September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

ज्ञानबहादुर न्याइच्याईंप्रति समर्पित भलिबल प्रतियोगिता

 िरवीन्द्र खर्बुजा 

ज्ञानबहादुर न्याइच्याईं नेपाल मजदुर किसान पार्टीप्रति प्रतिबद्ध एक असल किसान नेता हुनुुहुन्थ्यो। पार्टीको नीति, सिद्धान्त तथा पार्टी अग्रजहरूको प्रत्यक्ष सम्पर्कमा रहेर देश र जनताको निःस्वार्थ सेवामा निरन्तर लागि पर्नु नै उहाँको जीवन पद्धति थियो। आजभन्दा ६० वर्ष अगाडि अर्थात् २००९ सालदेखि नै जनताको सेवामा लाग्नुभएका ज्ञानबहादुर न्याइच्यार्इंले २०३९ सालमा भक्तपुर नगरपञ्चायतको प्रधानपञ्च, २०४४ सालमा १७ नं. वडाको वडाध्यक्ष, २०४९ सालमा नगरप्रमुख र पुनः २०५४ सालमा १७ ंनं. वडाको अध्यक्ष भएर सेवा गर्नुभएको थियो। उहाँले पार्टीद्वारा जारी चुनाव घोषणापत्रअनुसार सरसफाइ, सम्पदा संरक्षण, आर्थिक अनुशासन, पारदर्शिता, मितव्ययिता, जनसहभागिता र जनश्रमदानमा जोड दिँदै जनप्रतिनिधिको रुपमा नगर र नगरवासीहरूको सेवा गर्नुभएको थियो। 

शिक्षाको प्रचार गर्नु पनि पञ्चायती व्यवस्थाविरोधी मानिने पञ्चायती कालरात्रीको समयमा साक्षरता अभियान सँगसँगै भक्तपुर नगरभित्रका सार्वजनिक विद्यालयको निमावि तहसम्म निःशुल्क गर्ने काम उहाँकै कार्यकालमा सुभारम्भ भएको थियो। हाल नगरपालिकाअन्तर्गत ५ वटा कलेजहरू सञ्चालन भइरहेको छ। यी कलेजहरूमा देशका प्रायः सबै जिल्लाबाट करिब ५ हजार विद्यार्थी अध्ययनरत छन्। आज सम्पूर्ण भक्तपुरवासीहरू भक्तपुर नगरपालिकाअन्तर्गत ख्वप विश्वविद्यालय सञ्चालन गर्ने तयारीमा जुटिरहेका छन्। भक्तपुर सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्न १३,८२२ जनाको हस्ताक्षरसहित नेपाल सरकारसँग सो जग्गा माग भइरहेको छ। 

२०४०/४१ सालसम्म सरसफाइ भनेको निश्चित जात अथवा पोडेहरूले मात्र गर्नुपर्ने गलत मानसिकता थियो। त्यो संस्कारविरुद्ध जनप्रतिनिधिहरू आफै कुचो र सावेल लिएर चोक र गल्लीहरूमा सफाइ अभियान भयो। अन्ततः नगर सफाइको काम इज्जत र प्रतिष्ठाको कामको रुपमा अगाडि बढ्यो। फलस्वरुप भक्तपुर एसियाको १० सफा सहरहरूमध्येमा एक हुन सफल भयो। नगरवासीलाई स्वास्थ सेवा प्रदान गर्न एउटा सानो कोठाबाट भक्तपुर नगर पञ्चायतले त्यतिबेला सुरु गरेको जनस्वास्थ केन्द्र आज विभिन्न सेवा सुविधासहित अस्पतालको रुपमा विकास हुँदैछ। 

भ्रष्टाचारविरोधी आन्दोलनको इतिहास बोकेको भक्तपुरले आर्थिक अनुशासन, पारदर्शिता र जनसहभागितामा जोड दिएकै कारण ट्रान्सपरेन्सी इन्टरनेसनलबाट सन् २००१ मा 'सदाचार पद्धतिको टापु' बाट विभूषित हुने अवसर पायो। कुनैबेला पर्याप्त बजेट नभएको कारण कर्मचारीहरूलाई तलब खुवाउन मुस्किल अवस्थामा रहेको भक्तपुर नगरपालिकाले ज्ञानबहादुर न्याइच्याईंकै पालामा २०५० श्रावणबाट पर्यटक सेवा शुल्क उठाउने निर्णय गर्यो। तत्पश्चात नगरपालिका आर्थिकरुपमा पनि केही मात्रामा सक्षम भयोे। नगरलाई स्वास्थ र सरसफाइ, संस्कृति सम्पदाहरूको संरक्षण, शिक्षा क्षेत्रमा अगाडि बढाउन पर्यटक सेवा शुल्कबाट ठूलो टेवा पुगेको थियो। 

युवा वर्ग देशको मेरुदण्ड हो। युवा वर्गलाई सही बाटोमा डोर्‍याउनुपर्छ भन्ने भावनाबाट प्रेरित भएर २०४१ सालमा आदरणीय व्यक्तित्व ज्ञानबहादुर न्याइच्याईंको अध्यक्षतामा ९ सदस्यीय नगर खेलकुद समिति गठन भएको थियो। त्यतिबेला देशको कुनै पनि स्थानीय निकायहरूले खेलकुदको आवश्यकता र महत्त्वबारे सोचेकै थिएन। न त स्थानीय निकायको कुनै ऐन नियममा त्यससम्बन्धी उल्लेख नै थियो। तर तत्कालीन भक्तपुर नगर पञ्चायतमा उहाँकै नेतृत्वमा नगर खेलकुद समिति गठन भयो। खेल विकासको लागि आवश्यक भौतिक पूर्वाधारहरूको निर्माण, खेल सामग्रीको बन्दोबस्त, प्रतियोगिताहरूमा सहभागिता एवं नगर पञ्चायत आफैले नगर, जिल्ला, उपत्यका तथा राष्ट्रिय स्तरकै अन्तर नगर खेलकुद प्रतियोगिताहरूको आयोजना आदि सफलतापूर्वक सम्पन्न भयो। विभिन्न खेल प्रशिक्षणहरू सञ्चालन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादनको साथसाथै वर्षको उत्कृष्ट खेलाडी छनोट गरी पुरस्कृत गर्ने परम्पराको पनि विस्तार भयो। यो हामी सम्पूर्ण खेलाडी एवं खेलप्रेमीहरूको लागि गर्वको कुरा हो। 

आफ्नो जीवनभर नगर, जिल्ला र देशलाई नै अगाडि बढाउन आफ्नो क्षमता र दक्षताले भ्याएसम्मको योगदान गर्नुहुने स्मरणीय व्यक्तित्व ज्ञानबहादुर न्याइच्याईंबारे नयाँ पुस्तालाई पनि जानकारी दिने प्रमुख उद्देश्यसाथ यो प्रतियोगिताको आयोजना भएको हो। प्रतियोगिता पूर्ण सफल बनाउन संवद्ध सबै क्षेत्रबाट सहयोग मिल्ने आशा र विश्वाससाथ प्रमुख अतिथि एवं सम्पूर्ण सहभागी महानुभावहरूलाई पुनः एकपटक स्वागत गर्दै बिदा हुन्छु। 

(भलिबल प्रशिक्षण केन्द्रद्वारा आयोजित ज्ञानबहादुर न्याइच्याईं स्मृति अन्तरविद्यालय भलिबल प्रतियोगिताको शुक्रबार सम्पन्न उद्घाटन कार्यक्रममा व्यक्त मन्तव्य – सम्पादक)