September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

प्रधानमन्त्रीको चीन भ्रमणका १५ एजेन्डा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको विषयमा छलफल र सुझाव लिन सुरु गरेका छन्।  

चीनसँग व्यापार, लगानी, पर्यटन र दुईदेशीय परियोजनामा सम्झौता गर्ने सरकारको तयारी छ। प्रधानमन्त्री चैत ७ देखि साताव्यापी चीन भ्रमणमा जाँदैछन्। उनले राष्ट्ररपति सी जिङपिङलगायतका उच्च अधिकारीसँग भेट गर्नेछन्।  

केही मन्त्रीहरूसँग गरिएको कुराकानीलाई आधार मान्दा यस्ता छन् प्रधानमन्त्रीका एजेन्डा – 

१.व्यापार तथा पारवहन सन्धि: नेपाल र चीनबीच व्यापार तथा पारवहन सन्धिको प्रस्तावित मस्यौदा आदान–प्रदान भएको छ। प्रधानमन्त्री ओलीको भ्रमणको बेला यसलाई सम्झौताको रुप दिने तयारी भएको छ। 

२.स्वतन्त्र व्यापार सम्झौता: भ्रमणमा स्वतन्त्र व्यापार सम्झौता गर्ने तयारी प्रधानमन्त्री ओलीको छ। नेपालले यससम्बन्धी पठाएको मस्यौदामाथि चीन सकारात्मक रहेको बताइएको छ। 

३.इन्धन खरिद: नेपालमा खपत हुने इन्धनको ३० प्रतिशत इन्धन चीनबाट ल्याउने सरकारी निर्णयअनुसार चीनसँग खरिद सम्झौता गर्ने तयारी छ। मूल्य समायोजन लगायतका केही विषय टुङ्याउन बाँकी छ। 

४.तेल भण्डारण केन्द्र स्थापना: पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको खैरेनीटार र काभ्रेको पाँचखालमा भण्डारण केन्द्र निर्माणबारे कुराकानी अघि बढाउने प्रधानमन्त्रीको तयारी छ। 

५.चिनियाँ परियोजनाको बिफ्रिङ: नेपालमा चिनियाँ लगानीमा भइरहेको परियोजनाको कामको प्रगतिबारे ध्यानाकर्षण गराउन र भूकम्पपछिको पुनःनिर्माणका लागि ठोस प्रस्ताव लैजाने तयारी छ। 

६.चक्रपथ विस्तार: काठमाडौं चक्रपथ विस्तारलाई थप अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री ओलीले छलफल गर्ने एजेन्डा बनाएका छन्। 

७.अरनिको राजमार्ग विस्तार: अरनिको राजमार्ग विस्तार पनि प्रधानमन्त्री ओलीको भ्रमणको एजेन्डा बन्ने छ। 

८–क्रस बोर्डर ट्रारान्समिसन लाइन: क्रस बोर्डर ट्रारान्समिसन लाइन निर्माणको विषयमा पनि प्रधानमन्त्री ओलीले छलफल गर्नेछन्। 

९.काठमाडौं– पोखरा रेलवे: काठमाडौं– पोखरा रेलवे निर्माणको परियोजनाबारे छलफल गर्ने मन प्रधानमन्त्री ओलीले बनाएका छन्। 

१०.सिभिल अस्पताल विस्तार: चिनियाँ सरकारमा बानेश्वरमा बनेको सिभिल अस्पतालको विस्तारलाई पनि प्रधानमन्त्री ओलीले आफ्नो चासोमा राखेका छन्। 

११.एक्जिम बैङ्कको शाखा: नेपालमा एक्जिम बैङ्कको शाखा स्थापनालाई पनि प्रधानमन्त्री ओलीले एजेन्डा बनाउन चाहेका छन्। 

१२.मदन भण्डारी कलेजलाई सहयोग: भारतीय सहयोगमा भवन निर्माण भएको मदन भण्डारी कलेजलाई चिनियाँ सहयोग जुटाउन पनि प्रधानमन्त्रीले कुराकानी गर्नेछन्। 

१३. सीमासम्म रेल: नेपालको सीमाक्षेत्रसम्म रेलसेवा विस्तारको विषयलाई पनि प्रधानमन्त्रीले महत्त्वका साथ उठाउनेछन्। केरुङ नाका वर्षभरि सञ्चालन, किमाथांका र कोरला नाका खोल्ने विषयमा पनि प्रधानमन्त्री ओलीले छलफल गर्नेछन्। 

१४.गोन्जाउमा वाणिज्य दूतावास: गोन्जाउमा वाणिज्य दूतावास स्थापनालाई प्रधानमन्त्री ओली एजेन्डा बनाउँदै छन्। 

१५.भूकम्प पीडितलाई सहयोग: भूकम्प पीडितलाई आर्थिक र भौतिक सहयोग जुटाउने विषयलाई पनि प्रधानमन्त्री ओलीले आफ्नो एजेन्डामा राख्नेछन्। 

चीनले चाहेको छ 

१.सुपुर्दगी सन्धि र आपसी कानुनी सहायता सन्धिको मस्यौदा प्रस्ताव गर्न 

२.नेपालको पेट्रोेलियम उत्खनन्सम्बन्धी सम्भवाव्यता अध्ययनमा लगानी 

३.बौद्धिक सम्पति अधिकारसम्बन्धी सहकार्य 

सुझाव यस्तो छ 

आइतबार प्रधानमन्त्री ओलीलाई सुझाव दिन पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति, नेपालका संयोजक बाबुराम भट्टराई पनि पुगेका थिए। उनले छलफलपछि चीन घनिष्ट मित्रराष्ट्र भएकाले दुई देशको सम्बन्धलाई कसैसँग तुलना नगरी मित्र रुपमा अघि बढाउन सुझाव दिएको बताएका थिए। 

राससका अनुसार भट्टराईले 'अन्तर्राष्ट्रिय सम्बन्ध अत्यन्त संवेदनशील हुन्छन्, आन्तरिक तयारी गरेर जानु उपयुक्त हुन्छ, नेपाल संवेदनशील भू–राजनीति भएको र स्वतन्त्र र सार्वभौम राष्ट्र भएकाले प्रत्येक देशसँग स्वतन्त्र ढङ्गले सम्बन्ध अगाडि बढाउनुपर्छ, त्यस्तै चीनसँग पनि' भनेका थिए। 

यस्तै, आर्थिक परनिर्भरताको अन्त्य गर्नका लागि भौतिक निर्माणको कुरामा जोड गर्नुपर्ने भन्दै भट्टराईले रसुवागढीको नेपालपट्टिको बाटो अझै पूर्णरुपमा निर्माण नभएको र रेलमार्ग जोड्नुपर्ने कुरालाई बढी प्राथमिकता दिनुपर्ने सल्लाह दिएको जानकारी दिएका थिए। अहिलेको युग कूटनीतिक भएकाले चीनको पूँजी आकर्षित गरेर नेपालको यातायात, जलस्रोतलगायतका क्षेत्रमा विकास गर्न सुझाव दिएको बताएका थिए। 

पूर्वपरराष्ट्रमन्त्री डा.रामशरण महतले चीनसँग विश्वासको वातावरण निर्माण गरी रेलमार्ग विकास तथा चीनको सहयोगका निर्माणाधीन योजना चाँडो सम्पन्न गर्ने सुझाव दिएको बताएका थिए। 'कतिपय योजनामा ढिलाइ भएको छ, चीनको लगानी नेपालमा विगतमा भएको प्रतिबद्धता कार्यान्वयन भएको छैन, त्यो हुनुपर्‍यो' उनले भनेका थिए। 

पूर्वपरराष्ट्रमन्त्री महतले लगानी विस्तार गर्न दुई देशको सम्बन्धलाई अझ बलियो बनाई चीनको बजारमा नेपालको सामानको व्यापार विस्तारलगायतका विषयमा सुझाव दिएको बताए। 

प्रधानमन्त्रीका विदेश मामिलाविज्ञ गोपाल खनालले सरकारको आस चीन भ्रमणको क्रममा दुई देशबीचको उच्चस्तरको सम्बन्ध, विश्वासको वातावरण बनाई पारवहन सम्झौता र व्यापारिक सम्झौता गर्नुपर्ने सुझाव आएको जानकारी दिएका थिए। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, पूर्वप्रधानमन्त्री डा. भट्टराई, पूर्वपरराष्ट्रमन्त्रीहरू डा. महत, रमेशनाथ पाण्डे, महेन्द्र पाण्डे, ईश्वर पोखरेल, माधव घिमिरे तथा पूर्वपरराष्ट्र सचिवहरू सहभागी थिए। 

प्रधानमन्त्री ओलीले आइतबार आफ्नो चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा परराष्ट्र सचिवसँग परामर्श गरेका थिए। आइतबार नै एमालेको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीको भ्रमणलाई फलदायी बनाउन विभिन्न सुझाव दिएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकले आउँदो चैत ७ गतेदेखि हुने प्रधानमन्त्रीको भ्रमणलाई दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सुझाव दिएको एमाले सचिव योगेश भट्टराईले बताएका थिए। बैठकले दुई देशको व्यापार सम्झौतालाई दीर्घकालीन हितमा परिणत गर्ने गरी फलदायी बनाउन उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ, ग्यास र नुनको व्यापारसम्बन्धी सहमति गर्न पनि सुझाव दिएको थियो।            –रातोपाटीबाट