September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

नेतालाई थाहा छैन संविधान कस्तो बन्दै छ !

संविधानसभाको म्याद सकिन करिब दुई सातामात्र बाँकी छ। बोलाइएको संविधानसभाको बैठक दिनका दिन सूचना टाँसेर स्थगित भइरहेको कुरा जनतालाई थाहा नभएको होइन। यता ठूला चार दल रातदिन बसेर पनि सहमतिको बाटो निकाल्न सकिरहेका छैनन्। यिनीहरू सहमतिको बाटो निकाल्न पनि सक्दैनन्किनकि शीर्ष नेताहरूको बैठकमा भारतीय राजदूत जयन्तप्रसादको उपस्थिति हुँदैन। केही दिन अगाडि तीन ठूला शीर्ष नेताहरूलाई एकै ठाउँमा राखेर राजदूत जयन्तप्रसाद वैशाख २० गते पाँच बुँदे सहमति गराउन सफल भए। तर सहमतिअनुसार एमाले अध्यक्ष झलनाथ खनालले पार्टी केन्द्रीय समितिको बैठकमा आफ्नै नेता तथा कार्यकर्ताहरूलाई सन्तुष्टि हुनेगरी तर्क दिन सकेनन्। नेपाली काङ्ग्रेसले पनि जिम्मेवारी पालना गर्न सकेन। परिणामस्वरुप मन्त्री पदको सपथ ग्रहण गरेका मन्त्रीहरू जिम्मेवारी नपाएर देशको ढुकुटी त्यत्तिकै रित्याइरहेका छन्।
    नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउन केही दिन अगाडि राजदूत जयन्तप्रसाद दिल्ली पुगेर नेपाल फर्केका छन्। उनी नेपाल फर्किने बित्तिकै ठूला पार्टीका नेताहरूसँगको भेटघाट बाक्लो बनाएका छन्। अब यी नेताहरूलाई कुन दिन एकै ठाउँमा राखेर के विषयमा सहमति गराउलान् भन्ने सचेत नेपाली नागरिकलाई चासोको विषय बनेको छ। यिनीहरू शीर्ष नेता कहलिए तापनि यिनीहरूको रिमोट कन्ट्रोल दिल्ली दरबारमा छ। दिल्ली दरबारले जे भन्छ, यिनीहरू त्यहीं गर्छन्। यिनीहरू दिल्ली भक्त हो कि होइनन् भने कुरा स्पष्ट गरी राख्नु पर्दैन किनकि यिनीहरूको कार्यशैली र व्यवहारबाट नै स्पष्ट छ।
    नेपाली जनताको मनमा कौतुहल छाइरहेको होला, नयाँ संविधान कस्तो खालको आउला। हाम्रा यी 'ठूला नेता' हरूबाट त्यति ठूलो आशा नगरे हुन्छ किनकि यिनीहरू नेपाली जनताको भावनाभन्दा दिल्लीको भावनाअनुसार संविधान निर्माण गर्दैछन्। यिनीहरू स्वयम्लाई थाहा छैन होला कि संविधानको कुन धारामा के लेखिंदैछ। नयाँ बन्ने संविधानको प्रत्येक धारा उपधाराको विषयमा संविधानसभाको बैठकमा व्यापक छलफल हुनुपर्ने हो।
    नेताहरू सञ्चार माध्यममा जेठ १४ भित्र जसरी भए पनि संविधान घोषणा हुन्छ भने प्रतिक्रिया दिइरहेका छन्। नेताहरूको प्रतिक्रिया हेर्दा सचेत नेपाली जनताले शङ्का गर्न थालेका छन् कि नेपालको संविधान अन्त कतै त लेखिंदै छैन? अन्तिम घडीमा सबै नेताहरूलाई एकै ठाउँमा लाम लगाएर संविधान घोषणा गराउन नसक्ला भन्न सकिन्न किनकि शान्ति प्रक्रियाको नाउँमा भएको बार्‍ह बुँदे सम्झौता ताजा नै छ।
– सरोज, रौतहट