September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

खानेपानीको आपूर्ति हुनुपर्‍यो

प्रत्येक वर्षझैं यस वर्ष पनि खानेपानीको हाहाकार भयो। हिउँद समयको थालनीसँगै वर्षा कम हुँदै गएपछि खानेपानीको समस्या हुन गएको हो। खानेपानीको समस्या विशेषगरी फागुनदेखि जेठ मसान्तसम्म भएको देखिन्छ। खानेपानीको समस्या भए पनि न त आपूर्ति मन्त्रालयको ध्यान गएको छ न त खानेपानी संस्थानकै। 

खानेपानीको हाहाकार भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले टोल–टोल र गाउँ–गाउँमा खानेपानी वितरण गर्नुपर्ने हो। खानेपानी आपूर्ति गरेर जनतालाई राहत दिनुपर्ने हो। खानेपानी संस्थान एकातिर हाहाकार भए पनि खानेपानी आपूर्ति गर्दैन भने अर्काेतिर उपलब्ध खानेपानीलाई जति शुद्धीकरण गर्नुपर्ने हो त्यो भइरहेको छैन। पानी शुद्धीकरण नहुँदा पेटसम्बन्धी विभिन्न रोगहरू लागेको हुन्छ। यसकारण शुद्ध खानेपानी खान पाउने बन्दोबस्त भएमा सर्वसाधारण जनता धेरै रोग हुनबाट मुक्त हुनेछन्। 

प्रत्येक वर्ष हिउँद समयको थालनीसँगै सरकार र खानेपानी संस्थानलाई खानेपानीको समस्या हुन्छ भन्ने कुरा राम्ररी थाहा छ। प्रत्येक वर्ष हुँदै आएको खानेपानी समस्या आपूर्ति गर्ने विकल्प किन खोज्दैन? खानेपानीको स्रोत कहाँ कहाँ छन् अध्ययन अनुसन्धानमात्रै सके उत्खनन गर्नु जरुरी छ। खानेपानीको स्रोत या मुहान भएको ठाउँमा सरकारले उचित मूल्य दिई जग्गा अधिग्रहण गर्नुपर्छ र खानेपानी वितरण गर्नुपर्छ। नगरकोटबाट आपूर्ति भइरहेको खानेपानीको पोखरी उहिल्यै बनेको हो, त्यो पोखरीको पानी अहिले अपर्याप्त छ। हालको पानी सञ्चय गर्नेतर्फ पनि हाम्रो ध्यान जानुपर्छ। 

त्यसको लागि उपयुक्त जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ। जग्गा अधिग्रहण गरेर ठूलो पोखरी बनाउनसके खानेपानी हाहाकारको समस्या समाधानमा थप टेवा पुग्नेछ। यी विकल्पहरू तयार नभएसम्म खानेपानी संस्थानले खानेपानी हाहाकार हुने समयमा टोल–टोलमा खानेपानी वितरण हुनु आवश्यक छ। उपभोक्ताहरू पानी आए पनि नआए पनि शुल्क तिर्न बाध्य छ। खानेपानी सेवा शुल्क प्रत्येक महिना तिरिहनुपर्ने तर खानेपानी ६ महिना पनि आउँदैन। यसको समाधान टोल–टोलमा खानेपानी वितरण नै हो। खानेपानी वितरण कार्य चाँडै गरियोस्। 

– शुभकामना श्रेष्ठ 

भक्तपुर