September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

खानेपानीको समस्या गहिरिंदै

चाँगुनारायण नगरपालिका वडा नं. ८ र  ११ मा खानेपानीको अभाव बढ्दो छ। करिब ३० देखि ३५ घर धुरीका लागि एउटामात्र धारा भएको कारण बिहान–बेलुका धारामा पानी लिन आउनेको घुइँचो धेरै हुने गर्दछ। विशेषगरी फागुन महिनाको अन्तिम सातादेखि जेठको पहिलो हप्तासम्म चाँगुका बासिन्दाले पानीको समस्या भोग्दै आएका छन्। प्रत्येक घर–घरमा जडान गरिएको धारामा ४/५ दिनमा एक पटक पानी आए पनि नपुग हुने र धाराको पानी नपिउने भएकोले, पूजा गर्न, खाना पकाउन र पिउनको लागि सबैले एउटै धारा प्रयोग गर्ने गर्दछन्।  

प्रत्येक दिन बिहान र बेलुका एकदेखि डेढ घण्टासम्म पानी आउने धारामा पानीको लागि कहिलेकाही खलबली मच्चिएको हुन्छ। यस्तो दृश्यले गर्दा बाटोमा हिड्ने यात्रीदेखि पर्यटकहरूसमेत अचम्म मानेर फोटो खिच्ने गरिन्छ। धारामा हुने यस्ता गतिविधिले आन्तरिक तथा बाह्य पर्यटकहरूमा नकारात्मक प्रभाव पर्ने निश्चित छ। 

अरू समयमा राम्रोसँग बोलचाल हुने दिदी–बहिनी, सासू–बुहारीहरू पानी थाप्ने बेलामा भनाभन गरी एक–अर्कालाई ठेलेर, टाउको माथिबाट भाँडा लगी पानी थाप्ने होडबाजी नै चल्छ। पानीकै कारण कतिको बोलिचाली नै बन्द भइसकेको छ। एउटै टोल–ठाउँमा बसेर मर्दा पर्दा एक–अर्कालाई सहयोग गर्ने महिलाहरू पानीको कारण यसरी तर्किइ हिड्नु अशोभनीय छ।  

चाँगुमा पानीको मुहान तेलकोटबाट आउने भएकोले वर्षा याममा कहिलेकाहीं पानी धमिलो हुन्छ भने हिउँदमा धारामा सधंै पानी थाप्ने भाँडाको लाइन राख्ने गरिन्छ। पानीकै लागि खेतबारीको कामसमेत छोडेर धारामा बस्नुपरेको अवस्था छ। रातमा भाँडा लगेर लाइनमा राख्नुपर्ने र बिहान ४ बजेदेखि धारामा जानुपर्ने भएकोले पानीको लागि निन्द्रा नपुगी उठ्नुपर्ने बाध्यता रहेको छ।  

विश्वसम्पदामा सूचिकृत नेपालकै सबभन्दा पुरानो मन्दिर चाँगुनारायण मन्दिर रहेको चाँगुनारायण गाविस हालै नगरपालिकामा परिवर्तन भएको छ। तर खानेपानीको समस्या यथावतै छ। जनताको प्रत्यक्ष जीवनसँग सरोकार रहेको खानेपानीको व्यवस्था गर्नु नगरपालिकाको दायित्वभित्र पर्ने भएकोले सम्बन्धित निकायले कर्तव्य पूरा गर्नु आवश्यक छ। 

– सरस्वती श्रेष्ठ, प्रशिक्षार्थी