जातिवादी नेता बन
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल कम्युनिष्ट होइनन् जातीय द्वन्द्व निम्त्याउने योजनाकार हुन् भन्दा अब कसैको पेट दुखाइको विषय बन्ने छैन। यो आशङ्का विरोधको लागि विरोध गर्न गरिएको होइन।
जातीय आन्दोलनको विरोधमा उत्रने आन्दोलित जनताविरुद्ध प्रतिकार गर्न अरु जातिलाई निर्देशन दिने व्यक्ति जातीय द्वन्द्व निम्त्याउने योजनाकार नभए अरु के? जातीय द्वन्द्व चर्काएर देशलाई रसातलमा पुर्याउने कुनै नेता कहिल्यै कम्युनिष्ट हुनसक्दैन। अरुलाई भड्काउन, उक्साउने र द्वन्द्व चर्काउने माओवादी अध्यक्ष दाहाल कसरी कम्युनिष्ट हुनसक्छ?
एमाओवादीले मार्क्सवाद, लेनिनवाद नमाने पनि माओ विचारधारा त मान्नैपर्ने हो। माओ विचारधारा मान्ने एमाओवादीले प्रतिगामीले झैं जातिजातिबीच द्वेष फैलाउन किन प्रतिकार गर्न निर्देशन दिएको हो? आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई जातीय राजनीतिविरुद्ध लागेका विरुद्ध निर्देशन दिन नसक्ने अध्यक्ष दाहालले एउटा जनजातिलाई उचालेर अर्काे जनजातिसित किन जुधाउने षड्यन्त्र गरेका हुन्? एउटा जाति समुदायले गर्न नसक्ने या नगरेको काम गर्न अर्हाउने, हौसला दिने अध्यक्ष दाहाल जातिवादी नेता हुन् कि कम्युनिष्ट नेता? जातिवादी राजनीति नै गर्ने हो भने एमाओवादीले पार्टी निर्णय गरेरै कम्युनिष्ट विचार त्यागेको घोषणा गरे हुँदैन? अध्यक्ष दाहालले ब्राह्मण समुदायको नेतृत्व गरे हुन्न र !
जातिवादी राजनीति गर्ने कुनै नेतालाई जातिवादी नेता बन्न सुहाउँछ, कम्युनिष्ट नेता बन्न सुहाउँदैन। कि कम्युनिष्ट सिद्धान्त छोड, जातिवादी नेता बन्न र जातिवादी राजनीति गर। कि कम्युनिष्ट बन्न, कम्युनिष्ट सिद्धान्तअनुसार अघि बढ र जातिवादी राजनीति छोड।
'जनयुद्ध' को स्वाद चाखिसकेको, 'जनयुद्ध' गरेरै सरकारको नेतृत्व गर्न पुगेको एमाओवादीलाई कसरी सुहायो जातीय राजनीति ! जनयुद्धपछि सुरु भएको जातीय राजनीति एमाओवादीको सङ्गठन विस्तार गर्ने अर्काे मेसो बन्यो। जातीय राजनीतिले एमाओवादी ठूलो दल त भयो, सरकारमा पनि गयो। तर ठूलो दलको उपलब्धि जातीय हिंसा निम्त्याउनु होइन, जातिजातिबीच द्वन्द्व निम्त्याउनु होइन, द्वन्द्व निम्त्याएर वर्गसङ्घर्षको भावनालाई कमजोर पार्ने र देश विभाजनको पूर्वाधार तयार गर्ने होइन।
– शुभकामना श्रेष्ठ
|