September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

बेरोजगारीको चित्र

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार विगत ५ वर्षमा मात्रै १३ लाख २२ हजार ३ सय ५९ नेपाली नागरिक रोजगारीका लागि विदेश गएका छन्। विभिन्न अनुसन्धानहरूले रोजगारीमा जानेहरूमा ८० प्रतिशतभन्दा बढी २० देखि ३५ वर्ष उमेरका रहेको कुरा उल्लेख गरेका छन्। प्रतिवर्ष २ लाख ४७ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेशिएको तथ्याङ्क छ। विदेशमा रोजगारीका लागि जाने युवालाई स्वदेशमै रोजगारी दिन सक्नेगरी सरकारले योजना बनाउन सकेको छैन।    

नेपालमा १५ देखि ५९ वर्षसम्मका १ करोड ५४ लाख श्रमशक्ति छन्। त्यसमध्ये १ करोड १७ लाख विभिन्न क्षेत्रमा कार्यरत छन्। अन्यलाई सरकारले रोजगारी दिन सकिएको छैन। यो तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा बर्सेनी १ लाखको दरले बेरोजगार बढिरहेका छन्। 

नेपालमा सरकारी तथा सस्थागत क्षेत्रमा बाहेक औपचारिक क्षेत्रमा रोजगार प्रवर्द्धन गर्ने कार्यालय, विभाग तथा बोर्ड बन्न सकेको छैन। निजी क्षेत्रमा आवश्यक जनशक्ति, सम्भावित रोजगार क्षेत्र र रोजगार प्रवर्द्धन गर्ने छुट्टै निकाय नहुँदा युवापुस्ता अन्योलमै छन्। नेपालमा श्रमबजारको लेखाजोखा गरिएको प्रतिवेदन पनि उपलब्ध छैन, जसकारण के–कस्ता मानव स्रोत वा शक्ति श्रमबजारले माग गरेको छ भन्ने स्पष्ट हुनेछैन। 

कृषिको आधुनिकीकरण, औद्योगिक विस्तार, पूर्वाधार विकास र पर्यटन क्षेत्रको विकास विस्तार गर्नसके नेपालमा रोजगारी सम्भावना बढ्न सक्छ। वैदेशिक रोजगारविज्ञ एवम् समाजशास्त्री गुरुङ देशमा ठूलो सङख््यामा रहेको अदक्ष जनशक्तिलाई आधुनिक कृषिमा उपयोग गर्ने नीति निर्माण गर्न सके वैदेशिक रोजगारीको विकल्प हुने बताउँछन्। कृषिमा उत्पादकत्व बढाउन सके रोजगारीका लागि अन्यत्र जानुपदैन। नेपालमा जलविद्युत्लगायत ठूला आयोजना र पूर्वाधार निर्माण गर्न सके रोजगारीका लागि विदेश जाने अदक्ष जनशक्ति स्वदेशमै रोजगार हुनसक्ने उनको भनाइ छ। 

कृषिमा युवा शक्तिको आकर्षण घट्दै जानु पनि नेपालको विकासको बाधक बनिरहेको छ। व्यावसायिक शिक्षा प्रणालीको अभाव तथा श्रम बजारमा जनशक्तिको मागबीच तालमेल नहुनु पनि रोजगारीको बाधक हो। श्रमप्रधान क्षेत्रहरू विशेषगरी निर्माण र उत्पादन अपेक्षित रूपमा विस्तार हुन नसक्नाले पनि हामीकहाँ समस्या ज्यूँका त्यूँ छ। 

मुख्य कुरो त शिक्षा स्वरोजगारमुखी हुनुपर्‍यो। शिक्षालाई उत्पादनमुखी बनाउने हो भने शिक्षाले देशलाई उँभो लगाउन मदत्त गर्नेछ।  

प्यारीमाया, काठमाडौं