जाडो
शकुन्तला जोशी
कहाँबाट छिर्छ रातविरात यो बतास !
फेरि चिसिँदै गएको हाम्रो ओछ्यान?
किन हाम्रै छिँडी वरिपरिमात्रै घुमिबस्छ यो चिसो स्याँठ
किन हल्लाइबस्छन् बतासका यी हातहरू
भत्किनै लागेको झ्यालका खापा
सुकुमाया !
लखेट्दै एक मुठी घामभन्दा पर
किन आइबस्छ हरसाल यो जाडो हाम्रै झुपडीमा?
तिम्रो बाफिलो निश्वासले
कम्तीमा तातै छ छाति र हिंडिरहेछ धमनी उघारेर रगत
तर लुगलुग लुगलुग काँपिरहेछ गोडा
बढिरहेछ कम्पनको डिग्री उकालैउकालो
यो रात किन चढ्दैन मलाई तिम्रो गन्धको नसा?
किन तात्दैन जिउ आधा रातसम्म?
सुकुमाया !
तिमी त आगो थियौ आगो
त्यही आगोमा म जल्थंे हररात र अग्राख बन्थें
जल्थे पुल्ठोहरू र मसाल बन्थें
ठोसेर तिनै आगो गीत बन्थे र गाउँथे मानिसहरू
झोसेर तिनै कोइला सङ्गीत बन्थे र नाच्थे नानीहरू
तिम्रै आँखाको झिल्का टिपेर
कविता लेखे कविहरूले
तिम्रै न्यानोमा सेकिएर लोलाउँथे केटाकेटी
तिम्रै हातको अगुल्टो सल्काएर जवानहरूले
घेरेका थिए राजाको दरबार
र सल्काइएको थियो नयाँ दरबारको मकल
आजसम्म त्यही आगो ताप्दै आएको छ सिंहदरबार
यसरी बिर्सिदै गयो त्यो दरबारले
आगोको मूल र त्यसकी जननीलाई
सुकुमाया !
कस्तो ठिहिर्याइरहेछ हातहरू
ठुकठुक ठुकठुक ..
मुटुतिरै बढिरहेछ जाडो सूल
कालभैरव पनि काँपिरहेको हुनुपर्छ यत्तिबेला
सिंहदरबार अगाडि मूल सडकमा
निर्विघ्न यसरी नै दौडिरहेको हुनुपर्छ जाडो
देखेनौ? कसरी सडकमा गुडुल्किएका छन् अनाम केटाकेटी
के थाहा तिनले भोलि बिहान देख्छन् कि देख्दैनन्?
थाङ्ना–भोगटामा मुख गाडेर
बालुवाटार चोकमै पसि्रएकी त्यो बहुलाहीको आयु
यो जाडोले तय गर्ने छ पक्कै
एई सुकुमाया !
कसरी सुतिरहन सकेकी
यस्तो निर्दयी जाडो ओछ्याएर?
हेर ! झनझन चिसिदो छ यो मञ्जुश्रीको खाल्डो
चिसो छ सरकारको दिमाग
फ्रीज भएका छन् तिनका हातगोडा
सुखीपुरमा एउटा धुस्सा नपाएर तिम्रा बौवाहरू
हारिरहेछन् जीवनसँग
निम्छरो तिम्रो सरकार
फ्रीज बजेटको शीर्षक लगबुकमा भरिरहेछ
प्रेयसी, कति कुरुप हो जाडो !
कसरी घट्दै गइरहेछ जवानहरूको छातिको धड्कन?
र चिसो राहदानी बोकेर
देश छाडिरहेछन् तिनीहरू
नीलो हुँदै गएका ओंठ लिएर
कसरी पस्किरहिछे कान्छी तामाङ
गिद्धजस्तो ग्राहकलाई चिसो देह?
सुकुमाया !
फूलचोकीबाट हुरहुराउँदै बेग मारिरहेछ
हिउँको लर्को यतैतिर
डोल्पालीहरूको देश निल्यो रे हिउँले
मेरै पिठ्युँमा धाप थप्थपाउँदै जो आयो
उसैले मेट्यो रे मेरो देशको नाम जन्ने पिल्लरबाट
हैन के सार्हो बढेको हिमपात बेथितिको?
अझै उठेनौ भने तिमी
फेरि जगाएनौ भने आगोको बीउ हरेक चुल्हामा
भरिएन भने मान्छेको छातिमा न्यानो
फेरि जखेनौ भने सिंहदरबारसामु रामधुनी
जम्न सक्छ सरकार
जम्यो भने राज्य
चल्यो भने देश कोमामा
कहाँ रहला तिमीले टेक्ने धरती
र ओढिबस्ने आकास?
|