|
बन्दमा कक्षा: गजब संस्कृति बन्दै
विगत १४ दिनमा आठदिन विभिन्न पार्टी/समूहबाट विभिन्न खाले बन्द भयो। यस पटकको बन्द–हड्तालमा विगतका कैयौं बन्दमा जस्तै भक्तपुरका अधिकांश शैक्षिक संस्थाको पठन–पाठन सुचारु छ। भक्तपुरमा एउटा नयाँ संस्कृति निर्माण हुँदैछ। विद्यालय शान्ति क्षेत्र भएको र विद्यालयलाई बन्द हड्तालबाट प्रभावित गर्न नहुने कैयौं तर्क–वितर्क र सहमतिमा हस्ताक्षर गर्ने व्यक्ति/समूह/पार्टीले बारम्बार आफ्नै निर्णय उल्लङ्घन गरेका कैयौं घटना भए तापनि भक्तपुरले चूपचाप विद्यालयलाई (सामान्य अवस्थामा बाहेक) बन्द हड्तालबाट मुक्त राख्दै छ। बन्द–हड्तालमा कक्षा सञ्चालन गर्न परेर न कोही प्रधानाध्यापक/प्रिन्सिपल/क्याम्पस प्रमुख वा शिक्षकलाई कुनै बोझ/भारी/डर महसुस हुन्छ न त विद्यार्थीलाई गाडी बन्द हुँदा पनि हिँडेरै शैक्षिक संस्था पुगेर नयाँ पाठ सिक्न रुकावट भएको छ। विद्यार्थीले अपर्झट घोषणा भएको बन्दमा समेत 'आज बन्द हुन्छ कि?' भन्ने अलमलमा बस्नुपर्दैन – सीधै विद्यालय/कलेज पुगे हुन्छ। अभिभावक बन्दमा हुनसक्ने 'खतरा' बाट सामान्यकृत हुन थालेका छन्। आश्चर्य नमानौं ! यो एकदिनको प्रयासले बनेको संस्कृति होइन। नेमकिपा र यसको विद्यार्थी सङ्गठनले बन्द–हड्तालमा विद्यालय सञ्चालनमा नेतृत्वदायी भूमिका खेलेको छ। बन्दको आह्वान गर्ने पार्टी/विद्यार्थी सङ्गठन/समूहसँग वैचारिक/सैद्धान्तिक सङ्घर्षको आह्वान गर्यो नेमकिपा आवद्ध विद्यार्थी सङ्गठनले। माओवादी युद्धकै क्रममा अखिल क्रान्तिकारीले लामो शैक्षिक हड्तालहरू गर्दा 'धुवाँको पर्दा' भन्दै नेक्राविसङ्घले बन्द र हड्तालमा विद्यालय खोल्ने र बन्दको क्रान्तिकारी उपयोग गर्ने भन्दै विद्यालयहरूमा राजनीतिक कक्षा सञ्चालन गरी विद्यार्थीहरूलाई राजनीतिक रुपमा सचेत र सङ्गठित पार्ने काम गरेको थियो। विद्यालयहरूले पनि बन्दको आह्वान गर्न आएका व्यक्तिहरूसँग सैद्धान्तिक/राजनीतिक अन्तरक्रिया/छलफल गरेर अनिश्चितकालीन शैक्षिक हड्तालका कार्यक्रम फिर्ता गराउन दबाब दिएको थियो। बन्द आह्वानकर्तालाई स्थानीय जनताले लखेटेको घटना साक्षी छ। भियतनाम क्रान्तिका दिनमा समेत विद्यालय बन्द हुँदैनथ्यो भन्ने दृष्टान्त दिएर नेक्राविसङ्घले अखिल क्रान्तिकारीलाई मुखभर जवाफ दिएको उदाहरण पनि उल्लेखनीय छ। यसको अन्यथा अर्थ नलागोस्, नेक्राविसङ्घले राजनीतिक परिवर्तनको आन्दोलनमा खेलेको भूमिकालाई कसैले कम आङ्कलन गर्नसक्दैन। आमूल परिवर्तनमा/जनताको पक्षमा हुने आन्दोलनमा (जस्तै ०६२/०६३ को जनआन्दोलनमा) यहाँका विद्यार्थी र शिक्षक पठन–पाठन ठप्प पारेर सडकमा उत्रिएको घटना साक्षी छ। |