September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

अध्यक्ष दाहाल देश विभाजनका प्रणेता नबनून् !

 िविगोल 

कम्युनिष्टहरू क्रान्तिकारी हुन्छन्, हुनुपर्छ। कम्युनिष्टको सिद्धान्त विचार छोड्नेहरू कम्युनिष्ट हुनसक्दैनन्। जनताको मन जित्न, जनताको विश्वास पाउन पूँजीवादी राजनीति गर्नेहरू कम्युनिष्ट हुनसक्दैनन्। कम्युनिष्टहरू बहुमत अर्थात् शोषितपीडित जनताको पक्ष लिन्छन्। श्रमजीवी वर्गको हितमा राजनीति गर्नु कम्युनिष्टहरूको कर्तव्य हो। त्यो कर्तव्यबाट कम्युनिष्टहरू कहिल्यै विचलित हुँदैनन्। तिनीहरू नेपाल र नेपालीको हितभन्दा विदेश र विदेशीको हित हेर्दैनन्। कम्युनिष्टहरू देशभक्त र अन्तर्राष्ट्रवादी हुन्छन्। कम्युनिष्टहरू विस्तारवाद र साम्राज्यवादको अगाडि घुँडा टेक्दैनन् न त पूँजीवादी राजनीति नै गर्छन्। यदि कुनै कम्युनिष्ट पार्टीले कम्युनिष्टको सिद्धान्त र विचार छोड्छ या दलगत स्वार्थको निम्ति शत्रुसामु आत्मसमर्पण गर्छ भने आफ्नो पार्टीभित्र होस् या अरु कुनै कम्युनिष्टले विरोध गर्नैपर्छ, खोटो विचारको खण्डन गर्नैपर्छ। पटकपटक विरोध गर्दा पनि सच्चिंदैन, कम्युनिष्ट पार्टीकै बद्नाम हुने काम गर्छ भने विरोधमात्र होइन पार्टी अलग हुनुपर्छ, पार्टी फुटाउनुपर्छ। वैद्य पक्षले यसमा हेक्का राख्नैपर्छ। मार्क्सले भन्नुभएको थियो – पार्टीहरूविना विकास हुन्न अलग नभई प्रगति हुन्न। 

एमाओवादी संस्थापन पक्षले 'क्रान्तिकारी धार' छोडेको असन्तुष्ट पक्षको दाबी हो। एमाओवादीको असन्तुष्ट वैद्य पक्षको संस्थापन पक्षलाई क्रान्तिकारी विचार छोडेका, शत्रुसामु आत्मसमर्पण गरेको दाबी अहिले पनि छोडेको छैन। एमाओवादीको दाहाल पक्षले क्रान्तिकारी विचार त्यागेको हो भने ऊसँग वैद्य पक्ष मिलेर बस्नु ठीक होइन। राजनीति कुनै जात र कार्यकर्तालाई खुसी पार्न गर्ने होइन। राजनीति भए नभएका माओवादी लडाकूको विवरण देखाएर पार्टी धनी बन्न होइन। राजनीति आफ्नै स्वदेशका नेतासँग वार्ता नगरी 'विदेशी प्रभु' सँगै गर्नु जाती भनेर कसैलाई धम्काउन गर्ने होइन। देशका नेतासँग वार्ता गर्नुभन्दा विदेशी प्रभुसँग वार्ता गर्न अत्युत्तम ठान्ने नेता कसरी देशभक्त हुन्छन्? नेपाल र नेपाली जनताभन्दा विदेश र विदेशी ठूलो ठान्ने नेताहरू कसरी कम्युनिष्ट हुन्छन्? राजनीति भावावेशमा मनपरी बोल्ने होइन। राजनीति सबैलाई ठिक्क पारेर गर्व गर्न गर्ने होइन। कहिले जातीय राजनीति नगर्ने वाचा गर्ने त कहिले जातीय राज्यको विरोधमा आन्दोलनमा उत्रेका जनतासँग प्रतिकार गर भनेर फुक्ने होइन। 

वैद्य पक्षले दाहाल पक्षलाई भ्रष्टाचारको आरोप लगायो। हुँदै नभएको माओवादी लडाकू देखाएर आर्जेको रकम पार्टीले सरकारलाई फर्काएको छैन। यसले एमाओवादी असल पार्टी होइन भन्ने थाहा हुन्छ। त्यसो त वैद्य र दाहालको पार्टी एउटै हो। तर पनि पार्टीभित्र देखिएको विवाद मिलेको छैन। पार्टीभित्रको गलत विचार, गलत ठम्याइँलाई असन्तुष्ट पक्षले मन्त्रीको भागबण्डासँग सौदाबाजी गर्नु ठीक होइन। सिद्धान्त र विचारलाई कुनै पदसँग तौल्नु वैद्य पक्षलाई सुहाउँदैन। गलत विचार नसच्याइएसम्म पार्टीमा भाग नलिने वैद्य पक्षको चुनौती संस्थापन पक्षको निम्ति हाँक त हो नै। तर हाँकमात्र दिएर समस्या समाधान सजिलै हुन्छ या गलत विचार सच्याइन्छ भन्ने होइन। विचारमै खोटपूर्ण रह्यो, कम्युनिष्ट सिद्धान्त नै छोडेको हो। नेपालको कम्युनिष्ट पार्टीको बद्नाम गर्ने, सिद्धान्तलाई तोडमरोड गर्ने दलविरुद्ध पार्टीभित्रको असन्तुष्ट पक्षमात्र होइन अरु कम्युनिष्ट पार्टीहरू पनि लाग्नुपर्छ, तिनीहरूलाई जनतामाझ उदाङ्ग्याउँदै जानुपर्छ। 

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पार्टीका असन्तुष्ट नेताहरूप्रति सङ्केत गर्दै एउटा कार्यक्रममा भनेका थिए – पार्टी फुट्दै जुट्दै, बिगार्दै सपार्दै यहाँसम्म आयो र एमाओवाद ी ठूलो दल बन्यो। अध्यक्ष दाहालको यो भनाइले नेपाललाई टुक्रा गर्दै, जोड्दै नयाँ नेपाल बनाउन जातीय राजनीतिलाई बढावा दिएको त होइन भन्ने आशङ्का उब्जाएको छ। के दाहालले देश टुक्राएर नयाँ नेपाल बनाउन श्रीगणेश गरेका हुन्? नेपाल टुक्रा टुक्रा भएपछि फेरि जोडेर बनाउँदा त्यो नयाँ नेपाल हुन्छ? निर्वाचन नहुँदै राष्ट्रपति बन्ने सपना बोकेका र चुनाव प्रचारमा लागेका अध्यक्ष दाहाल जातीय हिंसाको विष छरेर देश टुक्राउने प्रणेता बन्न चाहेका हुन्? के दाहाल देश टुक्राउने योजनाकार बन्न लागेका हुन्? प्रत्यक्ष या अप्रत्यक्ष रुपमा देश टुक्राउन दाहालले भूमिका निर्वाह गर्दैछ भने वैद्य पक्ष त्यसको विरोधमात्र होइन अलग हुनैपर्छ। अनि वैद्य पक्षले आत्मनिर्णयसहितको सङ्घीय राज्य बनाउने नीति छोड्नैपर्छ। क्रान्तिकारीको नाउँमा सेनामा समूहगत प्रवेशको नीति त्याग्नैपर्छ। एमाओवादीले 'प्रचण्ड पथ' छोड्नैपर्छ। माओवाद होइन माओ त्सेतुङ विचारधारा अङ्गीकार गर्नैपर्छ। 

कम्युनिष्ट पार्टीको उद्देश्य ठूलो दल बनेर सरकारमा जानु होइन। कम्युनिष्ट पार्टी आफ्नो दलका नेता र कार्यकर्ता पोस्न होइन। कम्युनिष्ट पार्टी वर्गीय दृष्टिकोणका साथ अघि बढ्छ। वर्गीय दृष्टिकोण स्वीकार्नु भनेको शोषक, सामन्त, जालीफटाहाको हित र सेवा गर्नु होइन। कम्युनिष्टले जातीय राजनीतिमा बढावा दिएर, जातीय राजनीतिको आगो सल्काएर जाति जातिबीच द्वन्द्व निम्त्याउँदैन, जातिजातिबीच द्वन्द्व निम्त्याएर जातीय हिंसाको राजनीति प्रारम्भ गर्दैन। कुनै नेताले कुकर्म गरेर होइन सुकर्म गरेर नाम राख्नुपर्छ। बहुमत जनताको हितमा काम गरेर देशमा चिनाउनुपर्छ र अन्तर्राष्ट्रिय जगतमा चिनाउनुपर्छ। 

अहिले जातीय राजनीतिको आगो सल्किरहेको छ। सल्केको आगोले बम विस्फोट गरायो, केही मरे, गोली चल्यो, केही घाइते भए। अहिले जातिजातिबीच द्वन्द्व गराउन र बढाउन माओवादी अध्यक्ष दाहालले जातीय राज्यविरुद्ध आन्दोलन थाल्ने प्रदर्शनकारीहरूको विरोधमा प्रतिकार गर्न उद्घोष गरिसकेका छन्। उनको उद्घोष सुनेर आफूलाई आदिवासी र जनजातिका नेताहरू भन्न रुचाउने केही व्यक्तिहरूले गर्व गरेका छन्, जातीय राज्यको निम्ति आमहड्ताल गर्ने ध्वाङ्ग फुकेका छन्। त्यही जातीय राजनीतिकै कारण हप्तादिनदेखि कहीं नै कहीं बन्द, हड्ताल र विरोध प्रदर्शन भइरहेका छन्। अब अखण्ड सुदूरपच्छिम, अखण्ड मध्य पच्छिम हुँदै अखण्ड पूर्वको मागसहित आन्दोलन गर्न तम्सेका छन्। आ–आफ्नो जिल्लामा राजधानी घोषणाको माग गर्दै जिल्लावासीहरू आन्दोलनमा उत्रेका छन्। अब जातीयतासम्बन्धी आन्दोलन रोकिने स्थिति छैन। यो आन्दोलन नयाँ संविधान बन्नुभन्दा अघिमात्र होइन संविधान बनिसकेपछि पनि भइरहनेमा शङ्का छैन। 

नागरिक समाजले जातिजातिबीच द्वन्द्व गराउन उक्साउने र उद्घोष गर्ने माओवादी अध्यक्षलाई हिंसा भड्काउने नेताको उपाधी दिएको छ। जातिजातिबीच हिंसा भड्केर हुने कुनै पनि क्षतिको सजायभागी अध्यक्ष दाहाल हुनेछन्। कसैले उक्साउँदैमा भड्काउँदैमा पछि दगुर्ने जातिभन्दा जातिवादीहरू किन पछिको सोच्दैनन्? जातीय राज्य गठन हुँदैमा त्यो जातिको हित हुने होइन।  अति जातिवादीहरू जातीय राज्य नै किन सबथोक ठान्छन्? आफ्नो जातीय राज्यमात्र गठन भए अरु जातिको मतलबै नराख्ने जातिवादीहरू किन जातीय राज्यलाई जोड दिन्छन्? यसकारण जातीय राज्यलाई बढावा दिने, उक्साउने, जातीय राज्य नभए देश विभाजन गर्ने आमहड्ताल गर्ने जातिवादीहरू जातिजातिबीच हिंसा निम्त्याउँदै छन्। अतः जातीय राजनीति गर्ने दल र समूहले तत्काल जातीय राजनीति त्याग्नुपर्छ, जातीय राज्यको माग छोड्नुपर्छ। सङ्घीय राज्य प्राकृतिक स्रोत र साधनको आधारमा हुनुपर्छ। प्रदेश थपघट गर्नसकिन्छ। तर भूगोल, प्राकृतिक स्रोत र साधनको आधारमा सङ्घीय राज्य गठन गरिनुपर्छ। यसैमा देश र देशवासीको कल्याण हुनेछ।