September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

पेट्रोल र ग्यासको अभाव कायमै

पेट्रोल र ग्यास अझै सर्वसुलभ भएका छैनन्। पहिले नेपाल–भारत सीमा नाकामा धर्ना र विरोध प्रदर्शन भइरहेको आन्तरिक कारण देखाएर भारतले पेट्रोल र ग्यास आयातमा रोक लगायो। अहिले त्यस्तो कुनै रोक या बाधा छैन। तर पनि पर्याप्त ग्यास र पेट्रोल नेपालीले पाइरहेका छैनन्। नेपाल–भारत सीमा नाका खुला भएको महिना दिन बित्न लाग्दा समेत पर्याप्त सामान नआएको घटनाले भारतको नाकाबन्दी पूर्णतः नखुलेको सङ्केत गर्छ। पर्याप्त सामान नआएकै कारण पेट्रोल र ग्यास सरकारी मूल्यमा वितरण भइरहेको छैन। सुरुको भन्दा अहिले मूल्य घटिसकेको छ तर त्यो पूर्णतः घटेको छैन। जनजीवनसँग सम्बन्धित पेट्रोल र ग्यासको अभावलाई पूर्ति गर्नेतर्फ सरकारले विकल्प सोच्नैपर्छ। 

विकल्प खोज्नेतर्फ नलागी नेपाल सरकार भारतनिर्भरमात्र हुन खोजिरहेको छ। भारतले नेपाललाई आफ्नो अधीनमा राख्ने षड्यन्त्र रचिरहेको र नेपाल सरकार भारतकै पछि लागेको देख्दा नेपालमा बरोबर पेट्रोल र ग्यासको हाहाकार हुने देखिन्छ। अभाव सिर्जना गरेर महँगोमा सामान बिकाउने भारतको षड्यन्त्रमा नेपाल किन फसिरहेको हो? चीनसँग इन्धन व्यापार र द्विपक्षीय सम्झौताको मस्यौदा आपूर्तिमन्त्री पुनले अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयको सुझावसहित अनुमोदन गराइसकेका छन्। इन्धन व्यापार सम्झौता भएमा ३० प्रतिशत डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यास आपूर्ति हुन्थ्यो। तर चीन र नेपालबीच सरकारी तहमा सम्झौता नभएसम्म व्यापारिक कारोबार अघि बढ्नेछैन। अहिलेसम्म दुई देशबीचको बिजनेस टु बिजनेस सम्झौता भएको छैन। त्यो नभएसम्म इन्धन आपूर्ति हुनेछैन। त्यो कहिले हुने हो, टुङ्गो लागेको छैन। फेरि नेपालले धोका खाएपछि मात्र बिउँझिने हो कि ! ठक्कर खाएर पनि बुद्धि नपुर्‍याउने सरकार कस्तो सरकार ! 

हर्षबहादुर केसी