|
डा. केसीको मागको समर्थन गरौं !
राजनीतिक भागबण्डाबाट नभएर प्राध्यापक चिकित्सकमध्ये विशुद्ध वरिष्ठता या योग्यता, कार्यक्षमता, अनुभव र भिजनका आधारमा पारदर्शी र स्वच्छ प्रतिस्पर्धा गराएर डीनलगायत अन्य पदाधिकारीको तुरुन्त चयन गर्नुपर्ने र धाँधली, भ्रष्टाचार, अनियमितता र पदको दुरुपयोगमा मुछिएका र दोषी पाइएका संस्थानका डीनलगायत उच्च पदाधिकारीहरूलाई कारबाही हुनुपर्ने माग राखी त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसी सोमबारदेखि अनसनमा बस्ने खबर प्रकाशित भयो। योग्यता र क्षमताका आधारमा नभई शासक दलहरूले दलीय भागबण्डा गरी संवैधानिक निकायलगायत शिक्षा र स्वास्थ्य क्षेत्रमा आ–आफ्नो पार्टी नजिकका मानिसमात्र नियुक्ति गर्दा देशको शिक्षा क्षेत्र अस्तव्यस्त भएको छ, स्वास्थ्य क्षेत्र डावाडोल भएको छ। भागबण्डामा विवाद नमिल्दा विश्वविद्यालयहरूमा उपकुलपति, रेक्टर, रजिष्टार पदसमेत महिनौंसम्म रिक्त रहेको थियो। विश्वविद्यालयमा शैक्षिक सत्र समयमै सुरुवात हुन नसकेको मात्र होइन परीक्षासमेत समयमा नहुँदा शैक्षिक सत्रका अवधि लम्बिन गएको र कैयौं विद्यार्थीहरूको सुन्दर भविष्य नै चौपट हुन गएको थियो र छ। प्रा. डा. केसीको अनसन यदि उपर्युक्त माग पूरा गराउनका निम्ति हो भने त्यसमा सबै न्यायप्रेमी नेपालीले समर्थन गर्नुपर्छ। तर हाम्रो देशमा 'एक्लो वृहस्पति झूटा' बनाउने विडम्बनायुक्त प्रवृत्ति छ। राजनीतिक या दलीय भागबण्डाका आधारमा नियुक्ति गर्न या पदपूर्ति गर्न हुँदैन, ठेकापट्टा र बजेट बाँडफाँट गर्नु ठीक होइन भनी विरोध गर्ने नेपाल मजदुर किसान पार्टीका नेता–कार्यकर्तालाई बेवास्ता गरिएको र सुनुवाइ नगरिएको अवस्था थियो। नेमकिपाले त्यतिबेलै उठाएको आवाज अहिले चारैतिर उठ्न थालेको छ। यसले त्यस दलको दूरदर्शिता र सिद्धान्तनिष्ठता सही सिद्ध गरेको छ। देशको मुहार फेर्न चाहने हरेक परिवर्तनप्रेमी नेपाली जनताले अब शासक दलहरूको मनपरी र भागबण्डाको विरोधमा उठ्नु जरुरी छ। |