|
प्रदूषित पानी वितरण गर्ने काउखालि कर्मचारी खबरदार !
खानेपानीबारे धेरै लेखें तर सुधार छैन। पत्र तीतो भए माफ पाउँ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखालि) को पानीको कारण भक्तपुरमा हैजा, आउँ, झाडापखाला लाग्नेको सङ्ख्या बढेको छ। भक्तपुर नगरपालिकाले सञ्चालन गरेका जनस्वास्थ्य केन्द्रहरूमा पानीजन्य रोग लागेको 'केस' दर्ता बढेबाट यसलाई पुष्टि गर्नसकिन्छ। काउखालिको दूषित पानीको कारण कसैको ज्यान जान्छ भने त्यसको जिम्मेवारी जिम्मेवार पदधारण गर्ने व्यक्तिहरूले नै लिनुपर्छ। काउखालिको बाँसघारीस्थित पानी ट्याङ्कीमा पानीको उचित उपचार विधि अपनाइएको छैन। वैज्ञानिक तरिका नअपनाई पानी वितरण गर्ने जिम्मेवार कर्मचारीलाई जनताको सामु नउभ्याइएसम्म लापरबाही हुन्छ भने जनताले त्यही कदम चाल्नेछन्। अन्यथा जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने अधिकार कसैसँग छैन। खानेपानीका हाकिमले कहिल्यै खानेपानी मुहानको फोहरबारे ध्यान दिएका छैनन् भने र विषालु क्लोरिनको उचित मात्राको प्रयोगबारे अनुगमन गर्दैनन् भने कुर्सीमा बसिराख्ने कुनै अधिकार उनमा छैन। ढलको पाइप फुटेर खानेपानीको पाइपमा फोहर पानी मिसिएको घटना दोहोरिएको छ, पुराना पाइपहरू फेरिएका छैनन्, नभएको बिजुली खर्चेर घुम्ने मेचमा आरामपूर्वक निदाउने तपाईं हाकिमहरूको निम्ति हाम्रो प्रश्न छ – तपाईंलाई गैरजिम्मेवार र भ्रष्टको नाममा जनअदालतमा उभ्याउने कि नउभ्याउने? करिब दुई हप्ताअघि खाद्य तथा प्रविधि गुण नियन्त्रण विभागले भक्तपुरमा खानेपानी बिक्री गर्ने 'मिनरल वाटर उद्योग' हरूको पानी पनि गुणस्तर परीक्षणविना बिक्री गरेको भनेको थियो। खानेपानी लिमिटेडको 'खानेपानी' को गुणस्तर भने विभागले जाँचेन। सरकारको समेत जिम्मेवारी बोकिरहेको काउखालिको पानीको मुहान, पानी पोखरी, पानी उपचार प्रक्रिया, वितरणका पाइपहरूको अनुगमन गर्नुपर्ने थियो र जनतालाई प्रस्ट भन्नुपर्थ्यो कि काउखालिको पानी पिउन योग्य छैन। पिउन अयोग्य पानी वितरण गर्ने काउखालिलाई कारबाहीको प्रक्रियामा ल्याउनुपर्थ्यो। पानीका अन्य निजी कम्पनीहरूलाई गुणस्तर परीक्षण नगराएको पुष्टि गर्न हिंड्ने विभागले सरकारकै हिस्सा रहेको काउखालिको कठालो समत्नुपर्थ्यो। जनताको प्रश्न छ, काउखालिको पानीबारेको प्रतिवेदन नियमित सार्वजनिक गर्न किन पहल हुँदैन? जनताको स्वास्थ्यको चासो र जिम्मेवारी काउखालिको प्रथम छ, यो यथार्थ पनि हो। जनताको स्वास्थ्यसँग सम्बन्धित खानेपानी विषयमा भक्तपुरका जिम्मेवार सरकारी निकायहरू जिल्ला विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, नगरपालिकाहरू जिम्मेवारीबाट पन्छिन पाउँदैनन्। सबैलाई जनताको तर्फबाट खबरदारी छ ! – रास, भक्तपुर |