|
संसारमै बढी उपप्रधानमन्त्री !
मन्त्रिमण्डल गठनमा सल्लाह नमागेको या नलिएको भन्दै सरकारमा सामेल नभएको एमाले बुधबार प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा सामेल भयो। त्यसो त एमालेले राजीनामा नदिइएकन उनको सरकारमा पाइलै नटेक्ने किरिया खाएको थियो। तर किरिया गरेको वाचा उल्लङ्घन गरी भट्टराईले प्रम पदबाट राजीनामा नदिंदै एमाले सरकारमा सहभागी भयो। ठूला दलकै नेताहरूको वाचाअनुसार अब केही दिनपछि नै नेकाको नेतृत्वमा नयाँ संविधान घोषणा हुनेछ। तर आश्चर्यको कुरा सानो देश नेपालमा अहिले चारजना उपप्रधानमन्त्री भइसकेका छन्। एमाओवादीका नारायणकाजी श्रेष्ठ, नेकाका कृष्णप्रसाद सिटौला, एमालेका ईश्वर पोखरेल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का विजयकुमार गच्छदार भट्टराई सरकारका उपप्रधानमन्त्रीहरू हुन्। के चार चारजना उपप्रधानमन्त्री देशको लागि आवश्यक हो? एकातिर चार चारजना उपप्रधानमन्त्रीको बन्दोबस्त ऐनकानुनमा गर्नुहुँदैनन्थ्यो। त्यस्तो बन्दोबस्तै भए पनि चार चारजनाको उपप्रधानमन्त्री बनाउनु हुँदैनथ्यो बन्नुहुँदैनथ्यो। आवश्यकता नै नहेरिकन किन संसारमै नभएको या चार चारजनाको उपप्रधानमन्त्रीको बन्दोबस्त गर्ने? ठूला भनिने चारवटै दललाई के उपप्रमविनाको सरकारमा सामेल हुन कठिनाइ भयो? के आफ्नो दलले उपप्रम पाएन भने दलको इज्जतै जाने हो? सरकारमा सामेल हुँदा उपप्रमको पदविना सरकारको स्वादै नपाउने हो? उपप्रम नपाएको भए के एमाले र फोरम सरकारमा सामेल नहुने हो? यो त कुर्सीकै भागबण्डा भयो होइन र ! सरकारमा सामेल हुनु एउटा पाटो हो भने उपप्रम नै आवश्यक ठान्नु अर्काे पाटो हो। पद पाएपछि हुरुक्क हुने दलका नेताहरू सेवा गर्न होइन राज्यको ढुकुटी रित्याउन मेवा खान पो राजनीतिमा हाम फालेका रहेछन्। एमाओवादी र एमालेकै त्यस्तो दशा छ भने नेका र फोरमको त भन्नै पर्दैन। चारवटै दलले उपप्रमका भाग खोजेर को भन्दा को कम भनेर छाती देखाएर हिंड्नु कति सही हो? सरकारमा सहभागी दलले जुनसुकै मन्त्री या उपप्रम नपाए पनि जनताको सेवा गर्नुपर्ने हुन्, जनताको राजनीति गर्नुपर्ने हुन्। सानो नेपालमा चार चारजना उपप्रमको बन्दोबस्त भएपछि के ठूला दलको इज्जत र आस्थामा चोट नपुगेको होला? के चारजना उपप्रम नबनेसम्म सरकार गठनको कुनै तुक छैन? आवश्यकताभन्दा बढी पद खोज्नु उपयुक्त छैन। अहिले बनिसकेको सरकारमा चारजना उपप्रम भए पनि नेकाको नेतृत्वमा बन्ने सरकारमा त्यस्तो बन्दोबस्त नहोस्। भाग र पद खोज्ने र पाउने नाउँमा विवेक र बुद्धि पनि प्रयोग गरियोस्। गल्ती गरेर चमत्कारको गर्व गर्ने प्रचण्डले जस्तै नेकाको सरकारले अर्काे चमत्कारपूर्ण कार्य नगरोस्। दलका नेताहरूलाई चेतना भया ! |