काल्पनिक समाजवादी रोवर्ट ओवेन
काल्पनिक समाजवादका एक महान् संस्थापक रोवर्ट ओवेन हुनुहुन्छ। उहाँको जन्म १७७१ मा बेलायतको न्युटाउन भन्ने गाउँमा भएको थियो। न्युटाउन उत्तरी वेल्सको भोंटगोमेरिसायरमा पर्दछ। उहाँका बुबा घोडाको काठी र फलामका व्यापारी हुनुहुन्थ्यो। ९ वर्षको उमेरमा रोवर्ट ओवेनले गाउँकै स्कूलमा पढाइ–लेखाइ सुरु गर्नुभयो। १० वर्षको उमेरमा उहाँ स्टान्डफोर्ड भन्ने ठाउँमा ४ वर्षसम्म लुगा बेच्ने पसलमा काम गर्नुभयो। त्यही पसलमा काम गर्दागर्दै उहाँले व्यापारको राम्रो अनुभव हासिल गर्नुभयो।
त्यही अनुभवको आधारमा उहाँले फेरि लण्डन र म्यानचेष्टरमा गएर व्यापारको काम सुरु गर्नुभयो। लण्डन बेलायतको राजधानी हो र म्यानचेष्टर बेलायतको सबभन्दा ठूलो औद्योगिक क्षेत्र र सहर हो। म्यानचेष्टरमा उहाँले छिट्टै प्रगति गर्नुभयो।
रोवर्ट ओवेन सार्है मेहनती र फूर्तिला युवक हुनुहुन्थ्यो। त्यसबेला उहाँ भर्खर १९ वर्षका जवान हुनुहुन्थ्यो। मेहनती र काम गर्नमा सिपालु हुनुभएकोले नै १९ वर्षको उमेरमा उहाँ एक कपास कारखानाका मेनेजर (प्रबन्धक) बनाइनुभयो। त्यसबेला त्यस कारखानामा ५ सय जवान मजदुरहरू काम गर्थे। कारखानाको उन्नतिले उहाँमा भएको गजबको प्रशासनिक योग्यतालाई देखाइदियो। उहाँमा काम गर्ने ठूलो दृढता थियो। जे काम पनि उहाँ मन लगाएर गर्नुहुन्थ्यो। उहाँको सफल प्रबन्ध र बन्दोबस्तले गर्दा त्यो कारखाना त्यसबेला बेलायतका नाउँ चलेका अरु कारखानाकै तहमा पुग्यो। कारखानामा उहाँले परोपकारी सिद्धान्तलाई व्यवहारिक रुप दिन थाल्नुभयो।
त्यस कारखानामा ओवेनले सबभन्दा पहिले अमेरिकी समुद्री टापुहरूबाट आउने कपासको प्रयोग गर्नुभयो। उहाँले त्यसका थैलाहरू बनाउने कामदेखि थाल्नुभयो। दक्षिण अमेरिकाबाट आउने कपासको प्रयोग गर्ने बेलायती कारखानामा उहाँकै कारखाना पहिले थियो। उहाँले धागोको बुनाइएमा नयाँ प्रयोग र प्रगति गरेर देखाउनुभयो। यसरी उहाँ त्यस कारखानाका सफल मेनेजर बन्नुभएको थियो। त्यहाँ काम गर्दागर्दै उहाँ म्यानचेष्टरको चार्लटन द्विष्ट कम्पनीका एक हिस्सेदार पनि बन्नुभयो।
रोवर्ट ओवेन अब २९ वर्षका प्रौढ हुनुभयो। कामकै सिलसिलामा उहाँ ग्लाक्सो पुग्नुभयो। ग्लाक्सो उत्तरी बेलायतको एक महत्त्वपूर्ण औद्योगिक व्यापारिक केन्द्र हो। म्यानचेष्टरको कपास कारखानाको सफलताले न्युलेनार्कका एक कारखाना मालिक श्री डालिसँग उहाँको सम्बन्ध भयो। न्युलेनार्क बेलायतको उत्तरी भागको स्कटल्याण्डको एक सहर हो। त्यसकै नजिकै एउटा कपास कारखाना थियो। त्यस कारखानालाई १७८४ मा श्री डालि र आर्कराइटले स्थापना गरेका थिए। श्री डालिसँगको उहाँको सम्बन्धले डालिकी छोरीसँग पनि परिचय भयो। त्यो परिचय र सम्बन्ध प्रेममा विकास भयो। सन् १८०० मा ओवेन पनि डालिको कारखानाका हिस्सेदार हुनुभयो।
डालिको त्यो कारखाना पानीको घट्टले चल्थ्यो र बडो आकर्षक थियो। त्यो कारखाना हेर्न लायकको थियो। मजदुर र अरु प्रबन्धकहरूसमेत गरेर २ हजार मानिसहरू त्यस कारखानासँग सम्बन्धित थिए। त्यसमध्ये ५ सयजना त ५–६ वर्षका केटाकेटी नै थिए। त्यहाँ डालिले एक अनाथलय पनि खोलेका थिए। तर त्यहाँ केटाकेटीहरूको अवस्था सन्तोषजनक थिएन।
कारखानामा पतित, चोर, जड्याहा र अरु खराब लतमा लागेका मानिसहरू थुपै्र थिए। सुग्घर–सफाइको नाउँ पनि थिएन। परिवारका सबै सदस्य एउटै कोठामा सुत्थे। शिक्षाको कुनै बन्दोबस्त थिएन। त्यस्तो परिस्थितिमा उहाँले १ जनवरी १८०० मा न्युलेनार्कको त्यस कारखानाको सञ्चालन आफ्नो हातमा लिनुभयो।
कारखानाका ती सबै खराबीहरू देखेर ओवेन व्यथित हुनुभयो, आकुल–ब्याकुल हुनुभयो। तर उहाँ एक सफल प्रबन्धक हुनुभएकोले धैर्यपूर्वक स्थितिलाई सम्हाल्ने आँट छोड्नुभएन। उहाँको फूर्तिलो र दृढ स्वभाव, मेहनत गर्ने र काममा लागिरहने गुणले गर्दा ती खराबीहरू हटाउन कम्मर कस्नुभयो। परेको मूल्यभन्दा अलिकतिमात्र बढी पैसा लिएर बेच्ने एक सस्तो वा सुपथ पसल कारखानाभित्रै खोल्न लगाउनुभयो। त्यहाँ बजारमा कसैले मिसावट भएका र नक्कली सामान बेच्न र बढी मोल लिन पाइन्थ्यो। त्यस सुपथ मूल्यको पसलमा रक्सी पनि पाइन्नथ्यो। तर रक्सी मात्राभन्दा बढी किन्न र बेच्न पाइँदैनथ्यो।
उहाँले केटाकेटीको शिक्षा–दिक्षाको प्रबन्धमा विशेष ध्यान दिनुभयो। त्यसमा उहाँले विशेष सफलता पनि हासिल गर्नुभयो। त्यस स्कूलमा स्वतन्त्र शिक्षा प्रणाली लागू गर्नुभयो। त्यस शिक्षा प्रणालीमा शिक्षा के कस्तो हुनुपर्छ भन्ने उहाँको आफ्नो विचार लागू गर्नुभयो। यस अर्थमा उहाँ बेलायतमा परोपकारको स्कूल खोल्ने पहिलो संस्थापक हुनुहुन्थ्यो। पछि उहाँको त्यो शिक्षा प्रणाली युरोपेली महादेशका सबै भागमा प्रचार भयो।
पहिले त आफ्नो प्रयोगमा ओवेन आफैलाई पनि त्यत्ति विश्वास थिएन। तर प्रयोगमा उहाँले पर्याप्त सफलता पाउनुभयो। कारखानामा सफलतापूर्वक चली नै रहेको थियो।
उहाँको परोपकारी काममा भने कारखानाको कोषबाट केही रकम त जरुरै खर्च हुन्थ्यो। कारखानाका केही हिस्सेदारहरू चाहिं त्यसलाई अनावश्यक खर्च सम्झन्थे र त्यस खर्चबाट सन्तुष्ट थिएनन्। तिनीहरू अनाथ केटाकेटी, परोपकार र शिक्षासँग केही मतलब राख्दैनथे। तिनीहरू आफ्नो व्यापार र नाफाको मात्रै वास्ता राख्थे। तिनीहरूले परोपकारमा बढी पैसा खर्च गर्न नसकिने जुक्तिहरू गर्न थाले। तिनीहरूको त्यो दबाब ओवेनले मन पराउनुभएन।
यसकारण १८१३ मा ओवेनले एक अर्को व्यापारिक संस्था खोल्नुभयो। उहाँले त्यस संस्थानको पूँजीलाई ५ प्रतिशतमात्र ब्याज दिने बन्दोबस्त मिलाउनुभयो। त्यस संस्थामा जेमेरी–बेस्न्थन र एक नाउँ चलेको व्यक्ति क्वान्कर विलियम–आलेन पनि हिस्सेदार थिए।
बाँकी ३ जेठको अङ्कमा
|