सरकार ढाल्ने खेलमा प्रचण्ड
शनिबार एमाओवादी मुख्यालयमा आयोजित पत्रकार भेटघाटमा पार्टीका प्रवक्ता दिनानाथ शर्माले आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिए। हिजै दाङमा गृहमन्त्री एवं एमाओवादी नेता शक्ति बस्नेतले 'संविधान कार्यान्वयनमा काङ्गे्रससहितको राष्ट्रिय सरकार गठन'को कुरा बोले। एमाओवादी अध्यक्ष प्रचण्डले यसअघि वर्तमान सरकारको विकल्पको खोजीको सन्दर्भमा अभिव्यक्ति दिने गरेको कुरा नयाँ होइन।उनको बोलीको कुनै ठेगान छैन।
केही समयअघि एउटा अन्तर्वार्तामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले एनेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई इङ्गित गर्दै 'प्रचण्ड नै वर्तमान सरकारको सबैभन्दा कमजोर बिन्दु' भनेका थिए। उनले काङ्गे्रसको महाधिवेशनको समापनसँगै सरकार परिवर्तनको खेल सुरु हुने धारणा राखेका थिए। केही विश्लेषक र स्तम्भकारहरूले प्रम ओलीको भारत र चीन भ्रमणलगत्तै ओली सरकारको जरा खन्ने काम सुरु हुने विचार अघि सरेका छन्।
एमाओवादीका नेताहरूको पछिल्ला अभिव्यक्तिहरूको विश्लेषणले यी भनाइ बेतुकको नभएको पुष्टि गर्दैछ। एमाओवादी अध्यक्ष प्रचण्डलाई सरकारमा जाने हतारो भएको कुरा धेरै अघि देखि राजनीतिक वृत्तबीच चर्चाको विषय बनेको हो। वर्तमान सरकार भारतीय विस्तारवादको निम्ति घाँटीमा अड्किएको हड्डीजस्तै भएको अवस्थामा प्रचण्ड ओली सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार गठन गरी मधेसको समस्यालाई भारतले चाहेजस्तो गरी समाधान गर्ने उद्देश्यअन्तर्गत अहिलेको खेल भइरहेको विश्लेषण विगतको इतिहासले गलत भन्दैन। वैशाखदेखि आन्दोलन फेरि सुरु गर्ने मधेसवादीहरूको घोषणासँगै सरकार परिवर्तनको कुराले व्यापकता पाउनुलाई स्याल कराउनु र चल्ला हराउनुको 'संयोग' को रुपमा लिनु जरुरी छ।
एमाओवादीको लागि यो सरकार आफैमा कुबेलामा पाकेको फल बनेको छ। 'नखाउँ दिन भरिको शिकार, खाउ कान्छा बाउँको अनुहार' भने जस्तो बनेको छ–ओली सरकार प्रचण्डको लागि। छिन्नभिन्न बनेको पार्टी र पार्टी कार्यकर्ताबीच छाएको निराशाको समाधान प्रचण्डसँग केही छैन।अब क्रान्तिका कुरा गर्दा जनता र कार्यकर्ताले विश्वास गर्ने अवस्था छैन। पार्टी एमालेकरण भइरहेको भन्दै असन्तुष्ट कार्यकर्ताहरूबीच अहिले पार्टी एमाले नेतृत्वको सरकारमा सामेल हुँदा बढेको असन्तोष थाम्न सक्ने हतियार प्रचण्डसँग एउटै छ–सरकारको नेतृत्वमा पुग्नु।प्रचण्डले सत्ताको स्वाद जानिसकेका छन्। तसर्थ अब सत्तारोहणबाट इज्जत थाम्ने काममा लागेका छन्–एमाओवादी अध्यक्ष प्रचण्ड र एमाओवादी।
आसलाल
|