September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

ओलीको सित्तैमा चीन भ्रमण र डोल्पाकी सुत्केरी महिला

राजन फाजू 

डोल्पाकी एक सुत्केरी महिलालाई एअरलिफ्ट गरेर सुर्खेतसम्म ल्याउन नसक्दा मृत्यु भएको समाचारसँगै प्रधानमन्त्री केपी ओलीलाई हिमालयन एअरलायन्सका व्यवसायीले सित्तैमा चीन पुर्‍याएको खबर सुन्न पाइयो।  

हिमालयन एरलायन्सका व्यवसायीले प्रधानमन्त्रीको भ्रमण दललाई सित्तैमा चीन पुर्‍याएको सन्दर्भलाई जोडेर अनेक टीकाटिप्पणी भइरहँदा एमालेका कार्यकर्ताहरूले ओलीको यस कार्यलाई अनेक तर्कले बचाउ गरिरहेका छन्। सित्तैमा दिएको उपहार लिँदा के हुन्छ? कमिसन खाएर गएको हो? यस्ता नकारात्मक टिप्पणीले देश कसरी अगाडि बढ्छ? सिधा अर्थमा हो पनि, पृथ्वी समथर देखिएजस्तै। तर ओलीका कार्यकर्ताले, व्यवसायीले नेताहरूलाई किन यस्तो गुण लगाउँछन् र यसको असर के हुन्छ? बुझ्ने प्रयास गरे राम्रो हुन्थ्यो।  

किन नेपालका त्यत्रा एयरलायन्सले ती महिलालाई सुर्खेतसम्म ल्याउन अग्रसर भएनन्? जवाफ स्पष्ट छ, ती महिलालाई एअरलिफ्ट गरेर व्यवसायीलाई केही फाइदा हुँदैन। हिमालयन एअरलाइन्सको व्यवसायीका यस्ता गतिविधि २०४६ सालदेखि भइरहेका राजनीति शक्तिकेन्द्रका नेताहरूसँग व्यवसायीको साठगाँठको निरन्तरता हो जुन नेपाली राजनीतिमा धनबलले जरा गाडेेको कारण बनेको छ। राजनीतिक शक्ति केन्द्रमा व्यवसायीको हालीमुहालीको निरन्तरता दिनप्रतिदिन वृद्धि भइरहेको कारण राजनीति विकृतितर्फ अग्रसर भइरहेको छ।  

हालै प्रहरीद्वारा पक्रिएका ल्हारक्याल लामाको काङ्ग्रेसबाट एमाले अनि एमालेबाट एमाओवादीमा प्रवेशले पुष्टि गर्छ नेपाली राजनीतिमा धनको प्रभाव कति गहिरो रहेछ। तर विडम्बना यस्ता व्यक्तिको पार्टी प्रवेश हँुदा कुनै कार्यकर्ताको विरोध हुँदैन बरु यस्ता व्यावसायीलाई फूलमाला लगाइदिन आफ्नो नेताको सहयोगी भएर पछाडि उभिरहेका हुन्छन््। सरल तरिकाले बुझ्ने कुरा पनि जटिल अवस्था सिर्जना गरेर नबुझेजस्तै गर्छन्  कार्यकर्ताहरू। 

फोटो प्रदर्शनीमा राखिएको नग्न फोटोले दर्शकलाई कुनै प्रतिक्रिया नदिई हेरिरहेजस्तै लाज पचाए बस्छन् राजनीतिक पार्टीका कार्यकर्ताहरू। आफ्ना नेताले जतिसुकै जघन्य अपराध गरे पनि कुनै विरोध नगरी सहज रुपमा लिने नेपाली राजनीतिक कार्यकर्ताहरूको प्रवृत्ति बनिरहेको छ। कति निर्लज्ज  सामान्य जनताले यस्ता घृणित नेताको भ्रष्ट क्रियाकलापको विरोध गर्‍यो भने “यहाँ को छ र इमानदार नेता?” भनेर त्यस्तै नेताको रक्षा कवच बनिदिन्छ। भर्खरैमात्र सभासद्लाई दिइएको विकास बजेट कार्यकतालाई बाँडेरै सकिए भन्ने समाचार प्रकाशित भएको छ। यसबाट पुष्टि हुन्छ, देश र जनताको नाममा राजनीति गर्ने कार्यकर्ता यी भ्रष्ट नेताबाट केही रकम हात पर्छ कि भनेर नै यिनका पछिपछि लाग्नेरहेछन्। 

कुरो सित्तैमा जहाज उपलब्ध गरिदिएको एउटा घटनाको कुरामात्र होइन। मूल कुरो राजनीतिमा छट्टु व्यवसायीको घूसपैठको हो। २०४६ पछि पार्टीबाट व्यवसायसँग  चन्दाको नाममा जथाभावी पैसा उठाउन थालेदेखि नै राजनीतिमा यति बिघ्न विकृति भित्रेको हो र पार्टीको आडमा व्यवसायी गति छाडा भएका हुन्। स्मरणरहोस्, मोदनाथ प्रश्रितले 'आफ्नो घर व्यापारीले बनाइदिएको हो' भनेर कबुल गरेकै हुन्। ती व्यवसायीले राजनीतिको आडमा राज्यबाट कति फाइदा उठाए भनेर बुझे हुन्छ। एमालेकै सभासद् राज्यलक्ष्मी गोल्छाले ७ करोड पार्टीका वरिष्ठ नेता झलनाथलाई दिएको भनेकै हुन्। चन्दा दिएर एमाले सभासद् बनेपछि एमालेलाई के तेर्थिन्? त्यही भएर हो गोल्छाले एमालेको निर्देशन पनि नमानी प्रधानमन्त्रीको निर्वाचनमा अनुपस्थित भएकी। अर्को कुरा पार्टीलाई दिएको सम्पूर्ण चन्दा पार्टीमा गएको पनि हँुदैन। पार्टीभित्रका केही टाठाबाठा व्यक्तिले चन्दाको रुपमा आएको रकम हिनामिना गरेका अनेकौं उदाहरणहरू छन्। यसरी अपारदर्शी ढङ्गले उठाएको चन्दाले पार्टीभित्रका इमानदार नेता पनि बेइमान हुन केही बेर लाग्दैन जसको उदाहरण माओवादी पार्टीभित्र धेरै भेटिइन्छन्। माओवादीका होनहार भनिने युवाहरू अहिले गैरकानुनी धन्दामा संलग्न भएर प्रहरीको चिसो छिँडीमा बसिरहेका छन्। यसको पछाडिको कारण भनेको खुलमखुला चन्दाको नाममा कार्यकर्तालाई व्यवसायीसँग साठगाँठ गर्न लगाउनु नै हो, फलस्वरुप पछि गएर पैसामा खेल्ने बानी हुन गयो कार्यकर्ताहरूको। यसको दोष भनेको पार्टीभित्रका नीति निर्माण तहमा रहेका नेताहरू नै हुन्।  

'कालोबजारी भयो' भनेर  जनता कराइरहेका हुन्छन्। तर यसको पछाडिको मूल कुरो पार्टीलाई दिने चन्दा नै हो भन्नेमा जनतालाई हेक्का छैन। छट्टु नेताको चन्दा मोह सतहमाथि आइसकेको छ। परिणामतः नेपाली जनताले महंँगीको मार खेप्नु परिरहेको छ भने राज्यले ठूलो स्रोत गुमाउनु परिरहेको छ। त्यसैले राजनीतिलाई पैसाको प्रभावबाट टाढा राख्ने हो भने यस्ता व्यापारीसँग नेताहरू टाढा बसेकै राम्रो। 

व्यापारीले सित्तैमा नेतालाई उपहार दिने कुरा 'महादेव र भष्मासुर' को धार्मिक कथासँग मेल खान्छ। व्यापारीले सित्तैमा नेतालाई उपहार (चाकरी) दिनु भनेको भष्मासुरले महादेवको तपस्या गर्नुजस्तै हो। महादेव (नेता) खुसी भएर भष्मासुर (व्यवसायी)लाई बरदान (राजश्ज छल्ने, कालोबजारी गर्ने छुट) दिन्छ। हो, जसबाट दण्डहिनताको अवस्था सिर्जना भएर देशको बिजोग सुरु भएको हो जुन क्रम अझै पनि जारी छ।  

अहिले धेरै पार्टीका मध्यम तहका नेताहरू व्यवसायी र ठेकेदारहरूको दलाली गरिरहेका छन्। राज्य संयन्त्रबाट लिने लाभको लागि यस्ता व्यवसायी यी नेताहरूकहाँ धाइरहेका हुन्छन्। लोभी नेताहरू भने यी छट्टु व्यापारीबाट लाभको आशमा जायज नाजायज काम मिलाउन राज्य संयन्त्रमा रहेका व्यक्तिलाई प्रभावमा पारेर राज्यलाई नै हानी पुर्‍याउने गरी व्यापारीको स्वार्थ पूरा गरिरहेका छन्। 

यसको अर्थ यो पनि होइन कि व्यवसायीसँग नेताले बोल्नै हँुदैन वा तिनीहरूको कुरा सुन्नै हुँदैन। व्यवसायी भनेको नवप्रवर्तनका वाहक पनि हुन्। व्यवसायीलाई नवप्रवर्तन गरेरमात्र कमाउन उत्साहित गर्ने काम गरिनुपर्छ। उनीहरूलाई यस्तो वातावरण बनाइदिनु भएन कि सजिलो बाटो अपनाई पैसा कमाउन उत्प्रेरित होस्। उनीहरूले नाफा कमाउन नवप्रवर्तन गरेर नयाँ वस्तु तथा सेवा उत्पादन गर्न वा कम लागतमा वस्तु उत्पादन गर्ने तरिकाबारे सधै सोचिरहोस् जसको परिणाम वस्तुको मूल्यमा कमी भई जनताले सस्तोमा वस्तु पाउँछन्। तर तीव्र आर्थिक विकासको मेरुदण्डको रुपमा लिने नवप्रवर्तन कालो व्यवसायीको धरापमा परेको छ। सिण्डिकेटले प्रतिस्पर्धात्मक क्षमतालाई घटाई दिन्छ। कालोबजारी, सिण्डिकेट गरेर सम्पत्ति कमाउन पल्केपछि मेहनत गरेर कमाउन धैर्य हुँदैन जस्तै विद्यार्थीले जाँचमा खुलमखुला चीट चोर्न पाइन्छ भने पढेर जँाच दिन मन पराउँदैनन्। परिणामस्वरुप दिमागलाई सिर्जनशीलतामा लगाउनुभन्दा राजनीति शक्तिकेन्द्र धाउने र भ्रष्ट राजनीतिज्ञहरूको छायाँ बन्न मनपराउँछ। अर्थशास्त्रको नियमले पनि भन्छ, जुन देशमा नवप्रवर्तन हँुदैन त्ाी देशमा नयाँ वस्तु तथा सेवाको उत्पादन हुँदैन त्यहाँ समग्र आर्थिक विकासले गति लिनसक्दैन। सबै पार्टीका इमानदार कार्यकर्ताले सोचौंं र पार्टीको गलत कार्यको विरोध गरौं। नत्र भने भ्रष्टाचारी भनेर आफैले मुद्दा हालेका आयल निगमका गोपाल खड्कालाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने अनेरास्ववियुको नौटङ्कीजस्तै हुनेछ।