September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

पेट्रोल र ग्यास पाउन अझै झेल?

नाकाबन्दी अन्त्य भएको महिना दिन बितिसक्दा पनि पेट्रोलियम पदार्थको आपूर्ति अझै सहज भएको छैन। पेट्रोल र ग्यास पाउन लाइन बस्न नपर्ने आश्वासन नेपाल आयल निगम र सरकारले पहिल्यै दिएका हुन्। तर अहिले पनि तेल आपूर्ति गर्ने सन्दर्भमा सम्बन्धित निकायले झेल गरिरहेका छन्। सुरुमा पेट्रोल र ग्यास सर्वत्र सहज हुने विश्वास छाएको थियो। छाएको त्यो आशा निराशामा परिणत भएको छ र विश्वासमा ग्रहण लागेको छ। एकातिर उपभोक्ताले पर्याप्त पेट्रोल र ग्यास पाएका छैनन् भने अर्कोतिर अभावको नाउँमा महँगोमा बिक्री गर्न बाध्य छन्। दोषीमाथि कारबाही गर्ने सरकारी धम्की पनि देखाउने दाँतमा सीमित छ। पेट्रोल र ग्यास अभाव बनाएर भारत र सम्बन्धित निकायले कालोबजारी गराउने र उनीहरूलाई स्थान दिन षड्यन्त्र त गरेका होइनन्? 

भारतले नेपाल र नेपालीलाई पटक–पटक दुःख दिएपछि नेपाल सरकारले किन बुद्धि नपुर्‍याएको हो? भारतले नेपाललाई शत्रुवत् व्यवहार गरेपछि नेपालले के शिक्षा लिनुपर्दैन? नेपालले अरु देशसँग पनि पेट्रोल र ग्यास आपूर्ति गर्ने बाटो खोल्नुपर्दैन? सरकारको कमसेकम ठक्कर खाएपछि बुद्धि खुल्नुपर्ने हो। भारतविना नेपाल नटिक्ने खालको वातावरण सरकारले किन तयार गर्दैछ? भाषण गरमा गरमी गर्ने अनि काम नगर्ने सरकारप्रति जनताको विश्वास क्रमशः घट्दै गएको छ। भूमि फाट्ने, आकास थर्काउने खालको भाषण गरेर के जनताका दैनिकी आपूर्ति हुन्छ? आश्वासन बाँड्ने काम सरकारको होइन, अहिले काम गरेर देखाउने बेला हो। सरकारले लामो समयसम्म जनताका आधारभूत आवश्यकता पूर्ति गराउन नसकेको कारण जनताका आशा मरिसकेका छन्। जति जोगी आए पनि कानै चिरेको देखेर जनता निरास हुन थालेका छन्। खोइ जनतामा कहिले आत्मबल बढ्ने हो? जनताले परिवर्तनको अनुभूति कहिले गर्ने हुन्? 

दानबहादुर कपाली