|
युगकविका अमर विचारले प्रेरित हामी
िडा. गोविन्दराज भट्टराई, प्राध्यापक (अङ्ग्रेजी), त्रिवि बरु बाँच युवक दुई घडीमात्र, चम्की उज्ज्वल पारी समस्त। यी पङ्क्तिहरू युगकवि सिद्धिचरण श्रेष्ठद्वारा आधा शताब्दीअघि रचिएका हुन्। त्यसबेला एकातिर राणाकालीन दमनचक्र चरम उत्कर्षमा पुगेको थियो भने अर्काेतिर प्रथम विश्वयुद्धपश्चात् विश्वव्यापी स्वतन्त्रताका लहरहरू उठेका थिए त्यसमाथि नब्बे सालको भूकम्पले गर्दा उथलपुथल मच्चाएको थियो, देशको हृदयमा पीडा, विद्रोह र आन्दोलन उम्लिंदै थियो। त्यसैबेला सम्पूर्ण मुक्ति र स्वतन्त्रताको आकाङ्क्षा राखेर अन्धकारविरुद्ध लड्ने केही नेपाली स्वप्नद्रष्टाहरू जन्मिए। सिद्धिचरण तीमध्ये एक हुन्। त्यसैबेला शारदाको जन्म हुनु एक ऐतिहासिक आरम्भ थियो। त्यही कालदेखि नै सिद्धिचरणले क्रान्तिको उद्घोष गर्न थाले। सिद्धिचरणको राष्ट्रिय जीवनमा अथवा उनका सिर्जनामा तीनवटा विशेषता छन्― देशप्रेम, साहित्यप्रेम र विद्रोहात्मकता। उनी नेपाली साहित्यमा स्वच्छन्दवादका अग्रणी हुन्। नेपाली साहित्यमा कलाको कुरा गर्दा सिद्धिचरणको स्वच्छन्दतावादी स्वरको सम्झना हुन्छ तर उनलाई अमर गराउने तत्त्व ता त्यो विद्रोही चेतना हो जुन त्यस अन्धकार युगको साहित्यमा प्रकट भयो। निरङ्कुशताका प्रतिरोधी भएकैले ९७ सालमा उनलाई लामो कारावास सजाय तोकियो। उनीमाथि मानवीय र दैवी विपत्ति थपिए। तर उनी झुकेनन्। त्यसकालका रचनामा कविको हृदय क्रान्तिको उद्घोष गर्दै विश्वकम्पित गराउने चेतना बोकेर जुर्मुराएको पाइन्छ। तर उनमा सदैव त्यही एक स्वरमात्र नभएर अन्य हाँसो रोदन पीडा र प्रेमले वशिभूत गराइएका क्षणमा पनि कविताहरू जन्मेका छन्। त्यहाँ छायाँवादी कलामा प्रकट प्रगतिशील ध्वनि पाइन्छन्। निरङ्कुशताविरुद्धको लडाइँमा अनेकौं यातना पीडा र हन्डर थिए। कठोरताको बन्धन थियो, तिनको बेवास्ता गर्दै उनले स्वतन्त्रताको निम्ति बलिदान गर्न निरन्तर आह्वान गरे जसले अनेकलाई प्रेरित गर्यो। त्यो एक सिङ्गै युगको पुनर्जागरण, पथप्रदर्शन र नवनिर्माणको निम्ति आह्वान थियो― खोल्नलाई जनको चाला, बोल्छु म डरको भाषा रोक्दछ भन्दैमा वैभव पथ, के म नलेखूँ अब कविता ! कवि अदम्य उत्साहले र आत्मविश्वासले भरिएका छन्, कुनै शक्तिले वशीभूत गराउन सक्तैन। वैभवको पथ अवरुद्ध होस्, कुनै पर्वाह छैन, 'जनको चाला खोल्न' उनको निडर कलम अघि सर्छ। सुुषुप्त जनचेतना जाग्रत गराउनेहरू भर्खरै फाँसीमा चढेका थिए। त्यसैबेला कविमा क्रान्तिकारी स्वर चर्किंदै गएको थियो। बोलिदे हे मेरो प्यारो हिमाल, विश्व थर्कोस्, चूर्ण होस् वास्ता नराख नासिने यो विश्वको गिन्ति छ के र ! उच्चताको स्वच्छताको स्रोत छोड उच्च र स्वच्छ हुँ भनेर सगौरव अडिएको हिमालयलाई कविले चिरनिद्रामा बेस्सरी झट्कार्छन्। फेरि अर्को हुङ्कार गर्छन्त्र― वाला दन्कोस दनदन यहाँ मृत्यु आई फुकेको पापाचारी यदि छ त यहाँ माथ नै ताक्छु त्यसको। यसरी कुर्लंदाकुर्लंदै कविलाई नियतिले दण्डित गरेको छ। अग्निपरीक्षा लिएको छ आफ्नै हृदयको स्पन्दन अतीव प्रिय पुत्रको प्राण लिएर अनि उनको कवि अझ उग्र र दुर्दमनीय भएर गर्ज्यो विश्वव्यथाको पीडा भएर― आज नखाऔं नसुतौं सब मिली हडताल मचाऔं कसरी चल्ला विधिको सृष्टि लौ त्यसको पाइन हेरौं। यो विधि (राणाकाल) को विरोधमा उर्लेको गर्जन थियो, चुनौती थियो। त्यसपछि अझ भीषण, बलीदानी सङ्घर्षको लागि उद्यत भएको कवि हृदय बोल्छ― ग सबै जन दूर म बाट या सब मिली मार मलाई नत्र कुनै दिन भैरव बन्दै नाच्छु म नरमुण्ड लगाई। यसरी उनी एक क्रान्तिकारी शक्ति थिए उनका त्यस्ता स्वरहरू कोपिला, बिम्बप्रतिबिम्बमा सङ्कलित छन्। फेरि उता उर्वशीमा पुग्दा उनै स्रष्टा संवेदनशील प्रणय कविको रूपमा असाध्यै नरम भएको पाउँछौं। 'उर्वशी' खण्डकाव्य महाभारतको एउटा कथालाई सूक्ष्माकारमा कुँदिएको सुन्दर मूर्ती हो। ९७ सालको त्रू्करताले 'उर्वशी' जन्मायो। यद्यपि कारागारमै रच्न थालिएको 'उर्वशी' २० वर्षपछि मात्रै जगत्मा आयो। उर्वशीमा पार्थिव सुख र आध्यात्मिक सुख या अतिन्द्रीय प्रेमको द्वन्द्व छ र अन्त्यमा गएर पहिलोले हार्छ, त्यही हार उर्वशीको हार हो अनि कविको पनि। अर्जुन भएर उनले बोले― स्वप्न पलाऊ स्वप्न पलाऊ, छरिता धार वहाई कल्मस मनको सब पन्छाऊ, मोहन ज्ञान चुडाई यस्तो चेतनाबाट सुरु गरेको जीवनयात्रा परिपक्व अवस्थामा पुग्दा कटु यथार्थले कविलाई अर्को भाषा बोल्न लगायो― विपुल नपाउनुले यस्तो डामेको संसारमा तिम्रो अर्जुनलाई नपाउनु होइन क्यै वात यहाँ तिम्रा ती प्रति कदम अगाडि छन् लाखन फेरि कदम सम्झी अब ता पाऊ उचाल छन् अझ विजय हजारन। यसरी सिद्धिचरण हरेक युगका लागि आशावादका प्रतीक हुन्, अनन्त प्रेरणाका स्रोत हुन्। उनलाई कुनै नैराश्यले वशिभूत गराएन। उनमा आशा छ, भविष्यप्रतिको निष्ठा छ र विश्वास संयम र धैर्य पनि। मानवता हो विस्तृत बन्नु हो, पशुता खुम्चिनु चाहिं देख्दा देख्दै शिखर उज्यालो किन म रुकूँ यो फेदीमा सिद्धिचरण श्रेष्ठको जीवन एउटा त्रिवेणी हो। अन्धकार युगमा गाएको मानव स्वतन्त्रताको गीत उनले निरङ्कुशताविरुद्धको लडाइँमा अर्पेको जीवन र कलिलो नेपाली साहित्यलाई दिएको गौरवमय उचाइ― एउटा जीवनमा त्योभन्दा बढी कति गर्नसकिन्छ र? उनका कोपिलामा र मेरो प्रतिबिम्बमा अत्यन्तै शक्तिशाली विद्रोह र आक्रोशका कविता छन्। उर्वशी (खण्डकाव्य) हो। कुहिरो र घाम (कवितासङ्ग्रह) मा उनलाई नेपाली साहित्यमा रोमान्टिक धाराका प्रवर्तकमध्येका एक भनिएको छ। उनका कृतिमा ज्यानमारा शैल, शवरी, मङ्गलमान, बाँचिरहेको आवाज, जूनकीरी, बालीवध, भीमसेन थापा हुन्। त्यस अतिरिक्त सिद्धिचरणका प्रतिनिधि कवितासङ्ग्रह, सिद्धिचरणका जेल संस्मरण आदि पर्दछन्। नेपाल भाषामा पनि सिस्वाँ, फुरवाँलगायतका कृति प्रकाशित छन्। उनका चुनिएका कविता माधवलाल कर्माचार्यको सुन्दर अनुवादमा एयझक दथ क्ष्ममजष्अजबचबल क्जचभकतजब शीर्षकमा प्रकाशित छन्। उनी राष्ट्रियताको भावनाले उठेका स्वतन्त्रताप्रेमी योद्धा र अत्यन्तै सरल भाषामा कविता रच्ने कवि हुन्। उनका कविता सबै जीवनवादी, आशावादी, सुधारको, उत्थानको मुक्तिको उद्देश्यले रचित छन्। उनको मृत्युपश्चात् प्रकाशित लघुकाव्य आँसुलाई यसरी चिनाइएको छ: प्रकृति र विद्रोहको स्वर सन्धान गर्ने कविले 'आँसु' काव्यमा विषादको गीत गाउन चाहेका छन्। समाजमा व्याप्त असमानता, कुरीति, गरीबी, शोषण, भ्रष्टता देखेर वा धर्म र न्यायका पाप र पुण्यले आवाद गरिरहेको देखेर कवि समयप्रति आक्रोश व्यक्त गर्छन् र त्यसको विरोधमा उठ्छन्। सामाजिक परिवेशमा कविले मानवतावादी स्वर उरालेका छन्। त्यसैगरी भीमसेन थापा एउटा राष्ट्रिय गाथा हो भने मङ्गलमान कृष्णचन्द्रसिंह प्रधानज्यूका शब्दमा एउटा मिथकीय चरित्रको जीवनगाथा हो। यसमा एउटा सामाजिक यथार्थ जातीय विवाद, केही परिवर्तनका चाहनाहरू, जन समाजमा देखिएको अलिकति प्रगति अनि देशसँग गरिएको बलात्कार र तिनको विरोधमा लाग्ने धेरथोर नारा पनि हुन् मङ्गलमान। आजको सामाजिक यथार्थता बदलिएर किनारिएकापट्टि लाग्ने समय छ। यतिखेरको राजनीति, साहित्य, सबै कुरा पिछडिएका, किनारिएका, मार्जिनलपट्टि फर्केको छ। धेरै अघिको स्थितिबोध गराउने एक अछूत नेतालाई मिथकीय पात्र बनाएर मङ्गलमान रचेका छन्। तर यथार्थ पनि हो।वर्तमानको आवाज त्यसमा प्रतिध्वनित छ। तर आज पनि मङ्गलमानको भोगाइ दोहोरिएकै छ: माछो–माछो भ्यागुत्तो भो यत्न भयो व्यर्थ देशमात्रै ठगिंदै गो लाखौं लाखौंपल्ट यो शताब्दी लामो निरङ्कुशताविरुद्धमा धेरै सर्जकहरू लडे, अझै लड्दै छन् तर जागृतिकालमा परेका सिद्धिचरणको पुस्ताले खपेको कष्ट आज केहीसँग तुलना हुनसक्तैन। उनको सम्झनामात्रले सम्पूर्ण साहित्यको शिर गौरवले ठाडो हुन्छ। जबजब यो राष्ट्रमा अधिनायकताको कालो बादल मडारिन्छ तब हामीलाई उनै सिद्धिचरणको सम्झना हुन्छ। क्रमशः अर्काे जेठ २ को अङ्कमा |