भारतमा कट्टरपन्थको उदयलाई मौनताले मार्न मिल्दैन
नीरज लवजू
अध्यक्ष नेक्राविसङ्घको अध्यक्ष
नेपाली जनता भारतीय विस्तारवादविरोधी सङ्घर्षको एउटा ऐतिहासिक चरणमा पुगेको बखत देशका क्रान्तिकारी युवाहरूको सम्मेलन हुनुले निःसन्देह विशेष महत्व बोकेको छ। भारतीय विस्तारवादले नेपालको आन्तरिक मामिलामा गरिरहेको हस्तक्षेपविरूद्ध लगातार सङ्घर्षको मोर्चा सम्हाल्दै आएको युवा सङ्गठनको सम्मेलनले निश्चय पनि भारतीय एकाधिकार पूँजीले नेपाललाई आफ्नो बजारको रूपमा रूपान्तरण गर्न खोजेको र भारतीय शासक वर्गले नेपाललाई आफ्नो उपनिवेश बनाउन खोजिरहेको विरूद्ध महत्त्वपूर्ण कार्यक्रम र जुझारू नेतृत्व चुन्नेमा हामी आशावादी छौं।
साथीहरू,
प्रतिगमनविरोधी जनआन्दोलनको सफलतासँगै देशमा गणतन्त्र स्थापना भयो। तर नेपाली जनताले अपेक्षा पूँजीवादी गणतन्त्रले पूरा हुनसक्दैनथ्यो। पूँजीवादी गणतन्त्र र राजतन्त्रबीच व्यापक कामदार जनताको निम्ति कुनै ठूलो अन्तर छैन। त्यस परिस्थितिमा समाजमा आमूल परिवर्तनका पक्षधरहरूको जिम्मेवारी जनतालाई शोषणमा आधारित पूँजीवादी व्यवस्थाको विकल्पको रूपमा समाजवादी व्यवस्थाबारे सचेत बनाउनु थियो। नेपालमा कम्युनिष्ट आन्दोलन सुरू भएको सात दशक समय व्यतीत भइसकेर पनि अझै नेपालका बहुमत कामदार जनतालाई आफ्नो वास्तविक हित हुने समाजवादी बन्दोबस्तबारे जानकारीसम्म नहुनु दुःखद् कुरो थियो। त्यस परिस्थितिमा नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले संयुक्त रूपमा देशव्यापी समाजवादी प्रचार अभियान चलाएर तात्कालीन परिस्थितिले दिएको ऐतिहासिक जिम्मेवारी पूरा गरेको थियो।
देशमा पछिल्लो दशकमा जस्तो नाङ्गो वैदेशिक हस्तक्षेप इतिहासमा कहिल्यै भएन। नेपाल साँच्चै एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुक हो वा शक्ति राष्ट्रहरूको उपनिवेश भन्ने बहस यस क्रममा भएको वैदेशिक हस्तक्षेपसँगै पेचिलो बन्यो। यस क्रममा वैदेशिक हस्तक्षेप विशेषतः भारतीय, संरा अमेरिकी र युरोपेली साम्राज्यवादको हस्तक्षेपविरूद्ध नेक्राविसङ्घ र नेक्रायुसङ्घको सहकार्यले नेपाली माटोमा पराधीनतालाई लत्याउने विद्रोही युवा हृदयहरू जीवित भएको प्रमाणित गर्यो।
पछिल्लो समयमा भारतीय विस्तारवादले नेपालमाथि थोपरेको अमानवीय नाकाबन्दीविरूद्ध नाकाबन्दी लगाएको तेस्रो दिनमै काठमाडौंस्थित भारतीय राजदूतावासअघि विरोध प्रदर्शन गरेर नेपाल र नेपाली जनतालाई अपमानित गर्न र हेपाहा व्यवहार गर्नमै आफ्नो सफलता मान्ने र 'मित्रता' देख्ने एकाधिकार पूँजीलाई ठाडो चुनौती दिने एउटा ऐतिहासिक जिम्मेवारी पूरा गर्यो। नेक्राविसङ्घ आगामी दिनमा पनि नेक्रायुसङ्घसँगै यी र यस्ता अनेकन देश र जनताको हितमा हुने न्यायपूर्ण मुद्दामा सहकार्य गर्दै जानेमा विश्वास व्यक्त गर्दछौं।
आदरणीय युवा साथीहरू,
यतिबेला हामी क्रान्तिकारी युवा–विद्यार्थीहरू भारतीय एकाधिकार पूँजी र विस्तारवादले नेपालको सार्वभौमिकतालाई अपमानित गर्ने दुस्साहसविरूद्ध लडिरहेका छौं। तर हाम्रो आन्दोलनको निशाना कहिल्यै पनि भारतका व्यापक कामदार जनता भएनन्। हामीले भारतीय शासक वर्गका विस्तारवादी नीतिविरूद्ध सम्झौताहीन सङ्घर्ष गर्यौं, गर्दैछौं र गर्दै जानेछौं। तर भारतका कामदार, परिवर्तनकामी, भारतीय शोषक वर्गबाट उत्पीडित जनताका हामी कहिल्यै विपक्षमा उभिएनौं। यो हामीले सिकेको कामदार वर्गीय अन्तर्राष्ट्रवाद हो र हामी यो मान्यताबाट हामी कदापि विचलित हुनेछैनौं।
प्रसङ्ग भारतमा आज–भोलि मच्चिरहेको फासीवादविरोधी सङ्घर्षको। मोदी सरकारको उदयसँगै भारतका व्यापक जनता आज हिन्दू अतिवादबाट आक्रान्त छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीसम्बद्ध हिन्दू अतिवादी सङ्गठन स्वयंसेवक सङ्गठनको सन् २०२५ सम्ममा भारतलाई हिन्दू राष्ट्र बनाउने लक्ष्यअनुसार अहिले भारतमा भाजपा सरकारको आडमा फरक विचारमाथि दमन गर्ने अप्रजातान्त्रिक कामले तीब्रता पाएको छ। राष्ट्रवादको नाममा आफ्नो भन्दा फरक आस्था राख्ने जो कोहीलाई सत्तायन्त्रको दुरूपयोग गरी शिकार गर्ने मोदी सरकारले पँूजीवादी प्रजातन्त्रको न्यूनतम विशेषता समेतलाई ध्वस्त बनाउँदैछ। पूँजीवादी व्यवस्थाले आफूमाथि आइपर्ने सङ्कटको सजिलै समाधान गर्न असफल भएपछि सधैं फासीवादको सहारा लिने गरेको इतिहासमा हामीले पढेका छौं।
मोदी सरकारले संसारभर लगाएका भारतीय अह्मको धाक–धक्कु ध्वाँसमा परिणत भएको छ।
भारतीय जनताको जीवनमा कुनै मौलिक परिवर्तन आउनु त परै जाओस्, स्थिति थप भयावह बन्दै गएको छ। भारतमा आत्महत्या गर्ने किसानहरूको सङ्ख्या मोदी सरकार बन्नुअघिभन्दा २६ प्रतिशतले बढेको छ। मोदी सरकारले भारतीय जनताका स्रोत साधन खोसेर विदेशी बहुर्राष्ट्रिय कम्पनीहरूलाई लगानी गर्न जतिसुकै याचना गरे पनि, मेगासिटी र द्रुत गतिको रेलको जतिसुकै लोभ देखाए पनि भारत बलात्कार र हिंसाको देशबाट माथि उठ्न सकेन। भारतमा झाडापखालाका कारण मर्ने ८८ प्रतिशत मानिसहरूको मृत्यु सफा खानेपानीको अभाव र फोहोर पर्यावरणको कारण हुने गरेको तथ्यमा कुनै परिवर्तन आएन। मोदीको 'मेक इन इन्डिया' झुठको पुलिन्दा साबित भयो। सङ्कट झन्–झन् बढ्नुभन्दा घट्ने कुरै छैन। यस परिस्थितिमा मोदीको दक्षिणपन्थले लिन सक्ने एउटै सहारा फासीवाद हो जसरी हिटलरले तात्कालीन जर्मनीमा लिएका थिए। आफूमात्र सही र अरू सबै अपवित्र देख्ने अनि त्यसैमा आधारित भएर अरूमाथि नाङ्गो दमन गर्ने प्रतिक्रियावादी विचार नै फासीवाद हो। मोदी भारतमा कथित राष्ट्रवादको नारा लगाउँदै फासीवादको बाटो हिंड्दै छन्।
हालसालै भारतको दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरूमाथि 'देशद्रोह'को आरोपमा गरिएको दमन मोदीको यही फासीवादी नीतिको कार्यान्वयन मात्र हो। जेएनयू मोदीको हिन्दूअतिवादी कट्टरपन्थको न त पहिलो दमनस्थल हो न त अन्तिम नै हुनेछ। जेएनयूका विद्यार्थी नेताहरू कन्हैया कुमार, उमार खालिद र अनवर्त भट्टाचार्यहरू र हैदरावाद केन्द्रीय विश्वविद्यालयका रोहित बेमुला मोदी फासीवादका शिकारहरूमात्र हुन्। यो कतिसम्म फैलिनसक्छ भन्ने कुराको सङ्केत हालै भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) नेताहरू सीताराम यचुरी, डी.राजा र काङ्गे्रस आईका राहुल गान्धीमाथिको देशद्रोहको मुद्दाबाट अनुमान गर्न सक्दछौं।
हामी यो मञ्चबाट संस्थागत हत्या गरिएका विद्यार्थी रोहित बेमुलाप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौं। साथै जेएनयूबाट गिरफ्तार गरिएका उमार र अनवर्तहरूको शीघ्रातिशीघ्र रिहाइको माग गर्दछौं। त्यस्तै मोदीको मनुवादी चिन्तनमा आधारित दमनचक्रविरूद्ध जेएनयू, हैदरावाद विश्वविद्यालय, आईआईटीलगायत भारतभरि र सामाजिक सञ्जालमार्फत यो आन्दोलनसँग जोडिएको संसारभरका सबै प्रगतिशील विचारवाहकहरूप्रति ऐक्यबद्धता व्यक्त गर्दछौं।
भारतमा कट्टरपन्थको उदयलाई नेपाली युवा–विद्यार्थीले निश्चय पनि मौनताले मार्न मिल्दैन। भारतबाट बलिउड आउन सक्छ, रामदेव आउन सक्छ भने, मोदीको भाषणमा हाम्रो सदन तालीले गुञ्जयमान हुन सक्छ भने भारतको हिन्दूअतिवादी फासीवाद नेपालको सिमाना कट्न समय लाग्ने छैन। मलाई आशा छ, यो भव्य युवा सम्मेलनले यी विषयमा गम्भीर छलफल गर्ने आशा व्यक्त गर्दछौं।
आगामी दिनमा देशको सार्वभौमिकता र अखण्डता रक्षा, जनताको जनजीविकासँग जोडिएका सङ्घर्ष, समाजवादी आन्दोलन र शैक्षिक सङ्घर्षमा नेक्राविसङ्घ र नेक्रायुसङ्घको सहकार्य हुने पुनः विश्वास व्यक्त गर्दै सम्मेलन सफलताको शुभकामना गर्दछौं।
|