेत्रीहरूले अन्य जाति र भाषाका जनतामाथि गरेको दमन ऐतिहासिक अन्याय हो। तर त्यसको न्याय जातीय राज्य निर्माण र जातीय द्वन्द्वको बिजारोपण हुनसक्दैन। 

नेपालमा जातीय र भाषिक विभेद र केही भाषाभाषी जनताको विकासको ढिलो गतिलाई नेपालका शासक दलहरूले विभिन्न गैरसरकारी संस्थामार्फत् 'डलर खेती' गर्ने गतिलै मेसो बनाएका थिए। डलर खेती गर्दागर्दै जातीय सङ्कीर्णता र जातीय राज्यको बिजारोपण गरेको तिनीहरूले चालै पाएनन्। डलर खेती गर्न गैसस बनाउने र फलाउने फुलाउनेमा एमाले कुनै दलभन्दा पछाडि रहेन। जिल्लाजिल्लामा गैसस चलाएर मालामाल हुनेमा एमालेका नेता–कार्यकर्ता अग्रपङ्क्तिमा छन्। त्यसपछि काङ्ग्रेस, माओवादी र अरु छन्। चुनाव जित्नलाई गैससको अरबौं अरब पैसा बगाउँदा समानुपातिक र प्रत्यक्षमै पनि गैससका मानिस पर्नु अस्वाभाविक भएन। विदेशी डलरका निम्ति शर्त र गतिविधि नहेरी दाता र गैसस सक्रिय पार्दाको परिणाम आज देखिंदै छ। एमाले अध्यक्ष खनाललगायतका नेताहरूले मनन गर्नैपर्छ – सिस्नु रोपेर तुलसी उमि्रन्न।