|
गाउँको फटाहा प्रचण्ड
एउटा गाउँमा दुईजना श्रीमान् श्रीमती असाध्यै मिलेर बसेका रहेछन्। उनीहरूको मेलमिलाप देखेर गाउँलेहरू छक्क पर्थे। उनको गाउँमा प्रशंसा हुन्थ्यो। श्रीमान् श्रीमती हुन् त फलानोजस्तो भनेर। गाउँमा उनीहरू नमुना श्रीमान् श्रीमतीको रुपमा रहेका थिए। उनीहरू मिलेर बसेको देखेर खुसी हुनेमात्र थिएनन्, त्यसै गाउँको एउटा छट्टु फटाहा मनमनै डाहा गर्थ्याे। यिनीहरूलाई के गरी फुटाउने भनेर योजना बनाउँथ्यो। उसले एउटा योजना पनि बनायो। श्रीमान्लाई बोलाएर भन्यो, 'तिम्री स्वास्नी त बोक्सी रहिछे', श्रीमान्ले पत्याएन। उसले फेरि भन्यो, 'मेरो कुरा नपत्याए भरे बेलुका हेर्नू, तिमी निदाएको बेलामा स्वास्नीले तिम्रो मुख चुस्छे, बोक्सी लाग्छे, तिमीलाई ठूलो खतरा छ। मैले बेलैमा भन्देको छु,' उसले भन्यो। त्यो फटाहाले श्रीमतीलाई गएर भन्यो, 'तिम्रो लोग्ने रक्सी खाएर त्यस्तो बबाल गर्छ, तिमी चैं किन थाहा नपाएझैं गरेकी?' श्रीमतीले भनी, 'मेरो श्रीमान् त कहिल्यै रक्सी खानु हुन्न।' उसले फेरि भन्यो 'बेलैमा विचार गर है, लोग्ने बिग्रेला। मेरो कुराको विश्वास छैन भने भरे लोग्ने सुतेपछि मुख सुँघ्नु।' श्रीमान् श्रमिती दुवैले त्यो फटाहाको कुरा बुझेनन् र एक अर्कालाई परीक्षण गर्ने निधो गरे। बेलुका श्रीमान् सुत्यो तर स्वास्नीको परीक्षण गर्नका लागि ननिदाए पनि निदाएझैं गर्यो। श्रीमान् निदाए भनेर श्रीमती पनि श्रीमान्को मुख सुँघ्न गई। श्रीमतीले मुख सुँघ्नमात्र के आँटेकी थिई, श्रीमान् उठेर लात्तैलात्तले भकुर्न थाल्यो। त बोक्सी होस्, घरबाट निस्केर गइहाल भन्यो। श्रीमतीले पनि यस्ता जँड्याहा लोग्नेसँग बस्नु छैन भनेर घरबाट निस्केर हिंडी। त्यति राम्रो मिलेर बसेका श्रीमान्–श्रीमती गाउँको एउटा फटाहाले उचालेको कुरा नबुझ्नाले घर भताभुङ्ग भयो। श्रीमान्–श्रीमतीको बिछोड भयो। त्यस्तै, अहिले माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न ब्राह्मण–क्षत्री समाजका प्रतिनिधि गए र जातीय राज्य हुनुहुँदैन भनेर माग गरे। त्यतिखेर प्रचण्डले भनेछन्, 'तपाईंहरूको माग सही छ, हामी त चुकिसक्यौं, तपाईंहरूको राष्ट्रवादी आन्दोलन सशक्त बनाउनुहोस्, नत्र देश एकजुट रहँदैन।' फेरि आदिवासी जनजातिका प्रतिनिधिहरू गएर जातीय राज्य हुनुपर्यो भनेर माग गरे। उनीहरूलाई प्रचण्डले भने, 'वार्ताको टेबुलमा सबै जातीय र सङ्घीयताविरोधी छन्, म मात्रै जातीय राज्यको पक्षमा छु, टेबुलको वार्तामा एक्लै परें, सङ्घीयताविरोधीले सडक कब्जा गरिसके, तपाईंहरूले आन्दोलन सशक्त बनाउनुपर्यो।' प्रचण्डको कुरा सुनेर आदिवासी जनजातिले पनि तुरुन्तै आन्दोलन गर्ने घोषणा पनि गरे। जातीय सङ्घीयताविरोधीको प्रतिकार गरिने पनि बताए। यसबाट के बुझ्न सकिन्छ भने १० वर्ष युद्ध लडेर आएको र सबैभन्दा ठूलो पार्टीका अध्यक्ष एकपटक प्रधानमन्त्री भइसकेको व्यक्ति, सत्ता पक्षको जिम्मेवार नेताले यस्तो संक्रमणकालको बेला सबैलाई नेतृत्व गर्दै संयमित रहन आह्वान गर्नुपर्ने बेलामा मिलेर बसेका नेपालीहरूबीच जातीय सद्भाव खलबल्याउने गरी सबैलाई आन्दोलन गर्न उक्साउने प्रचण्डको नियत के हो? अनि उनले उक्साएको बुझ्न् नसक्ने विभिन्न समुदायको नेतृत्व गछर्ौं भन्ने नेताहरूको बौद्धिकता पनि बढो दयालाग्दो छ। कसैले उक्सायो उक्सिहाल्यो। आन्दोलनको घोषणा गरिहाल्यो। देशको प्रमुख पार्टीको अध्यक्ष कमरेड प्रचण्डले क्षणिक पार्टीगत लाभको लागि, आफ्नो गुटको स्वार्थका लागि, एउटा चुनावमा आउने भोटको लागि, एउटा कुनै पदका लागि यस्ता घटिया गतिविधि गर्न मिल्छ? गाउँमा मिलेर बसेका श्रीमान–श्रीमतीलाई झगडा लगाएर बिछोडसम्म गराउने गाउँको फटाहा र देशमा मिलेर बसेका नेपाली–नेपालीबीच जातीय सद्भाव भड्किने गरी आन्दोलन गर्न उक्साउने प्रचण्डबीच के फरक देखियो र? तारानिधि पोखरेल, लदाभीर, सिन्धुली राजधानी, जेठ २ बाट |