|
सरकारी उद्योग तथा कलकारखाना सञ्चालन किन नगर्ने?
आत्मनिर्भर बनाउन या जनताका आधारभूत आवश्यकता पूर्ति गर्न नेपाल सरकार आफू पनि उद्योग तथा कलकारखाना खोल्दैनन्, अनि अरु देशबाट खोलिएका उद्योग, कलकारखाना पनि राम्ररी चलाउँदैन। नेपाल र नेपालीलाई भन्दा भारतीय शासक वर्गको स्वार्थ हेर्ने या खुसी पार्ने सत्तारुढ दलका नेताहरूको गलत मानसिकताले भएका उद्योगहरू बन्द भएका हुन्। देशको अर्थतन्त्र सुदृढ गर्न र रोजगारीको बन्दोबस्त गर्ने उद्देश्यलेचीनले नेपालमा खोलेका कति उद्योग तथा कारखाना घाटाको निहुँमा नेपाल सरकारले निजीकरण गर्यो। सामूहिक या समुदायको भन्दा व्यक्ति पोस्ने पूँजीवादी नीति लागू गर्न र चीनले नेपालमा खोलेका उद्योग तथा कलकारखाना बन्द गरेर भारतबाट सामान आयात गर्न पूँजीवादी व्यवस्थाका नेताहरू अघि सरे। सोही उद्देश्यअनुरुप ट्रलिबस, बाँसबारी छाला जुत्ता कारखाना, साझा बस, नेपाल एयरलाइन्स, इँटा कारखाना आदि निजीकरण गरिएको थियो।
सत्तारुढ दलका नेताहरूको दृष्टिकोण नै गलत भएको हुँदा देश विकास नभएको हो। उद्योगका प्रबन्धक र महाप्रबन्धकहरू उद्योग डुबाउने र व्यक्ति मोटाउने खेलमा लागेपछि उद्योग र कलकारखाना चलून् पनि कसरी ! हेटौंडा कपडा उद्योग, उदयपुर सिमेन्ट कारखाना, बुटवल धागो कारखाना, वीरगञ्ज चिनी कारखाना, वीरगञ्ज कृषि औजार कारखाना, इलाम चिया कारखाना, हिमाल सिमेन्ट कारखाना कहिले बन्द त कहिले सञ्चालन हुन्छ। ती उद्योग तथा कलकारखानाको स्थिति नाजुक हुनुको कारण सरकारको निजीकरण गर्ने गलत दृष्टिकोण हो। उद्योग डुबाउने प्रबन्धक, महाप्रबन्धकहरूको मनपरीतन्त्र र भारतीय सामान बढीभन्दा बढी नेपाल भित्र्याएर भारतीय एकाधिकारको पूँजीको चलखेल गरिरहने उपाय नै हो।
चीनको सहयोगमा नेपालमै बनेका उद्योग तथा कलकारखानाको व्यवस्थापन नगर्ने, उद्योग डुबाउने प्रबन्धक, महाप्रबन्धकहरूमाथि कुनै कारबाही गर्न नसक्ने या त्यसबारे कुनै छानबिन, खोजीनीति नगरी उद्योग नै निजीकरण गरेर व्यक्ति पोस्ने सरकारको नीति नै हेरफेर हुनुपर्छ। नेपाल सरकार आफैले उद्योग, कलकारखाना खोलेर आत्मनिर्भर बनाएर देशको अर्थतन्त्र सुदृढ गर्नुपर्नेमा उल्टो खोलेका सरकारी उद्योग डुबाउने, घाटामा पुर्याउने र निजीकरण गर्ने सरकारले कसरी देशको विकास गर्छ? नेकाको सरकारले थालेको निजीकरणलाई कम्युनिष्ट भनिने सरकारले निरन्तरता दिने होइन, सरकारी उद्योगहरू खोल्नेतर्फ वर्तमान सरकारले ध्यान दिनुपर्छ। अरु देशसँग उद्योग खोल्न सहयोग माग्ने मात्र होइन त्यसको सदुपयोग गर्नुपर्छ र निरन्तर चलाउनुपर्छ।
मेरिना शाक्य
|