September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

विदेशी हस्तक्षेप अस्वीकार्य

संविधानसभाको आयु सकिने दिनगन्ती हुन थालेपछि मात्र देशका 'प्रमुख' या 'ठूला' दलहरू तातिएको जस्तो नाटक गर्न थाले। ती दलका नेताहरूले रातारात ५ बुँदे सहमति गरे। उक्त पाँच बुँदे सहमति गर्नुभन्दा अगाडिको शीर्ष नेताहरूको बठकमा भारतीय राजदूत जयन्तप्रसाद उपस्थित रहेको कुरा भोलिपल्ट खुल्यो। त्यसपछि तुरुन्तै नयाँदिल्ली पुगेर फर्केर राजदूत जयन्तप्रसाद नेपालका प्रमुख दलका शीर्ष र मुख्य नेताहरूसित भेटघाट गरिरहेको समाचार निरन्तर आउँदैछन्।
    नेपालको हरेक राजनीतिक सङ्क्रमणको क्षणमा भारतीय शासक वर्ग र सरकारको सक्रियता र चलखेल बढ्ने र अन्ततः भारतको अनुकूलतामा निर्णय गराउने गरेको यथार्थ हामीलाई स्मरणै छ। नेपाली जनताले राणा शासन जरैदेखि उखेलेर प्रजातन्त्रको सुत्रपात गर्न खोज्दा 'दिल्ली सम्झौता' मा लगेर नेपाललाई अल्झाएको थियो। ०४६ सालको जनआन्दोलन उर्लिरहेको बखतमा पनि भारतीय राजनीतिज्ञ र कूटनीतिक व्यक्तिहरूको चलखेल र हस्तक्षेप कम्ती थिएन। तिनीहरू त्यतिबेला नेपाली कम्युनिष्टहरू नयाँ जनवादी क्रान्तिसम्म पुग्लान् भनी चिन्तित थिए।
    दसवर्षे माओवादी जनयुद्ध र ०६२/०६३ को जनआन्दोलन र त्यसपछिको दिनमा भारतीय राजनीतिज्ञ, कूटनीतिक व्यक्तिहरू र गुप्तचरहरूको चलखेल देख्दा देशभक्त नेपाली जनताको मनमा पहिरो गएकै थियो। भारतले पहिला राजतन्त्र जोगाउन खोजेको थियो र पछि आफ्नो लाइन चेञ्ज गर्‍यो। उनीहरूले जनतामाझ अलोकप्रिय बनेको राजतन्त्रको पुरानो घोडालाई बली चढाएर 'नयाँ घोडाहरू' लाई प्रयोग गर्ने सोचे।
    अहिले नेपालमा शासकीय स्वरुपपछि राज्य पुनर्संरचनाको विवाद हुँदैछ। भारत अहिले यो विवादलाई थप जटिल बनाएर पछि भारतको हित अनुकूलको राज्य पुनर्संरचना प्रस्ताव ल्याउन दिने चलखेलमा छ भन्दा फरक नपर्ला। एक मधेस प्रदेश र जातीय आधारमा राज्य पुनर्संरचनामा भारतीय शासकहरूको 'ग्रीन सिग्नल' छ। एउटा छिमेकी र मित्रले छिमेकीको घरमा लागेको आगो निभाउन मद्दत गर्छ आगो बढाउने काम गर्दैन। सदाशयताको आवरणमा भारतीय राजदूत र कूटनीतिज्ञहरू हस्तक्षेपको स्तरमा ओर्लिसकेका छन्। ठूला दलका नेताहरू देशको हितको बुँदामा सहमतिमा पुग्न नसक्नुमा भारतीय र अरु विदेशी हस्तक्षेप या दबाब भएको तथ्य खुल्दैछ।
    संविधान नेपाली जनताको निम्ति हो। त्यसैले नेपाली जनताको हितमा र भावनाअनुसारको बन्नुपर्छ विदेशी स्वार्थ अनुकूलको होइन। तसर्थ विदेशी हस्तक्षेप अस्वीकार्य र असह्य छ। विदेशीको इसारामा चलेका नेताहरू खबरदार !