September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

सामाजिक सुरक्षा भत्ता वितरणमा किन ढिलाइ?

ज्येष्ठ नागरिक, एकल महिला तथा अशक्तहरूले चैतको तेस्राे हप्ता पुग्दा पनि सामाजिक सुरक्षा भत्ता वितरण नभएकोमा सरकारको आलोचना गरेका छन्। प्रत्येक चार–चार महिनामा दिंदै आएको यो भत्ता चार महिना नाघिसकेपछि पनि भत्ता वितरण नभएपछि पाटी–पौवा र मन्दिरका पेटीहरूमा बसेका ज्येष्ठ नागरिकहरूले सरकारको खोइरो खन्न थालेका छन्।  

यसअघि सरकारले कार्तिकसम्मको सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको छ। अहिले सरकारले मङ्सिर, पुस, माघ र फागुनसम्मको सुरक्षा भत्ता दिनुपर्ने हो। तर किन ढिला भयो भन्नेबारे गाउँ–ठाउँमा चर्चा–परिचर्चा भइरहेको छ। वसन्तको आगमनसँगै नयाँ वर्ष प्रारम्भ हुन लागेको छ। अझ भक्तपुरमा त नौ दिनसम्म बिस्केट जात्रा हुन्छ। चैत २७ गतेदेखि भैरवको रथ तानेर जात्रा प्रारम्भ हुन्छ। बिस्केट जात्रा प्रारम्भ हुनुअघि नै सामाजिक सुरक्षा भत्ता वितरण भए ज्येष्ठ नागरिक, एकल महिला र अशक्तहरूलाई केही राहत मिल्ने उनीहरूको विश्वास हो। तर अहिलेसम्म वृद्ध भत्ता वितरण गर्ने कुनै खै–खबर सार्वजनिक नभएको हुँदा वृद्ध–वृद्धाहरूले चिन्ता व्यक्त गर्न थालेका हुन्।  

सामाजिक सुरक्षा भत्ता समयमै प्रदान गरिनुपर्दछ। समयमा वितरण नभएपछि जनताको विश्वास गुम्नु स्वाभाविक हो। सामाजिक सुरक्षा भत्ता सरकारले निर्णय गरेर दिनुपर्ने होइन। हरेक काम कुरा बेलैमा हुनुपर्छ। बेलैमा गर्न सरकार अघि बढ्नुपर्दछ। नयाँ वर्ष, दशैं र तिहारको बेला त झनै ढिलाइ गर्नुहुँदैन। पाटी–पौवामा बसिरहेका ज्येष्ठ नागरिकहरूको सुरक्षा भत्तासम्बन्धी चिन्ता र चासो मेटाउने काम सरकारले समयमै गर्नु बुद्धिमानी हुनेछ। स्मरणीय छ, ज्येष्ठ नागरिकले रु. एक हजार, एकल महिलाले रु. पाँच सय, पूर्ण अशक्तले रु. एक हजार र आंशिक अशक्तले रु.तीन सय मासिक पाउँदै आएका छन्। –मेरिना शाक्य