प्रवेशिका परीक्षा सुरु
आज बिहीबारदेखि प्रवेशिका परीक्षा सुरु भएको छ। उच्च शिक्षा अध्ययन गर्न यो प्रवेशिका परीक्षा अनिवार्य छ। विद्यालयमा अन्य कक्षा र कलेजका अन्य कक्षालाई भन्दा यो प्रवेशिका परीक्षालाई बढ्ता जोड दिएको देखिन्छ। विद्यार्थी, शिक्षक र अभिभावकहरू पनि यो परीक्षालाई महत्त्व दिन्छन्। फेरि अरु परीक्षाको नतिजा यो परीक्षाको जस्ो सार्वजनिक गरिंदैन, तहल्का मच्चिदैन। त्यस्तो त हरेक परीक्षा परीक्षार्थीको निम्ति महत्त्वपूर्ण हुन्छ। महत्त्वपूर्ण यो परीक्षामा अमर्यादित एवम् नियम उल्लङ्घनका क्रियाकलापहरू दोहोरिरहेको देखिन्छ।
परीक्षा परीक्षार्थीले कति ज्ञान हासिल गरे या सिके भन्ने जाँच्ने एउटा माध्यम हो। तर त्यस्तो परीक्षामा एक समय त एउटा परीक्षा केन्द्रमै चीट बोराका बोरा फेला परेका थियो। चीट चोराउन शिक्षक र परीक्षा गार्ड नै लागेका हुन्छन्। अभिभावक पनि चीट चोराउन व्यस्त हुन्छन्। चीट चोराएन भनेर अभिभावक र विद्यार्थीसमेत आक्रोशित भएको विगतको इतिहास छ। नक्कली परीक्षार्थीले जाँच दिनु पनि प्रवेशिका परीक्षामा देखिएको अर्काे समस्या हो। विगतमा एमाओवादीका एक सांसदले समेत परीक्षा दिलाउन नक्कली विद्यार्थी भिरे। पछि एक कान दुई कान मैदान हुँदै त्यो थाहा भयो र उनको परीक्षा नै रोकियो। यसरी नै अन्य नक्कली परीक्षार्थीहरूले पनि परीक्षा दिएको खबर प्रकाशमा नआएको होइन।
आजदेखि सुरु हुने परीक्षामा यस्ता कुनै पनि अवाञ्छित, अमर्यादित र आचारसंहितविपरीतका घटनाहरू दोहोरिनु हुँदैन। परीक्षा संयमपूर्ण, मर्यादित, शान्तिपूर्ण र सहज वातावरणमा सम्पन्न हुनुपर्छ। विगतमा जस्तो कुनै पनि केन्द्राध्यक्ष, सुरक्षा गार्ड र शिक्षकहरूले आ–आफ्नो इज्जतमा दाग लाग्ने खालको काम नगरुन्, परीक्षासित सम्बन्धित कुनै पनि व्यक्तिहरू कारबाहीमा नपरुन्। चीट चोरेर प्रवेशिका परीक्षामा सफल भए पनि कलेजका अन्य परीक्षामा सफल हुने छैन। शिक्षक र अभिभावकले पनि चीट चोरेर उत्तीर्ण गराउने बाटो छोडाउनुपर्छ, विद्यार्थीले पनि विचार पुर्याउनुपर्छ।
मेरिना शाक्य
|