September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

वडायक जातिसँग भरपर्दो ऐतिहासिक प्रमाण फेला पर्‍यो

राजेन्द्रप्रसाद पनेरु 

विभिन्न जनजातिले तराई क्षेत्रको आदिवासी भएको दाबी गर्दै आए पनि भरपर्दो प्रमाण जुटाउन नसकिरहेका बेला कञ्चनपुरको अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका रूपमा रहेको वडायक जातिसँग भरपर्दो ऐतिहासिक प्रमाण फेला परेका छन्।  

राना समुदायको वडायक जातिसँग डोटीका रैका राजा विक्रम शाहले प्रदान गरेका ३३३ वर्ष पुराना ताम्रपत्र फेला परेका छन्। वडायक जातिलाई शाके १५९९  

(वि सं १७३४) मा प्रदान गरिएको ताम्रपत्रमा कञ्चनपुरको देखतभुलीको पूरै भूभागमा नरोत्तम वडायकका परिवारलाई जग्गा दान दिइएको उल्लेख गरिएको छ।  

फेला परेका ताम्रपत्रमा डोटीका रैका राजा विक्रम शाहले जारी गरेका ताम्रपत्रमा विक्रम शाहका सन्ततिले नरोत्तम वडायकका सन्ततिलाई 'डाउलो' जग्गा कमाएर खान दिने कुरा उल्लेख गरिएको छ। ताम्रपत्र जारी गर्दा डोटीका तत्कालीन राजा विक्रम शाहको दरबारका भारदार शिवदास साउन, भीजा भण्डारी, राम देउवा, मथुरा बोगटी, भगिरथ विष्ट, मान सिं भाटी, सुकेसरी विष्ट र प्रताप साउनलाई ताम्रपत्रमा साक्षीका रूपमा राखिएको छ। पुरानो डोटी र भारतको कुमाउ, गढवाल क्षेत्रमा तत्कालीन समयमा प्रचलनमा रहेको  लिपिको प्रयोग ताम्रपत्र लेखनमा गरिएको छ। ताम्रपत्र डोटेली भाषामा कुँदिएको छ। प्राचीन समयमा जारी भएका ताम्रपत्रमध्ये दुईवटा झलारी–९ कि पशोदा वडायकसँग सुरक्षित रहेका छन्। 

उनीसँग रहेका तीनवटा ताम्रपत्र लक्ष्मीपुरका पद्दु रानाले (पधना) लगेर बेपत्ता बनाएको पशोदाले बताउनुभयो। पद्दु रानाले अनुसन्धानका लागि वषार्ंै पहिले आएका सुर्खेतका दुईजनालाई उक्त ताम्रपत्र फिर्ता गर्ने सर्तमा दिएको र हालसम्म ताम्रपत्र फिर्ता नभएको रानाको भनाइ रहेको छ। 

डोटी राज्यको समाप्तिपश्चात् पनि तत्कालीन गोर्खा राज्यको शासनकालमा यहाँको रैकवार बीचवा, बाइसे बीचवा सहितका पश्चिम हात्तीबोझा, ऐरीको भूभागमा वडायक परिवारको चौधराई चलेको वडायक जातिको अनुसन्धानमा क्रियाशील लालबहादुर वमले बताउनुभयो। वडायक जाति यहाँको पुरानो बसोबास भएको जाति भएको पुष्टि गर्ने सम्वत १८७७ का कागजातहरू शङ्करपुरको नन्द गाउँका बलराम वडायकसँग सुरक्षित रहेको उहाँले बताउनुभयो। सम्वत १८७७ मा एकजना भट्ट थर भएका व्यक्तिले बुझाएका कागजात र विभिन्न क्षेत्रबाट कर असुली गरी राज्यलाई बुझाएका कागजपत्रले समेत वडायक जाति यहाँको आदिवासी रहेको पुष्टि गर्ने आधार रहेको अनुसन्धानकर्ता वमले बताउनुभयो।  

तराई क्षेत्रको सुरक्षाका लागि डोटीका राजाले प्रदान गरेका पुराना हतियार, ढाल र तरबार यस जातिका घरघरमा हालसम्म सुरक्षित राखिएका छन्। तत्कालीन समयको डोटी राज्यको अधिनस्थ जोरायलको वडाखेतबाट बसाइँ सरी यहाँ आएपछि ठाउँकै नामबाट वडायक जातिमा परिणत भएको ६० वर्षीया पशोदा वडायकले बताउनुभयो। उहाँले भन्नुहुन्छ– केही हामीमध्येकै पहाडमा बसोबास गर्ने वडायकहरू बुढाऐर थर लेख्छन्। तराईमा झरेका परिवारहरूले राना थारू समुदायसँग वैवाहिक सम्बन्ध गाँस्न थालेपछि भेषभुषा, पहिरन र संस्कृति राना समुदायसँगै मिल्न गएको वडायक बुढापाकाले बताए।  भारतबाट बसाइँसराइ गरी आएका राना थारू समुदायसँगको सङ्गतले भाषा र संस्कृतिमा एकरूपता हुन गए पनि आफू उच्च खानदानको क्षेत्री जाति भएको वडायकहरूले दाबी गर्दै आएका छन्। पशोदाका अनुसार राना जातिको उच्च घरानाको मानिने बठ्ठा जातिसँगमात्रै वडायक जातिको विवाह हुने गरेको छ।  

तत्कालीन समयमा यस जातिको जमिनदारी कञ्चनपुरको पूर्वमा मोहना नदी र पश्चिममा महाकाली नदीसम्म रहेको रामभरोसा वडायक बताउनुहुन्छ। हाल यो जाति कञ्चनपुर र कैलालीमा बसोबास गर्दै आएको छ। आफ्नो खानदानलाई 'कुरी' भन्ने यो जातिको पुर्खा जोखो वडायकलाई देवताका रूपमा पुज्ने गर्दछन्। जोखो वडायक त्यति बेलाको बलियो र विद्वान् व्यक्ति भएका कारण उनकै अनुसरणमा वडायक जातिको परम्परा चल्दै आएको सीताराम वडायकले बताउनुभयो। परम्परागतकालमा राना जातिमध्येको बलियो जातिका रूपमा परिचित राव जातिसँग जमिनको विषयमा विवाद भई काटमार भएको हुँदा वडायक जातिले हालसम्म राव जातिसँगको वैवाहिक सम्बन्ध, खाना र पानी नचल्ने प्रथा कायम गरेको छ। 

वडायक जातिले तीर्थबाट ल्याइएका देवता पार्वती, दुर्गा, नागरही र भूमिराजलाई पनि पुज्ने गर्दछन्। वडायक बुढापाकाको भनाइअनुसार तत्कालीन डोटी राज्य लखनऊसम्म फैलिएको थियो। डोटीका राजा विक्रम शाहले ताम्रपत्र दिएको परिवारकी पशोदा वडायकका अनुसार उहाँका पुर्खाको जमिनदारी ककोरो खेरो, सुवापारा र चुकाढावोसम्म फैलिएको थियो। हाल यस क्षेत्रअन्तर्गतका भूभाग भारतमा रहेका छन्। पाहुनाको सत्कार गर्नमा सिपालु र मिहेनती वडायक जातिले शिक्षा र सरकारी सेवामा अझै प्रवेश पाउन सकेका छैनन्। कञ्चनपुर र कैलालीका विभिन्न भूभागमा बस्दै आएका वडायकहरू १० हजारभन्दा बढीको सङ्ख्यामा रहेको अनुमान गरिएको छ। यस जातिबारे विस्तृत रूपमा अनुसन्धान र सर्भेक्षण गरिएको छैन। कृषि र पशुपालनलाई मुख्य पेसा बनाएका वडायकहरूका महिलाले घरमै बनाएका विभिन्न बुट्टेदार लुगा लगाउँछन्। घँगरिया, सौचवाल आगरिया (सिसाका टुक्रा राखेर बनाइएको बुट्टेदार) चाँदीका पैसाले जडित टाउकोमा राख्ने उनिया वडायक महिलाहरूले पहिरनका रूपमा लगाउँदै आएको स्थानीय रामभरोसा वडायकले बताउनुभयो। 

गहनामा खुट्टामा पैंडा, पैचुडी, औंलामा विछिया, कम्वरमा पैसाको पौधनी, पाखुरामा चाँदीका बाला, पैसाको लगौरा, नाडीमा साम, खुडुवा, घाँटीमा पैसाको खुतुई, कठुला, चाँदीको हार, हारमाथि कण्ठु, शिर पैसाको घिच्चु, कानमा वीर, नाकमा नकवेर, निधारमा घुङ्गुट लगाउने गर्दछन्।  

पुरुषहरूले शरीरमा पैसावाला फतुही, तल कम्मरमा धोती, धोतीभित्र लगौट र शिरमा सेतो टोपी लगाउने गर्दछन्। यस जातिले हिन्दु धर्म मान्ने भएकाले मुख्य रूपमा तिहारु अषाढी, श्रीकृष्णजन्माष्टमी, चराई झिजी, भाद्रदेखि कात्तिकसम्म श्रावण तीज, दसैं, तिहार र होलीलाई मान्ने गर्दछन्। मुख्य पर्वका रूपमा वडायकहरूले होलीलाई मान्ने गर्दछन्।  

राना जातिभित्र रहेका बठ्ठा, रावत, उराव, वृतिम, महतौं, डहैत र गिरी जातमाथि वडायक जातिले समाजमा पञ्चायतको अध्यक्षता गर्ने, पानी हुक्का चलाउने र न्यायनिसाफ गर्ने प्रथा यद्यपि कायम रहेकाले यो जाति नै पुरानो जाति भएको आधार हुने स्थानीय रामकरन रानाको भनाइ छ। यस जातिसँग परम्परागतकालमा हात्तीसमेत पाल्ने गरेको प्रमाण रहेको चर्चा गर्दै अनुसन्धानकर्ता वमले जमिनदारीको रेखदेख गर्न उनीहरूले हात्तीमै चढेर जाने गर्दथे भन्नुभयो।  

चाडपर्वमा वडायकहरूले चावलबाट बनेको मिसौला, आलु र मसुरोको दालको मसालेदार रोटी जसलाई (कुथुवा), गहुँको पीठोबाट बनाइने सिमही, खजुरिया परिकार पाहुना र परिवारका लागि पस्कने गर्दछन्। अरू समयमा यस जातिका व्यक्तिहरूले मुख्य रूपमा भात, दाल, तरकारी (चखना) र मासु खाने गर्दछन्।