नर्सिङ पढ्दा मैले जे देखेँ, त्यही लेखेँ
मनिषा केसी
सीटीइभिटीअन्तर्गत नर्सिङमा अध्ययनरत विद्यार्थीहरूको आजकल कुनै कमि छैन। यसरी नै च्याउसरी नर्सिङ पेशा दिनानुदिन फष्टाउँदै जाने हो भने बेरोजगारीको पनि यहाँ कुनै कमि हुुने छैन। हुन त अहिले पनि कुनै कमी छैन।
आफ्ना मान्छे हुनेहरूले कुनै न कुनै किसिमले रोजगारी पाएकै छन्। तर हामीहरू जस्ता कैयौं नर्सहरूका सम्बन्धित ठाउँमा भन्दिने र गरिदिने मान्छे नहुनाले गर या मर' को स्थिति आएको छ। जसको कारण विदेश पलायन हुने कुरा सोच्न वाध्य छौं। मलाई यसमा कुनै विस्मात छैन। अन्तर्राष्ट्रिय स्तरमा नाम लेखाउन सफल सुष्मा कोइराला मेमोरियल नर्सिङ कलेजबाट प्रमाणपत्र नर्सिङ गर्दा गर्दै लगभग सकिने दिन पनि आंैला गन्तीमा आइसकेको छ। मलाई यस अवधिभर सुपरभिजन र गाइडलाइन्स दिई मेरा शिक्षिकाहरूले मलाई यहाँसम्म ल्याइपुर्याउनु भएको छ तर त्यसपछिको बाटो के हुने म आफैलाई थाहा छैन।
कलेजका कतिपय नराम्रा पक्षहरू पनि होलान्। असुविधा भएपनि मलाई मेरो कलेज र शिक्षकशिक्षिकाहरू प्रतिअलिकति पनि गुनासो छैन। सुनेको छु नर्सिङ शिक्षिकाहरू विद्यार्थीहरूसँग छुद्र व्यवहार गर्छन् रे। अनि विद्यार्थीहरूलाई काममा पेलाउने गर्छन रे।
हो म मान्छु उहाँहरू केही हदसम्म कडा स्वरले कुनै बेला बोल्नु होला तर त्यसलाई आफूले कसरी लिने विद्यार्थी स्वयंमा भर पर्न जान्छ। यति नगर्ने हो भने हामी विद्यार्थीहरू न केही सिक्छौं नत भोलिका दिनमा सवल र सक्षम नर्स बन्न नै सक्छौं।
यसको ज्वलन्त उदाहरण म आफैलाइ बनाउन चाहन्छु। नत म रहरले नर्सिङ पढे नत करले नै। केबल पढें त मेरा आमाबुबाले छोरी नर्स बनेर जनताको सेवा गरेको हेर्ने तीव्र इच्छा र चाहनालाई अङ्गालेर पढंे। फेरि आफूमा नै इच्छा नभई पढेर के अर्थ भन्ने पनि हामीमा लाग्न सक्छ र लाग्नु स्वभाविक पनि हो। मलाई पनि कुनै समय यस्तै लाग्थो। तर आज म मेरा शिक्षकशिक्षिकाहरू प्रतिगर्व गर्छु। आज मभित्र रहेको आत्मविश्वास बढ्नुको श्रेय स्वयम् मेरा शिक्षकशिक्षिकाहरूप्रति जान्छ। र म दिन पनि चाहन्छु।
सुष्मा कोइराला नर्सिङ क्याम्पसमा अध्ययनरत म भोलि गएर एउटा सक्षम नर्स बन्ने अठोट लिएर अघि बढेको छु। मलाई लाग्छ यहाँ अध्यनरत सबै विद्यार्थीहरू सक्षम छन् र हुनेछन्।
तर कतिपय कुराहरूको विषयमा भने कलेजले अझै सुधार ल्याउनु पर्ने देखिन्छ। र आवश्यक विषयमा सुधार ल्याउँछ भन्नेमा म विश्वास लिन चाहन्छु। म यति कुराले खुसी छु र दावाका साथ भन्न सक्छु कि यहाँ थ्योरी र प्राक्टिकलमा कुनै कमी छैन। सायद यही कारणले गर्दा पनि होला यहाँ अध्ययन गर्ने सबैजसो विद्यार्थी अनुशासित र मिहिनेती छन् र भोलि गएर सक्षम बन्नेमा कुनै शङ्का छैन।
(लेखिका सुष्मा कोइराला नर्सिङ कलेजमा तेस्रो वर्ष अध्यनरत विद्यार्थी हुन्।)
|