September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

कम्युनिष्ट पार्टीको सफलता सरकारमा जानु होइन

कम्युनिष्ट पार्टीको लक्ष्य समाजवाद स्थापना गर्नु हो र बहुमत जनताको हितमा शासन गर्नु हो। कुनै कम्युनिष्ट पार्टी सरकारमा जाँदैमा समाजवादी व्यवस्था स्थापना हुने होइन। देशमा रहेका सबै कम्युनिष्ट पार्टीहरू आ–आफ्नो सिद्धान्त र विचारअनुसार अघि बढेका भए, कार्यकर्ता र जनता राजनीतिक रुपले प्रशिक्षित हुन्थे, जनतामा परिवर्तनको भावना हुन्थ्यो र आमूल परिवर्तन गर्नमा सहयोग पुग्थ्यो। तर कम्युनिष्ट पार्टी भनिएका ठूला दलहरूलाई सरकारमा जान पाएपछि वर्गसङ्घर्ष परिवर्तन र समाजवादी बन्दोबस्तको कुनै चिन्ता र चासो हुँदैन। सरकारमा टिकिरहने, सरकारको नेतृत्व गर्न तँछाडमछाड गर्ने र संयुक्त सरकारको नाउँमा भागबण्डा गर्ने राजनीति नै सत्तारुढ कम्युनिष्ट पार्टीहरूको धर्मजस्तै भइरहेको छ। 

पूँजीवादी व्यवस्थाको सरकारमा रहेका 'कम्युनिष्ट' नेता र मन्त्रीहरूले न कम्युनिष्ट पार्टीको सिद्धान्त र विचारको प्रचार गर्छन् न त वर्गसङ्घर्षमा जोड दिन्छन्। पूँजीवादी बन्दोबस्तको सरकारमा कम्युनिष्ट पार्टीहरू टाँसिरहेसम्म कम्युनिष्ट पार्टी बलियो हुनेछैन, कम्युनिष्ट आन्दोलन अघि बढ्नेछैन। अहिले सरकारमा 'जनयुद्ध' छेडेका एमाओवादी र जनवादको वकालत गर्ने एमाओवादी रहेका छन्। उनीहरूले सरकारमा रहेर न त कम्युनिष्ट सिद्धान्त र विचारअनुसार सरकारल नीति तथा कार्यक्रम तय गर्न सकेका छन् न त आमूल परिवर्तनका निम्ति तयारी गर्न जनतामाझ पुगेका छन्। सरकारमा रहेर बहुमत जनताको हितमा काम गर्न सकिंदैन न त वर्गसङ्घर्षको बाटो नै तयार गर्न सकिन्छ। 

सरकारमा बसेर दल र दलका नेताहरूले राज्यबाट लाभ त पाउलान्, राज्यबाट सेवा सुविधा लेलान् तर समाज परिवर्तन सम्भव हुँदैन। सरकारमा बसेर पूँजीवादी निर्णय लिने, पूँजीवादी प्रचार गर्ने अनि पार्टी कार्यक्रममा समाजवादी कुरा गरेर द्वैध चरित्र अँगाल्ने काम सत्तासीन कम्युनिष्ट पार्टीहरूले गरिरहेका छन्। कम्युनिष्ट पार्टीहरू पूँजीवादी सरकारमा पसेर आफ्नो दलगत स्वार्थ खोजेरमात्र बसिरहने हो कि समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षको लागि तयार गर्ने? बहुमत शोषित पीडित जनताको हितमा राजनीति गर्ने हो कि अल्पमत वर्गको हितमा ! सरकारमा जान पाउनु या सरकारको नेतृत्व गर्न पाउनु के कम्युनिष्ट पार्टीको सफलता हो? कम्युनिष्ट पार्टी सरकारमा पुगेर बहुमत जनताको हितमा के भयो? कुनै फरक पर्दैन भने नेका र एमाले नेतृत्वमा बनेको सरकारबीच के अन्तर रह्यो? एमाओवादीसमेत रहेको एमालेको नेतृत्वमा सरकारमा गएर दलगतबाहेक जनताको कुनै राहत हुँदैन भने जनताको निम्ति नेका र एमालेको सरकारबीच के फरक भयो? कम्युनिष्ट पार्टी भएरै राजनीति गर्ने हो भने श्रमजीवी वर्गको हितलाई छोड्नुहुँदैन। उनीहरूको जीवनस्तर उठाउन र मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ अघि बढ्नैपर्छ। कम्युनिष्टको सिद्धान्त र विचारअनुसार अघि नबढ्ने कम्युनिष्ट पार्टी सही कम्युनिष्ट हुनेछैन। कम्युनिष्टको नाउँ भजेर पूँजीपति, शोषक र सामन्त वर्गको हित हेर्छ, खोज्छ भने त्यो धोका हो, धोका दिने काम कम्युनिष्ट पार्टीले गर्नुहुँदैन। 

– गौरव प्रधान